धरान/ प्रदेश नं.१ स्तरीय गायन प्रतिस्पर्धा ‘स्टेट वान सिङ्गिङ आइडल’ को फाइनल प्रतिस्पर्धीलाई वरिष्ठ गायक दीप श्रेष्ठले ग्रुमिङ गराएका छन् ।

सोमबार धरानस्थित गोरखा डिपार्टमेन्ट स्टोरको हलमा भएको ग्रुमिङ सेसनमा दीपले फाइनलमा पुगेका १३ जना प्रतिस्पर्धीका गीत सुनेर उनीहरूलाई आवश्यक सुझाव दिएका थिए । पछिल्लो समय फ्रेन्चाइज्ड रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को कोचका रूपमा सक्रिय दीपले स्टेट वान सिङ्गिङ आइडलका फाइनल प्रतिस्पर्धीहरूको स्वर राम्रो रहेको तर निखार ल्याउनका लागि अझै मेहनत गर्नुपर्ने बताए ।

उनले प्रतिस्पर्धीहरूलाई निरन्तरको अभ्यासले मात्र सफलता पाउन सकिने सुझाव दिए । उनले भने, ‘आजको भोेलि वा दुई–चार महिनामा हिट हुन्छु भन्ने सपना देखेर नआउनुस्, राम्रोसँग अभ्यास गर्नुस्, सफलता पाउनु हुन्छ ।’

दीपले हरेक प्रतिस्पर्धीलाई स्वरमा बनावटीपन नल्याई आफ्नो स्वरमा गाउन सुझाव दिए । उनले प्रतिस्पर्धीले छानेका गीतहरू कुन गाउने वा कुन परिवर्तन गर्ने भनेर सुझावसमेत दिए । प्रतिस्पर्धीलाई उनले भने, ‘हामी रेडियो नेपालमा रेकर्ड गर्दा एउटा गीत ५ सयदेखि १ हजार पटकसम्म अभ्यास गथ्र्यौं । जति गायो भोकल त्यति राम्रो हुन्छ । तपाईहरू पनि दिनमा एउटा गीत सय चोटी सुन्ने र सय चोटी गाउने कोशिस गर्नुस् ।’

दीपले प्रतिस्पर्धीहरूलाई फोन र सामाजिक सञ्जालमार्फत् फाइनलसम्म ग्रुमिङ गरिरहने आयोजक रेडमुन इन्टरटेन्मेन्टका निर्देशक रोशन प्रधानले बताए । प्रतिस्पर्धीहरूलाई विनायक राईले प्रशिक्षण दिँदै आएका छन् ।

प्रदेश नं.१ का विभिन्न जिल्लामा अडिसनमार्फत् छानिएका प्रतिस्पर्धीमध्ये विभिन्न चरणमा छनोट गर्दै उत्कृष्ट १३ जनालाई आयोजकले फाइनलमा उतार्न लागेको हो । कार्यक्रमको फाइनल मङ्सिर अन्तिम साता हुने बताइएको छ ।