बेलबारी/ मोरङको बेलबारी नगरपालिका–९ नलबारी चोकदेखि पश्चिमपट्टि रहेको सरकारी जमिन डेढ कठ्ठामा मन्दिर बनाउने चर्चा चलेपछि अहिले स्थानीय क्लब र देउसी–भैलो टोलीबीच विवाद उत्पन्न भएको छ ।

पश्चिम जाने बाटो सरेपछि निस्किएको जमिन एक समय खाली अवस्थामा रहेको थियो । पोखरी भएको उक्त जग्गामा स्थानीय जमिन्दार गोपालजङ कार्कीले माछा लगाएर उपभोग गर्दै आएका थिए । द्वन्द्वकालमा तत्कालीन माओवादीले झण्डा गाडेपछि कार्कीले माछा पाल्न र जग्गा उपभोग गर्न छाडेको स्थानीयहरू बताउँछन् । पछि बुधबारे बजार समितिले रकम उठाएर पोखरी पुरेपछि त्यहाँ बजार लाग्ने गरेको थियो । बजार लाग्न छाडेपछि उक्त जग्गामा शान्ति युवा समूहको कार्यालय राखी क्लबले उक्त जग्गा संरक्षण गर्दै आएको थियो । २०५५ सालमा स्थापना भएको समूह पनि निष्क्रिय रहेपछि स्थानीयबासीले बङ्गुरलगायतको चौपाया बाँध्ने गरेका थिए ।

सोही जग्गामा देउसी–भैलो टोलीले अहिले दुर्गा मन्दिर बनाउने चर्चा चलेपछि देउसी टोली र क्लब(समूह) बीच विवाद सिर्जना भएको हो । शान्ति युवा समूहले उक्त जग्गा समूह अथवा सार्वजनिक रूपमा रहेको हुँदा स्थानीयको सहमति बिना कुनै धर्म वा सम्प्रदाय विशेषको मन्दिर बनाउन नमिल्ने जिकिर गर्र्दै आएको छ । साथै समूहले आफ्नो लेखा प्रतिवेदनमा समेत उक्त जग्गालाई साधारणसभाबाट पारित गरी समूहको स्वामित्वमा राखिएको क्लबले जनाएको छ ।

निष्क्रिय रहेको क्लबलाई नवीकरण गरेर पुनः सञ्चालनमा ल्याएको छ । संस्थाको नवीकरणपश्चात् शान्ति युवा समूहले शनिबार सो जग्गामा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ । साथै त्यस ठाउँमा शान्ति युवा समूहले सभाकक्षसहितको सामुदायिक भवन र खेलकुदका कार्यक्रम गर्ने स्थल बनाउने घोषणा गरेको छ ।

समूहको जग्गा भनिएको स्थलमा मन्दिर बनाउन नहुने नलबारी टोल विकास अध्यक्ष लक्ष्मी चौधरीको पनि अभिमत रहेको छ । बरु मन्दिर बनाउने भए चक्र भण्डारीले ओगटेको सार्वजनिक जग्गामा बनाउन उपयुक्त हुने उनले बताए । उता दुर्गा मन्दिर निर्माण समितिका सचिव चन्द्रमणि भण्डारीले भने उक्त जग्गा क्लब(समूह)को नभएको दाबी गरेको छ । उक्त जग्गा बजार व्यवस्थापन समितिको भएको र त्यस ठाउँलाई पार्किङ क्षेत्र मात्र बनाउने बताएका छन् ।

क्लब र मन्दिर समितिको विवादलाई सर्वपक्षीय रूपमा बसेर छलफल गरिने पनि सचिव भण्डारीले बताए । उता क्लबका संस्थापक सचिव प्रेम बान्तवाले भने अहिलेको मन्दिर समितिका पदाधिकारीहरू नै क्लबमा रहँदा त्यस जग्गामा क्लबको कार्यालय स्थापना गरी वृक्षरोपणका साथै घेराबारा गरेको बताउँछन् । साथै क्लबको सहमति बिना सार्वजनिक जग्गामा कुनै धर्म वा सम्प्रदाय विशेषले मन्दिर निर्माण गर्न नपाइने सचिव बान्तवा बताउँछन् ।

शान्ति युवा समूहले गरेको सरसफाइ कार्यक्रममा बेलबारी नगर कार्यपालिका सदस्य शिवनाथ धिमाल, ९ नम्बर वडासदस्य गोपाल धिमाल, समूहको संस्थापक सचिव प्रेम बान्तवा, संस्थापक सह–सचिव भरत धिमाल, राई समाज अध्यक्ष नारायण राईलगायतको उपस्थिति रहेका थिए । भेलाले कार्यालय सफाइ गर्नुको साथै कार्यालयपरिसरमा रहेको पशु चौपाया सार्न आह्वान गर्नुको साथै स्रोत जुटाएर तत्काल सामुदायिक भवन निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।