बिर्तामोड /  जिल्ला प्रशासन कार्यालयको अनुमतिमा झापाको बिर्तामोडमा जुवाजन्य खेल सञ्चालन भइरहेको छ । ‘बिर्तामोड मिनी महोत्सब’ भनेर सञ्चालन गरिएको भए पनि महोत्सवमा जुवाजन्य खेल सञ्चालन भइरहेको छ ।
नयाँ सृष्टि सुधार केन्द्र बिर्तामोडको आयोजनामा भएको मिनी महोत्सबमा जुवा खेलाइरहेको भए पनि प्रशासनले भने यस बिषयमा अनभिज्ञता प्रकट गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले मिनी महोत्सबमा जुवा खेलाइएको बारेमा आफुलाई ‘केही थाहा नभएको’ बताए । प्रजिअ रानाले जुवा खेलाइएको बारेमा बुझेर नियन्त्रणमा लिने बताए ।
मिनी महोत्सबमा जुवाजन्य खेलको अतिरिक्त रोटेपिङ र नाउ मात्र रहेको छ । स्थानीय कलाकारको प्रस्तुती रहँदै आएको महोत्सबमा लक्की ६, माल कट्टा, ब्रेक घिर्नी र डट बोर्डजस्ता जुवाजन्य खेल सञ्चालन भइरहेको एकजना अवलोकनकर्ताले बताएका छन् । लागूऔषध तथा दुव्र्यसन न्युनीकरण गर्ने उद्देश्यले असोज १३ गतेदेखि शुरु भएको मिनी महोत्सब ९ दिनसम्म सञ्चालन हुने आयोजकले बताएको थियो । तर, पटक पटक म्याद थप गरेर मिनी महोत्सबका नाममा जुवाजन्य खेल सञ्चालन भइरहेको भएपनि सम्बन्धित निकाय बेखबर रहेको छ ।
आयोजक समितिका अध्यक्ष सागर पकवालले महोत्सबबाट बचत भएको रकमले लागूऔषध दुब्र्यसनमा फँसेका युवा युवतीलाई अस्पताल लगेर उपचार गर्ने बताएका छन् । महोत्सव उद्घाटनमा जुवाजन्य खेल र लागूऔषध प्रतिबन्ध गरिएको आयोजकले बताएको थियो । तर, आयोजकले मिनी महोत्सबका नाममा योजनाबद्ध रुपमा जुवा खेलाएको पाइएको छ । प्रशासनकै अनुमतिमा सुरक्षित रुपमा जुवा खेलाइएको महोत्सब तिहारसम्म सञ्चालन हुने छ ।