रङ्गेली/ विराटनगर उपमहानगरबाट महानगरपालिका अनि प्रदेशको राजधानी बने पनि यहाँको फोहोर व्यवस्थापनको चुनौति भने घट्न सकेको छैन ।

महानगरबासीले आफ्नो घरको फोहोर सडक र खुल्ला स्थानमा फाल्ने गर्नाले फोहोर व्यवस्थापनमा चुनौति देखिएको हो । महानगर क्षेत्रमा अझै पनि खुला जमिन प्रशस्त भएको कारणले नगरबासीले त्यहीँ फोहोर फाल्ने गरेका छन् । सडकमा फोहोर फाल्ने क्रम पनि यद्यपि कायमै छ । जसको कारणले सफा महानगर निर्माणमा चुनौति थपिएको छ । विराटनगरको फाहोर मैला व्यवस्थापनमा जनसहभागिता निकै कमजोर रहेको छ ।

आफ्नो घर–टोलको फोहोर अरूले नै उठाइदेओस् भन्ने मानसिकता महानगरबासीमा रहेको प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए । ‘नागरिकहरूमा शिथिलता देखिएको छ, फाहोर अरूले उठाइदिउन्, प्रहरीले उठाउन्, अभियान चलाइदिउन् भन्ने मानसिकता छ ।’ उनले भने, ‘आफ्नो वरिपरिको फोहोर घटाउनका लागि फोहोर गर्ने नागरिकको व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको छ ।’ फोहोर मैला व्यवस्थापनको लागि महानगरले जनचेतना जगाउनुका साथै कारबाही गर्ने कार्यक्रम ल्याउने उनले बताए । महानगरमा सडक, ढल निर्माणको कार्य भइरहेकोले यसलाई प्रभावकारी बनाउन नसकिएको उनको भनाइ छ ।

विराटनगर महानगरपालिकाले फोहोर मैला व्यवस्थापन परियोजनासँग मिलेर दैनिक ७० टन फोहोरको व्यवस्थापन गर्दै आएको छ । विराटनगर महानगरको फोहोर सङ्कलन गरी व्यवस्थापन गर्ने काम फोहोरमैला व्यवस्थापन परियोजना विराटनगरले गरिरहेको छ । परियोजनाले दैनिक ७० टन फोहोर डम्पिङ साइडमा लगेर व्यवस्थापन गर्दै आएको परियोजना प्रमुख देवी आचार्यले बताए । विराटनगर महानगरको फोहोर सङ्कलन र व्यवस्थापनका लागि ३ सय कर्मचारी खटिने गरेको उनले बताए ।

परियोजनाले महानगरका सडकमा कुचो लगाउने, धुलो उठाउने, घर–पसलबाट फोहोर सङ्कलन गरी ढुवानी गर्ने काम गर्छ । त्यसैगरी नालाको सफाइको काम पनि परियोजनाले नै गर्ने गरेको छ । त्यसैगरी बेवारिसे लाशको पनि व्यवस्थापन गर्ने गरेको छ । साथै नगरमा सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गर्ने गरेको छ । यी कामसँगै फोहोरमैला परियोजनाले महानगरको फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइडको पनि व्यवस्थापन गर्ने गरेको छ । परियोजनाले फोहोर सङ्कलन गरेबापत जनताबाट मासिक २७ लाख उठाउने गरेको छ । यसमा विराटनगर महानगरपालिकाले ११ लाख ४० हजार मासिक दिने गरेको छ । महानगरका १ देखि १७ वडासम्मको फोहोर उठाउने जिम्मेवारी परियोजनाको रहेको छ ।

निर्देशिका कार्यान्वयन भएन
फोहोरमैला सङ्कलन कार्यलाई व्यवस्थित गर्न ०६८ देखि लागू भएको फोहोरमैला निष्कासन सङ्कलन तथा अन्तिम विसर्जनसम्बन्धी निर्देशिका महानगरपालिकाले प्रभावकारी रूपमा लागू गराउन सकेको छैन । शहर बजारको फोहोरमैला व्यवस्थापनसम्बन्धी निर्देशिका लागू भएको ८ वर्ष पुगिसकेको छ । त्यसको उपलब्धि खासै हुन सकेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले विराटनगर शहरको सडक र ढल स्तरोन्नति र ल्याण्डफिल साइडको अभावमा निर्देशिकालाई प्रभावकारी रूपमा लागू गर्न नसकिएको बताए । कडाइका साथ निर्देशिका लागू नगरिँदा खुला ठाउँ र सडकमा फोहोर फाल्ने क्रम रोकिएको छैन ।

महानगरपालिकाले जारी गरेको फोहरमैला निष्कासन, सङ्कलन तथा अन्तिम विसर्जन निर्देशिकामा सडक र सार्वजनिक स्थानमा फोहोर फ्याँक्नेलाई अवस्था हेरी १ हजार देखि १५ हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।
सरकारले राजपत्रमा प्रकाशित गरी प्रतिबन्ध लगाएका रासायनिक र औद्योगिक फोहोर फ्याँक्नेलाई ५० हजारदेखि १ लाखसम्म जरिवाना तोकिएको छ ।

जनचेतना प्रभावकारी छैन
विराटनगर महानगरपालिकामा फाहोरमैलाप्रति जनताले चासो दिए पनि सडक र जथाभावी खुला ठाउँमा फोहोर फाल्ने प्रवृत्तिमा कमी आउन सकेको छैन । यसको लागि जनचेतना आवश्यक रहेको फोहोरमैला व्यवस्थापन परियोजनाका प्रमुख देवी आचार्यले बताए । यसको लागि विराटनगर महानगरबाट सक्रियताको अपेक्षा गरे । जथाभावी फोहोर गर्नेलाई महानगरले दण्ड र जरिवानामा कडाइ गर्र्दै लैजानु आवश्यक रहेको उनले बताए ।

उनले फाहोरमैलाको समस्या समाधान गर्न काठमाडौं महानगरपालिकामा सञ्चालन भएको जस्तो जनचेतनामूलक कार्यक्रम यहाँ पनि आवश्यक रहेको छ । महानगरपालिका र मन्त्रालयहरूको सहभागितामा सरसफाइसम्बन्धी बृहत् साप्ताहिक कार्यक्रम गर्नुपर्ने आचार्य बताउँछन् । यसको लागि विराटनगर महानगरपालिका र नगरबासी सक्रिय हुनुपर्ने उनले बताए ।