विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरिबी निवारणमा सहकारीको भूमिका महŒवपूर्ण रहेको बताएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग र राष्ट्रिय सहकारी महासङ्घ लि. नेपालको आयोजनामा विराटनगरमा शुक्रबारदेखि शुरु भएको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी प्रादेशिक गोष्ठीमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

सहकारी राष्ट्र निर्माणको लागि महŒवपूर्ण ‘पिलर’ भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले तीन तहको सरकारसँग समन्वय र सहकार्य गरी एउटै सुर, तालमा हिँड्नु पर्ने बताए । ‘प्रदेश सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । यसलाई आधुनिकीकरण गरी गरिबी निवारण अन्त्य गरी रोजगारीको सिर्जना गरिनुपर्दछ’ मुख्यमन्त्री राईले भने, ‘यसमा सहकारीको महत्वपूर्ण भूमिका रहन्छ ।’

प्रदेश सरकारले सहकारी विधेयक प्रदेशसभाबाट पारित गरेको जानकारी दिँदै उनले भने, ‘त्यसमा केही कमी कमजोरी भए आगामी दिनमा सच्याएर अगाडि बढ्ने म यही कार्यक्रमबाट प्रतिबद्धता जाहेर गर्दछु ।’ सहकारी क्षेत्रलाई प्रत्यक्ष रूपमा जोड्न प्रदेश सरकारले लगानी सम्मेलनको तयारी शुरु गरेको मुख्यमन्त्री राईले बताए ।

‘परियोजनाको सूची सङ्घीय सरकारमा पुगेको छ’ मुख्यमन्त्री राईले भने, ‘सङ्घीय सरकारबाट स्वीकृतिको तयारीमा छ । अब चाँडै स्वीकृत प्रदान भएपछि हामी प्रदेशमा लगानी सम्मेलन गर्दैछौं ।’ लगानी सम्मेलनमा वैदेशिक र स्वदेशीसहित सहकारी क्षेत्रलाई समेटेर परियोजनाको काम अगाडि बढाउने मुख्यमन्त्री राईले बताए । सहकारी क्षेत्रलाई जोडेर विकास र समृद्धिको यात्रामा प्रदेश सरकार अगाडि बढ्ने मुख्यमन्त्री राईको भनाइ थियो ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सहकारी संस्थामा कालोधन प्रवेशलाई निषेध गरिनु पर्नेमा जोड दिए । सहकारी संस्थाबाट गरिबी निवारण हटाएर विकास र समृद्धिको गतिमा अगाडि बढ्नु पर्ने उनले बताए । त्यस्तै सहकारी संस्थाका लेखा संयोजक धर्मदत्त देवकोटाले सहकारीलाई राजनैतिक गर्ने थलोको रूपमा मात्र प्रयोग गर्न नहुने बताए । उनले सहकारीलाई उत्पादन र वृत्ति विकासमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक रमेशप्रसाद पोखरेल, रविन्द्र केसी, शिवकुमार डाँगीलगायतले सहकारीलाई प्रविधिसँगै जोडेर अगाडि बढ्नु पर्नेमा जोड दिए । शनिबारसम्म सञ्चालन हुने गोष्ठीमा १ नम्बर प्रदेशभरिका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति रहेको छ ।