बिर्तामोड/ सप्तरङ्ग २ मार्फत् सातै प्रदेशमा सात कलाकारको सङ्गीत यात्रा झापाको बिर्तामोडबाट शुरु भएको छ । बुधबार साँझ झापाको बिर्तामोडबाट सप्तरङ्ग २ शुरु भएको हो ।

अबेर रातिसम्म भएको कार्यक्रममा विभिन्न कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सात कलाकारमा महानायक राजेश हमाल, हास्य कलाकार जितु नेपाल, गायकहरू सुगम पोखरेल, हिमाल सागर, प्रकाश सपुत, रवि ओड तथा गायिका मेलिना राईले आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । उनले प्रदेशहरूको पर्यटन प्रवद्र्धनका लागि भनेर कार्यक्रम आयोजना गरिएको भन्दै आयोजक ग्रीष्म ब्रोडकास्टिङ प्रालिलाई धन्यवाद दिए । मुख्यमन्त्री राईले भने, ‘यो कार्यक्रमले सङ्घीयताको मूल भावनालाई बलियो बनाउने छ ।’ ग्रीष्म ब्रोडकास्टिङका प्रबन्ध निर्देशक गृहेन्द्र घिमिरेले उक्त सङ्गीत यात्राको आयोजना पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि गरिएको बताए ।

प्रदेश नं. २ को वीरगञ्ज, प्रदेश नं. ३ को चितवन, प्रदेश नं. ४ को पोखरा, प्रदेश नं. ५ को नेपालगञ्ज, प्रदेश नं. ६ को सुर्खेत र प्रदेश नं. ७ को महेन्द्रनगरमा कार्यक्रम आयोजना हुने उनले जानकारी दिए । उनले भने, ‘देश सङ्घीय संरचनामा गएपछि स्थापित प्रदेशहरूलाई दह्रो बनाउने यो कार्यक्रमको मुख्य उद्धेश्य हो ।’ सङ्गीत यात्राको समापन पोखरामा मङ्सिर ४ मा हुने घिमिरेले बताए । सबै कार्यक्रमहरू सम्बन्धित प्रदेशका मुख्यमन्त्रीहरूले उद्घाटन गर्ने उनले जानकारी दिए ।