बिर्तामोड/ सञ्चालकको लापरवाहीका कारण झापाको बिर्तामोडमा रहेको रोयल कोल्ड स्टोरेजमा भण्डारण गरिएको लाखौं मूल्यको आलुको बिउ कुहिएको छ । बिग्रिएको मेसिन तीनदिनसम्म नबनाउँदा कृषकले राखेको आलुको बिउ कुहिएको हो ।

आलु खनेर गोदाममा ल्याएर राखेका किसान रोप्ने बेलामा कुहिएको पाएपछि निराश बनेका छन् । उनीहरू गुणस्तरीय आलुको बिउ नपाउँने चिन्ता बढेको बताउँछन् । बिउ आलु नै कुहिएपछि यो बर्षको आलुखेती प्रभावित हुने इलामको सूर्याेदय नगरपालिका १० का किसान खड्ग मुखिया बताउँछन् । मुखियाले १० वर्षदेखि बिउ आलु बिर्तामोडको कोल्ड स्टोरमा भण्डारण गर्दै आएका थिए ।

ठूलो परिणाममा आलुको बिउ कुहिएपछि अर्काे बर्षदेखि कोल्ड स्टोरमा नल्याउने उनी बताउँछन् । मुखियाले गत वैशाखमा २५ मन आलु कोल्ड स्टोरेजमा राखेका थिए । अहिले उक्त बिउ आलुको मूल्य ४ हजार रुपैयाँ प्रतिमन रहेको उनले बताए । महङ्गो मूल्यमा बिउ किनेर आलु खेती गर्दा अपेक्षित फाइदा नहुने भएका कारण यस वर्ष गतसालको जस्तो धेरै आलु नरोप्ने उनले बताए ।

झापा गाउँपालिकाको न्यूदेउमाई कृषि सहकारी संस्थाले स्टोरेजमा ५ सय २४ बोरा आलु भण्डारण गरेको थियो । अधिकांस आलु काम नलाग्ने भएको सहकारीका लेखा समिति संयोजक शरदकुमार तिम्सिनाले बताए । ‘प्रत्येक बोरामा ५० केजी आलु छ, तीनबोरा आलु छान्दा एक बोरा मात्र प्रयोग गर्न सकिने अवस्थाको पाइयो, तिम्सिनाले भने, ‘तर उक्त आलुको ल्याब परीक्षण गर्दा ढुसी लागेको पाइयो, यसमा उमार शक्ति कम हुने, उम्रिए पनि बोट डढ्ने, उपचार महँगो हुने लगायतका समस्या आउने रहेछन् ।’ स्टोरेज अगाडि आलु छान्दै गरेको अवस्थामा भेटिएका उनले गत चैतमा एक सिजनको प्रतिकिलो ६ रुपैयाँका दरले आलु भण्डारण गरेको जानकारी दिए ।

सहकारीमा १ सय ६५ जना कृषक आवद्ध रहेका छन् । गतवर्षदेखि सहकारीले उन्नत जातको आलुको बिउ उत्पादन गर्न शुरु गरेको थियो । सहकारीले भण्डारण गरेको ५ सय २४ बोरा आलुमा २ सय ७७ बोरा सहकारीले नै रोप्ने र २ सय ७४ बोरा आलुको बिउ बिक्री गर्ने लक्ष्य राखेको तिम्सिनाले बताए । ‘१६ लाख ५० हजार रुपैयाँ बराबरको आलुको बिउ नष्ट भएको छ, क्षतिपूर्ति दिन्छौँ भनेको छ, तिम्सिनाले भने, ‘क्षतिपूर्ति पाए पनि यो जातको बिउ नपाउने चिन्ता हामीमा छ ।’ आलु रोप्नका लागि अन्य बाली नलगाई जमिन खाली राखेका थियौं, स्टोरेजको लापरवाहीले आलुमात्र कुहिएन सहकारीको बचत, शेयर, लगानी र फाइदा समेत डुब्यो, तिम्सिनाले भने, ‘सहकारीले काभ्रेको खुमलटारबाट आलुको मूल बिउ ल्याएर खेती शुरु गरेको थियो ।’

यसै गरी झण्डै ५ लाखको लगानीमा खरिद गरेको फ्रेस क्रिम (केक बनाउन प्रयोग गरिने) सो कोल्ड स्टोरेजमा भण्डारण गरेका बिर्तामोडका व्यवसायी सुदर्शन खतिवडाले पनि क्रिममा ढुसी पलाएपछि क्षतिपूर्तिको माग गरेका छन् । वीरगञ्जबाट ल्याएर भण्डारण गरेको सो क्रिममा ढुसी पलाएपछि बजारबाट फिर्ता आएको बताए । ‘पञ्चामृत डेरीलाई अलिकति क्रिम पठाएको थिएँ’ खतिवडाले भने, ‘डेरीले क्रिममा ढुसी परेको भन्दै फिर्ता गरेपछि यहाँ आएर चेक गर्दा सबै क्रिम काम नलाग्ने भएको रहेछ ।’

५ तले स्टोरेजको अधिकांश तलामा आलुको बिउ भण्डारण गरिएको छ । आलु कुहिएपछि स्टोरेज भवन परिसरमा खाल्डो खनेर पुर्न थालिएको मेनेजर प्रेम तिवारीले बताए । उनले केही दिनअघि मेसिनमा समस्या आएपछि त्यो समयमा नबन्दा त्यहाँ राखिएका आलुसहितका सामग्री कुहिएको जानकारी दिए । सञ्चालकसँग छलफल गरेर क्षतिपूर्तिको बारेमा टुङ्गो लाग्ने जानकारी तिवारीले दिए ।

स्टोरेज परिसरमा भेटिएका फूल व्यापारी पिन्टुु साहले राख्ने कि नराख्ने भन्ने अन्यौलका बीच सयपत्री फूलको माला भण्डारण गरेको बताए । ‘यत्रो आलु कुहिएको छ, ४० हजार भारतीय रुपैयाँको फूल हो, यो बिग्रिने पो हो कि भन्ने चिन्ता छ’ साहले भने, ‘सिलिगुडीबाट ल्याइहालियो, अब कुहिए पनि घाटा भए हुन्छ भनेर भण्डारण गरेको छु ।’ उनले प्रत्येक दिपावलीमा भारतीय बजारबाट ठूलो परिमाणमा फूल ल्याए बिक्री गर्ने गरेका छन् ।

झापाको माइपूर्वमा बिर्तामोडमा रहेको स्टोरेज एकमात्र विकल्प हो । अरू स्टोरेज नभएका कारण यही स्टोरेजमा भण्डारण गर्नुपर्ने बाध्यता कृषकसँग रहेको छ । बिर्तामोडमा रहेको स्टोरेजको मेसिनमा आएको खराबीले यस वर्ष झापा र इलामका आलु कृषकको खेती प्रभावित हुने भएको छ ।