ताप्लेजुङ । ताप्लेजुङका केही स्थानीय तहले फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने भएका छन् । १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १३५ औं जन्म जयन्तिको अवसरमा जिल्लाको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएका हुन् ।

आउँदो साताको सोमबार अर्थात कात्तिक २५ गते महागुरु लिङ्देनको जन्म जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए । गत वर्षदेखि नै प्रत्येक वर्ष लिङ्देनको जन्म जयन्तीमा सार्वजनिक विदा दिने नगरसभाले निर्णय गरेको नगर प्रमुख प्याकुरेलले बताए । यस्तै फक्ताङ्लुङ गाउँपालिकाले पनि बिहीबार विज्ञप्ति प्रकाशित गर्दै लिङ्देनको जन्म जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।

बुधबारको कार्यकालिका बैठकले लिङ्देनको जन्म जयन्तीका आउँदो सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको फक्ताङ्लुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्लाको पूर्वी सिदिङ्वा गाउँपालिकाले पनि उक्त दिन सार्वजनिक विदा दिने तयारी गरेको तर, औपचारिक निर्णय हुन बाँकी रहेको गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङले जानकारी दिए । ताम्लिङका अनुसार गत वर्ष विदा दिइएकाले यसवर्ष पनि लिङ्देनको जन्म जयन्तीका दिन सार्वजनिक विदा दिने गाउँपालिकाको तयारी रहेको छ । उता लिङ्देनको जन्म जयन्ती किराँत धर्मसँग सम्वद्ध सङ्घ÷संस्थाहरुले विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने गर्दछन् ।