बीबीसी नेपाली/ भारतको दिल्लीमा देखिएको विषाक्त हावाको प्रभाव नेपालमा पनि देखापरेको भन्दै धुलोका साना कणबाट जोगाउने खालका मास्क लगाउन वातावरण विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।

दिल्लीको प्रदूषणले राजधानी काठमाण्डाैंभन्दा पनि तराईका जिल्लाहरूमा बढी असर पारेको देखिएको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले बताए। प्रदूषण मापन गर्दा तराईको लुम्बिनी, सौराहा र नेपालगञ्जमा मापदण्डभन्दा बढी देखिएको विभागले जनाएको हो।

राष्ट्रिय मापदण्डअनुसार पीएम २।५ भनिने सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ।

प्रदूषणको अवस्था
नेपालको सौराहा, लुम्बिनी, नेपालगञ्ज र काठमाण्डूमा मापदण्डभन्दा धेरै विषाक्त कण हावामा पाइएको विभागले जनाएको छ। हावाको गुणस्तर मापन गर्ने रियल टाइम एअर क्वालिटी इन्डेक्सका अनुसार कणको मात्रा लुम्बिनीमा १९८ माइक्रोग्राम प्रति घनमिटर छ भने सौराहामा ११५ माइक्रोग्राम प्रति घनमिटर र नेपालगञ्जमा १९४ माइक्रोग्राम प्रति घनमिटर रहेको छ।

राजधानी काठमाण्डूमा भने तराईका जिल्लाभन्दा तुलनात्मक रुपमा कम अर्थात् रत्नपार्कमा १३३ माइक्रोग्राम प्रति घनमिटर देखिएको छ। 'मापन गरिएका यी क्षेत्रमा हेर्दा मापदण्डभन्दा एकदमै उच्च भएको देखाएको छ,' लामिछानेले भने।

'तराईमा प्रदूषणका घरेलु स्रोत हेर्दा भारतबाट आएको भन्न सकिने अवस्था छ।' यस्ता मसिना कणबाट जोगिनका लागि सामान्य खालको मास्कको प्रयोगले नहुने जानकारहरू बताउँछन्। त्यसका लागि एन९५ र एन९९ भनिने मास्क नै लगाउनुपर्ने लामिछाने बताउँछन्। दिल्लीमा भने प्रदूषण औसत ८०० माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी पुगेको छ।

दिल्लीमा जोरबिजोर प्रणाली
विषाक्त हावाको प्रभाव कम गर्न भारतको राजधानी नयाँ दिल्लीमा आजबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिदैँछ।विषाक्त हावाको प्रभाव बढ्दै गएपछि सरकारले सर्वसाधारणलाई बाहिर ननिस्कन अनुरोध गरेको छ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्दर जैनले सहरवासीहरूलाई बिहान र साँझको समयमा घर बाहिर गरिने काम नगर्न अनुरोध गरेका छन्। दिल्लीमा विद्यालयहरू बन्द गरिएको छ।

प्रदूषणका कारण हालसम्म ३० वटा विमानलाई दिल्लीमा अवतरण गर्न नदिएर अन्यत्र पठाइएको छ। त्यस्तै निर्माणका काम पनि ठप्प भएका छन्। अधिकारीहरूका अनुसार दिल्लीको प्रदूषणको स्तर चीनको राजधानी बेइजिङभन्दा सात गुणा बढी छ। गत शुक्रवार मात्रै सरकारले विद्यालयहरूमा ५० लाख मास्क वितरण गरेको थियो।

अनुरोध
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले प्रदूषणको स्तर असह्य भएको बताउँदै सर्वसारधारणलाई विषाक्त हावाको प्रभावबाट बच्नका लागि सरकारले जारी गरेको सुझावको पालना गर्न अनुरोध गरेका छन्। केजरिवालले सङ्घीय सरकारलाई हाल उत्पन्न परिस्थितिसँग जुझ्नका लागि सहयोग गर्न अनुरोध गरेका छन्।

बीबीसीकी दक्षिण एसिया क्षेत्रकी सम्पादक जिल म्याकगिभरिङका अनुसार केजरिवालका पछिल्ला भनाइले सरकारी अधिकारीहरूलाई सन्तुष्ट बनाउने छैन र हालको समयमा भारतीय राजनीतिज्ञहरू एकअर्कामा दोषारोपण गर्नमा व्यस्त छन्।

आइतवार दिल्लीमा युवाहरूको समूहले समस्या समाधानका लागि सरकार अग्रसर हुनुपर्ने माग राख्दै विरोध जनाएको थियो।आसपासका राज्यमा खेतबारीमा काटिएका बालीका पराल जलाएर नष्ट गरिएकाले वायु विषाक्त भएको सरकारी अधिकारीहरू बताउँछन्।