धरान /  नेवा च्यारिटी रनको आठौं संस्करणको तयारी थालिएको छ । धरान रन समूहले शनिबार विहान पत्रकार सम्मेलन गर्दै ‘नेवा च्यारिटी १० के रन प्रतियोगिता’ गर्ने बारे जानकारी दिएको हो ।
नेवा च्यारिटीका लागि शनिबारबाटै फर्म खुल्ला गरिएको छ । फागुन १० गते हुने प्रतियोगितामा यसपटक ४ हजार धावकधाविका दौडिने अनुमान गरिएको धरान रन समूहका अध्यक्ष रमू राईले बताए । प्रतियोगिताको प्रचारका लागि शनिबार ४२ जना धावकधाविका १८ किलोमिटर दौडिँदै वराहक्षेत्र नगरपालिका–१ स्थित कोशी पुलसम्म पुगेका थिए । धरान–८ स्थित यलम्बर पार्कबाट शुरु भएको दौड कोशी पुलमा पुगेर टुङ्गिएको थियो । प्रतियोगिताको प्रचारात्मक रन गरिएको अध्यक्ष राईले जानकारी दिए ।
रन समूहले यसपटक शुरुवातमै फर्म दर्ता गर्नेहरुका लागि २ सय रुपैयाँ तोकेको छ भने निर्धारित मितिको मध्य अवधिमा दर्ता गर्नेका लागि ३ सय र अन्तिम समयमा दर्ता गर्नेका लागि भने ४ सय रुपैयाँ तोकिएको अध्यक्ष राईले बताए । त्यसका लागि डब्लुडब्लुडब्लु डट धरानरन डट ओआरजी डट एनपी वेवसाइटमा गएर पनि फर्म दर्ता गर्न सक्ने गरी व्यवस्था गरिएको छ ।
नेवा च्यारिटीमा देशका विभिन्न भागबाट प्रतिस्पर्धाका लागि आइपुग्ने गरेका छन् । बालबालिका, खुल्ला, भेट्रानलगायतबीच स्पर्धा गराइँदै आएको छ । खुल्लातर्फको महिला पुरुष विजेताले जनही क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । भेट्रान तथा बालबालिकातर्फ पनि नगदसहित मेडल प्रदान गरिने उनले जानकारी दिए ।
गत वर्ष ३ हजार ५ सयले फर्म दर्ता गर्दै प्रतियोगितामा सहभागी बनेका थिए । यसबाट संकलित रकमले नेवा एजुकेशन अक्षय कोषमार्फत् २४ जना सामुदायिक स्कूलका बालबालिकाहरुलाई अध्यापन गराउँदै आएको छ । हाल कोषमा ११ लाख ८० हजार रुपैयाँ रहेको सचिव राजेन्द्र चोङबाङ लिम्बूले जानकारी दिए ।