झापा/ सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी श्रीमतीलाई पैसा खोजेर आउँछु भनी हिँडेका श्रीमान् बेपत्ता भएपछि झापा कन्काई नगरपालिका–४ कोटीहोमकी एसिला मगर अहिले अलपत्र बनेकी छन् ।

कात्तिक ९ गते सुत्केरी व्यथा लागेर बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटल भर्ना भएकी पीडित मगर अस्पतालको बिल भुक्तानी गर्न नसकेर अलपत्रमा परेकी हुन् । उनले कात्तिक १० गते शिशु जन्माएकी थिइन् । उनको सहयोगार्थ गङ्गामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित संस्था बिर्तामोड–४ झापाले अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीबार कन्काई नगरपालिकास्थित सुरुङ्गाबाट एसिलालाई अस्पतालबाट उन्मुक्ति दिलाउन आर्थिक सहयोग अभियान सञ्चालन गर्न लागेको संस्थाका सञ्चालक भूपाल बस्नेतले बुधबार बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिए । सुत्केरी मगरलाई गत कात्तिक ९ गते बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा प्रसूतिका लागि भर्ना गरिएको पीडितकी आमाजू सपना मगरले बताइन् । ‘१० गते बच्चा जन्मियो’ आमाजू सपनाले भनिन्, ‘पैसा खोज्न जान्छु भनेर हिँडेको भाइ अहिलेसम्म आएको छैन ।’ दैनिक ज्यालादारी गर्ने तथा आर्थिक अवस्था नाजुक भएका कारण सुत्केरी मगरका श्रीमान् अशोक मगर कतै लुकेको हुनसक्ने छिमेकी सङ्गीता खानले बताइन् ।

अस्पतालबाट उन्मुक्ति दिलाउन अभियान सञ्चालन गर्ने संस्थाका सञ्चालक बस्नेतले हस्पिटलमा बुधबारसम्म एकलाख र औषधि पसलमा २२ हजार ४ सय ३८ रुपैयाँ बाँकी रहेको बताए । ‘हस्पिटलमा भर्ना गर्दा १४ हजार ५ सय डिपोजिट गरेको रहेछ’ अभियान सञ्चालक बस्नेतले भने, ‘बाहिरबाट २२–२३ हजारको औषधि खरिद गरेको रहेछ ।’ पीडितका आफन्त आएर अभियान सञ्चालन गर्न आफ्नो संस्थालाई आग्रह गरेकाले यो अभियान शुरु गरेको उनको भनाइ छ ।

‘भोलि सुरुङ्गाबाट माइकिङ गर्र्दै अभियान शुरु गर्नेछौं’ –उनले भने । संस्थाले ३ वर्षदेखि विभिन्न सहयोगी अभियान सञ्चालन गर्र्दै आएको संस्था सञ्चालक बस्नेतले जानकारी दिए । उनले सबैलाई सकेको आर्थिक सहयोग गर्न अपिलसमेत गरेका छन् ।