मिस पूर्वाञ्चलको ताज जितेको करिब १ वर्षको समयमा आइपुग्दा जीवनमा कस्तो परिवर्तन आयो ?
पहिला एउटा सामान्य विद्यार्थी, कसैकी छोरी भनेर चिनिन्थें । कलेज गयो, घर आयो त्यही दैनिकी थियो । तर मिस पूर्वाञ्चल जितेपछि छरछिमेकीदेखि साथीहरूले समेत फरक रूपमा हेरे । त्यो बेला जीवन अकस्मात बदलिएजस्तो लाग्यो । मिस पूर्वाञ्चल जितेपछि सिधै मिस नेपालमा प्रवेश पाएँ र त्यहाँबाट धेरै कुरा सिकेँ । यसले जीवनमा अघि बढ्न मद्दत गरेको छ ।

विजेता बनेपछि छिमेकी र साथीहरूको पहिलो प्रतिक्रिया कस्तो थियो ?
विजेता बनेर घर पुग्दा ममीले छिमेकीहरूलाई पनि बोलाउनुभएको रहेछ । सबैजना मलाई देखेर छक्क परिरहनुभएको थियो । किनकी म घरबाट कहिल्यै बाहिर ननिस्किने मान्छे, घरमै बसिरहन्थेँ । एकैचोटी गएर जितेर आयो भन्दा चकित पर्नुभयो । म भाग लिएको उहाँहरू कसैलाई थाहा थिएन । पछि फेसबुकबाट मात्र थाहा पाउनुभएको थियो । त्यसैले पनि अचम्म मान्नुभयो । उहाँहरू मेरो घरमा आएर चन्द्रगढीको नाम राख्यौ भनेर बधाई दिँदाको क्षण अहिले पनि सम्झिरहेकी छु ।

ब्युटी प्याजेन्टसम्म आउन केले आकर्षण गर्यो ?
म जन्मिएको, हुर्किएको चन्द्रगढीमा ब्युटी प्याजेन्ट जित्ने कोही थिएन । मैले विभूति विद्या मन्दिरबाट एसएलसी र प्लस टु गरेपछि मेची मल्टिपल क्याम्पसबाट बिबिएमा डिस्टिङ्सन गरेँ । पढाइमा ध्यान दिन्थेँ तर यो क्षेत्रमा जिरो थिएँ । फोटो सुटसम्म गरेकी थिइनँ । तर घरमै बसेर युट्युबमा, टेलिभिजनमा मिस नेपाल जस्ता ब्युटी प्याजेन्ट हेर्थें र बाहिर नदेखाए पनि भित्रभित्रै एकदिन समाजले नदेखेको कुरा म पनि गएर देखाउँछु भन्ने लाग्थ्यो । ठ्याक्कै बिबिए सकिएको बेला फेसबुकबाट थाहा पाएपछि समयको सदुपयोग गरौं भनेर आएकी थिएँ ।

जित्छु भन्ने कन्फिडेन्ट कतिको थियो ?
म जित्छु नै भनेर आएकी थिएँ, किनकी मैले बिबिए सकिएपछि मिस नेपालमा जान्छु भनेर आफूलाई तयार गर्दैथिएँ । दैनिक पत्रपत्रिकाको ग्राहक भएर पढ्थेँ । त्यसले मलाई धेरै शब्दको ज्ञान भयो । देश विदेशको बारेमा बुझेँ । व्यक्तित्व विकासका लागि ध्यान दिन्थेँ । त्यही बानीले अहिले पनि व्यक्तित्व विकासका पुस्तकहरू पढ्छु । कुनै पनि प्रतिस्पर्धा जित्न सजिलो छैन, त्यसका लागि अध्ययन महत्वपूर्ण रहेछ ।

अबका योजनाहरू के–के छन् ?
मिस पूर्वाञ्चल जितेपछि मिस नेपालमा सहभागी हुन पाएँ । त्यहाँबाट पनि धेरै कुरा सिक्न पाएँ । अब पढाइलाई प्राथमिकता दिन्छु, अनि समाजका लागि केही गर्छु भन्ने सोच छ ।