इटहरी/ पछिल्लो समय औषधि पसलबाटै लागूऔषध कारोबार बढ्न थालेको पाइएको छ ।

प्रहरीले दुई साताभित्र मेडिकल हलबाट लागूऔषध खरिद गरेकाहरूलाई नियन्त्रणमा लिएपछि यस्तो रहस्य बाहिरिएको हो । मङ्गलबार मात्रै प्रहरीले दुहबी क्षेत्रमा सञ्चालित एक औषधि पसलबाट लागूऔषध खरिद गरेका युवाहरूलाई पक्राउ गरेको छ । उनीहरूको बयानका आधारमा सञ्चालकलाईसमेत पक्राउ गरिएको छ ।

सोमबार सुनसरीको इटहरी–११ बाट लागूऔषधसहित २ जना पक्राउ परे । वीर मेडिलकल हलका सञ्चालकलाई समेत पक्राउ गरिएको छ । बूढीगङ्गा गाउँपालिका–७ का राहुल उराव र सुन्दरहरैंचा नगरपालिका–३ का सुमन मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । औषधि पसलबाटै सेटिङ गरेर लागू औषध बिक्री गरेको पाइएकोे इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

उनीहरूलाई निट्राभेट ८ ट्याब्लेट, इनपाइन ३ ट्याब्लेट र स्पास्मो ३ ट्याब्लेटसहित पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूलाई सोधपुछ गर्ने क्रममा इटहरी–१० मा सञ्चालित वीर नारायण मेडिकल हलबाट खरिद गरी ल्याएको प्रहरीले जनाएको छ । लागूऔषध बरामद भएसँगै मेडिकल हल सञ्चालक इटहरी– १० का उमेश चौधरीलाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

गत जेठ महिनामा पुनम खड्काले सञ्चालन गरेको औषधि पसलमा काम गर्ने सूर्यमणि राउत र तेजनारायण चौधरीले कोठाबाटै लागूऔषध बेच्ने गरेका थिए । त्यतिबेला चौधरीसहित खरिद गर्ने इटहरीका भविस राई र प्रदीप ढकाललाई पक्राउ गरिएको थियो ।

दशंैअगाडि मात्र सुनसरीको इटहरीस्थित तिरुपति मेडिकलका सञ्चालक २६ वर्र्षीय नरेश यादव लागूऔषध बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका थिए । यादव मोरङको सुन्दरहरैंचा–४ निवासी हुन् । इटहरीमा औषधि पसल सञ्चालन गर्दै आएका यादव र इटहरीका असिम श्रेष्ठलाई प्रहरीले लागूऔषध बिक्रीवितरणका क्रममा पक्राउ गरेको हो ।

बिरामीका लागि औषधि उपलब्ध गराउने औषधि पसलबाट नै लागूऔषध बिक्रीवितरण हुने गरेको पाइएको डिएसपी भण्डारीले खुलाए । इटहरी क्षेत्रमा औषधिलाई नयाँ फर्मुला बनाएर खाने गरेको पनि भेटिएको उनले बताए ।