बीबीसी नेपाली/ बुधवार सान फ्रान्सिस्कोमा सार्वजनिक अभियोगअनुसार साउदी गुप्तचरहरूले नाम चलेका साउदी आलोचक तथा अन्य दुई प्रयोगकर्ताका व्यक्तिगत जानकारी मागेका थिए ।

वाशिङ्टन पोस्टले छापेको अदालतका कागजपत्रमा उल्लेख गरिएअनुसार आरोपितहरूमा अमेरिकी नागरिक अहमद अबुआमो र साउदी नागरिक अली अल्जाबराह रहेका छन्। अहमद अल्मुतैरी नाम गरेका तेस्रा साउदी नागरिकमाथि पनि जासुसी गरेको आरोप लगाइएको छ।

मध्यस्थकर्ता
अल्मुतैरीले ट्विटरका दुई कर्मचारी र साउदी अधिकारीहरूबीच मध्यस्थकर्ताको काम गरेको आरोप छ। अबुआमोलाई बुधवार सीयाटलस्थित अदालतमा उपस्थित गराइएको थियो र अहिले उनी हिरासतमा छन्। अबुआमोविरुद्धको अर्को सुनुवाइ शुक्रवार हुनेछ।

फर्जी कागजपत्र बनाएको र सङ्घीय अनुसन्धान निकाय एफबीआईसमक्ष गलत बयान दिएको पनि उनीमाथि आरोप लगाइएको छ। सन् २०१५ मा ुमिडिया पार्टनरशिप म्यानेजरु पदबाट काम गर्दै गर्दा अबुआमोले जागिर छोडेका थिए।

अली अल्जाबराह र अहमद अल्मुतैरी दुवै जना हाल साउदी अरबमा रहेको विश्वास गरिएको छ। साउदी एजेन्टहरूको निर्देशनमा ट्विटरका पूर्वइन्जिनियर अल्जाबराहले सन् २०१५ मा छ हजारभन्दा ट्विटर प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणमा पहुँच कायम गरेको आरोप छ।

अनुसन्धानकर्ताहरूका अनुसार त्यसबारे अल्जाबराहका सुपरिवेक्षकहरूले हस्तक्षेप गरेका थिए। पत्नी एवम्‌ छोरीसहित साउदी अरब जानुअघि उनलाई तलबी बिदामा पठाइएको थियो।

अविश्वसनीय
एउटा विज्ञप्तिमा ट्विटरले भनेको छ, 'विश्वसँग आफ्ना धारणा राख्न र शक्तिमा रहेकाहरूलाई उत्तरदायी बनाउने चाहने हाम्रा प्रयोगकर्ताले सामना गरेको यो अविश्वसनीय जोखिमलाई हामी बुझ्छौँ।' साउदी अरब मध्यपूर्वमा अमेरिकाको एउटा महत्त्वपूर्ण साझेदार हो।

गत वर्ष पत्रकार जमाल खशोग्जीको भएको हत्याका कारण आलोचना भइरहँदा पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अधिराज्यसँग नजिकको सम्बन्ध राख्दै आएका छन्। टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा गएका खशोग्जीको हत्या भएको थियो।

पत्रकार खशोग्जीको हत्यालाई लिएर खासगरी साउदी युवराज मोहम्मद बिन सलमानको चर्को आलोचना हुँदै आएको छ। साउदी सरकारका आलोचक खशोग्जीको युवराज मोहम्मदकै निर्देशनमा हत्या गरिएको बताइन्छ। यद्यपि उनले त्यसको खण्डन गर्दै आएका छन्।