धरान/ धरानमा छठ पर्वको भोलिपल्ट हुँदै आएको ‘फेष्टिभल हङ्गामा’ बाट सङ्कलित रकम धनकुटा साँगुरीगढी गाउँपालिकास्थित महाभारत प्राविमा खर्चिने भएको छ ।

गायक डिल्ली फोम्बो, प्रशान्त शर्मासहित दिनेश ढुङ्गेलको व्यक्तिगत आयोजनामा हुँदै आएको हङ्गामा पूर्व नै यसपटक दाताहरुबाट सामग्री सङ्कलन गर्दै प्राविका ४० विद्यार्थीहरुलाई वितरण गरिएको छ ।

दाताहरुबाट विद्यालयको पोसाक, जुत्ता, स्कुल ब्याग, खाजा, दैनिक जीवनमा चाहिने अत्यावश्यकीय सामग्री जस्तै साबुन, दन्त मञ्जन, ब्रस, काँइयो, तेललगायतका सामग्री वितरण गरिएको छ ।

कात्तिक ३ गते आइतबारका दिन आयोजक टिममा सदस्यहरु स्कुलमा पुगेर सामग्री वितरण गरेका थिए । कार्यक्रमबाट सङ्कलन भएको रकमबाट बास्केटबल कोर्ट र दुई वटा कक्षा कोठामा डेस्क, ब्रेञ्च निर्माण गरिदिने तयारी भएको गायक फोम्बोले जानकारी दिए ।

पहिलो र दोस्रो फेष्टिभलबाट सङ्कलित रकमले ८ जना दुव्र्यसनीहरुको उपचारमा खर्चिएको थियो । जसमध्ये एकजना दुव्र्यसनीलाई पुनस्र्थापित गर्न सफल भएको उनले जनाए । आगामी कार्यक्रमहरुबाट महाभारत प्राविमै खर्च गरिने भएको छ । वार्षिक रुपमा चाहिने सामग्रीहरु दिइने तयारी भएको छ ।

उनीहरुलाई निश्चल पलिखे, अनु योञ्जन, डिजाइन ब्राण्ड, बालकुमार शङ्कर, हङकङका मौसम गुरुङ, सविता राईले जुत्ता, पोसाक, स्वेटर, झोलालगायतका सामग्री हस्तान्तरण गरेका थिए । सोही सामग्री स्कुलका बालबालिकाहरुलाई वितरण गरिएको हो । शिक्षाका लागि सङ्गीत भन्ने नाराका साथ कार्यक्रम गर्दै आइरहेका छन् ।