वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा पनि डेङ्गु रोगी फेला परेका छन् ।

चतरा क्षेत्रमा १ सय ४० जना डेङ्गु रोगी भेटिएका हुन् । स्वास्थ्य केन्द्र आएका ४ सय बिरामीको परीक्षण गर्दा १ सय ४० जनामा डेङ्गु भेटिएको हो । प्राथमिक स्वास्थ्य केन्द्र चतराका मेडिकल अधिकृत डा. अमृत थापाका अनुसार ७६ जना पुरुष र ६४ जना महिलामा डेङ्गु भेटिएको छ ।

कतिपय बिरामी उपचारपछि घर फर्किएका छन् । केन्द्रमा स्वास्थ्य जाँचका लागि १ सय ५० जना बिरामीहरू आउने गरेका छन् । त्यसमध्ये आधामा डेङ्गु पोजेटिभ भेटिने गरेको छ । वराहक्षे–१ र २ को खारखोला, चावाचा, सूर्यकुण्ड, बुद्धचौक, बयरवनका १४ वर्षदेखि ८० वर्षसम्मका बिरामीमा डेङ्गु भेटिएको डा. थापाले बताए ।

डेङ्गुले प्रकोपको रूप लिँदासम्म डेङ्गु रोक्न स्थानीय प्रशासनले पहल नगरेको भन्दै स्थानीय तुलसी पाण्डेले आक्रोस पोखे । यता वडाले डेङ्गु रोक्न धुँवा लगाउने काम गरिएको भन्दै टायर हटाउने र बजार सफा गरिएको २ नम्बर वडाध्यक्ष हरिकृष्ण भट्टराईले बताए । वडाध्यक्ष भट्टराईले आफ्नो घरवरपर सफा राखेर डेङ्गु नियन्त्रण गर्न सबैमा आग्रह गरे ।