विराटनगर । कोही झाडु लगाउन, कोही फोहर भएको माटोलाई हटाउन पाइपमा आएको पानीको साहरामा कंकिट पखाल्न व्यस्त छन् । सबैको हातमा गलफ र मुखमा माक्स लगाएका छन् । त्यही भिडमा विराटनगरस्थित कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट (मेसु) डा. गुणराज लोहनी पनि छन् ।

उनी पनि कोशी अस्पताल परिसर सरसफाइमा सक्रिय भएर खटिरहेका छन् । सफाइमा मेसु लोहनी आफै लागेको देखेर अस्पताल आएका सेवाग्राही पनि छक्क मान्दै उनलाई हेर्दै हिड्छन् । मंगलबार बिहान सात बजे कोशी अस्तपाल परिसर पुग्दा यस्तै दृश्य देखियो ।

‘सरसफाइ भनेको आफैंबाट हुनुपर्दछ,’ यसो भन्दै उनीसँगै लागेका अन्य कर्मचारीको मनोबल बढाउँदै मेसु लोहनीले भन्दै थिए, ‘सरसफाइ गर्ने हाम्रो जिम्मेवारी र दायित्व पनि त हो ।’ विरामीलाई सेवा प्रदान गर्ने अस्पताल सधै स्वच्छ सफा र हाराभारा हुनुपर्ने धारणा राख्ने डा. लोहनी कोशी अस्पताल परिसर सरसफाइको अभियानमा लागेको दुई महिना पुरा भएको छ । ‘म आएदेखिको अस्पतालको सफाइ अभियानमा लागेको छु,’ उनले भने, ‘आफै अग्रसर भएर सरसफाइ अभियानमा लागेपछि अन्य सहकर्मीहरूले पनि साथ दिएका छन् ।’ स्वास्थ्य सेवा विभागको महानिर्देशक भएका डा. लोहनी गत भदौ १ गतेदेखि कोशी अस्पतालको सुपरिन्टेण्डेण्टको जिम्मेवारी लिएर आएका थिए ।

उनी आएसँगै अहिले अस्पताल परिसरमा चमक प्राराम्भ भएको छनक देखिन थालेको छ । कोशीको मेसुको जिम्मेवारी समालेको भोलीपल्ट गत भदौ २ गतेदेखि सुरु गरेको अस्पताल सफाइ अभियान अहिले पनि निरन्तरता छ । ‘सरसफाइ अभियान सुरु भएको दुई महिना पुरा भएको छ । पहिलेको भन्दा अहिले सरसफाइमा सुधार भएको सेवाग्राहीलाई महशुस हुन थालेको छ,’ उनले भने । ‘सेवेरै उठछु । नृत्यकर्म पूरा गर्छु ।

केही समय मनिङ्गवाक पूरा गरेपछि अस्पताल परिसर सफाइमा लागि पर्दछु,’ उनले भने, ‘आफु आएपछि अरू कर्मचारीले पनि साथ दिने गर्दछन् ।’ आफु अग्रसर भएर लागेपछि अरूलाई पनि सफाइ गर्नुपर्ने धेय हुने गरेको उनी बताउँछन् ।

‘बिकसित मुलुकका प्रोफेसरहरू काम गर्दै आफै सरसफाइमा अग्रसर भएर लागि पर्दछन् । काम भनेको ठूलो सानो भन्ने हुदैन,’ उनले भने, ‘सरसफाइ हाम्रो कर्तब्य हो ।’ अस्पताल भनेको हामी सबैको भएकोले यो सधै सफा हुनुपर्ने उनी बताउँछन् । पहिलेको भन्दा अहिले कोशी अस्पताल परिसर सफा देखिएको छ । अस्पताल प्रवेश द्धारा आगडी सवारी साधनको पार्किङ्गले भद्रगोल थियो । अहिले यस्तो समस्याको अन्त्य भएको छ । अस्पतालले अहिले व्यवस्थित पार्किङ्गको लागि अस्पताल उत्तरपटी राखेको छ ।

कोशी अस्पताल १ सय ५० शैयाँको स्वीकृत प्रदान भएपनि विरामीको चापको कारण ३ सय ५० बेड संचालन रहेको छ । यहाँ दैनिक ओपीडिमा १ हजार जना विरामीले सेवा लिने गरेको अस्पतालको अभिलेखमा उल्लेखछ ।