विराटनगर/ विराटनगर महानगरपालिका क्षेत्रलाई बेसहारा मुक्त महानगर बनाउने अभियानअन्तर्गत मानसिक सन्तुलन गुमेका बिरामीको उद्धार गरिन शुरु गरिएको छ । महानगरपालिका प्रमुख भीम पराजुलीको नेतृत्वको टोलीले आइतबार विराटनगरका २ जना मानसिक सन्तुलन गुमेका बिरामीको उद्धार गरेको हो ।

अन्दाजी ५५ वर्षका पुरुषलाई मेनरोडस्थित नमस्कार होटल अघिल्तिरको खाली चौरबाट उद्धार गरिएको महानगरले जनाएको छ । मानसिक सन्तुलन गुमेका ती व्यक्ति लामो समयदेखि खुल्लाचौरमा फोहोरको डङ्गुरमा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् । यसैगरी अर्का एक महिलालाई जलजलाचोक पूर्वस्थित शनिमन्दिर रोडबाट उद्धार गरिएको छ । बङ्गाली भाषा बोल्ने ती महिला सो क्षेत्रमा ५ महिनायता बस्दै आएको बताइएको छ । प्रहरी र मानव सेवा समितिसहितको टोलीले दुवै जनालाई उद्धार गरेको हो । उद्धार गरिएका व्यक्तिहरूलाई विराटनगर–१० स्थित मानव सेवा आश्रममा राखिने महानगर प्रमुख पराजुलीले जानकारी दिए । नगरक्षेत्रलाई बेसहारा मुक्त बनाउने अभियान अन्तर्गत उद्धार कार्यलाई निरन्तरता दिएको उनको भनाइ छ ।

मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार कार्य जारी रहनेछ । हालै स्थापना भएको मानव सेवा आश्रममा उद्धार गरिएका र बेसहारा भेटिएकाहरूलाई राखिने गरेको छ । आश्रित व्यक्तिहरूका लागि महानगरले आवश्यक बजेटको समेत व्यवस्था गरेको जनाइएको छ । त्यस्तै १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि मोरङको मोङको रतुवामाइ नगरपालिका –८ दाम्राभिट्टाकाका ४६ वर्षीय दिनेश तिम्सिनालाई उद्धार गरेको छ । सामाजिक विकामन्त्री जीवन घिमिरे नेतृत्वको टोलीले रतुवामाई नगरपालिका पुगेर तिम्सिनालाई उद्धार गरेको हो । विगत ३० वर्षदेखि मानसिक सन्तुलन गुमाएपछि बाँधिएर बस्न बाध्य उनको उद्धार गरिएको बताइएको छ । सानैमा बुबा बितेको र आमा सुस्त श्रवणशक्तिको भएकाले उनको समयमा उपचार हुन नसकेको बताइएको छ ।

तिम्सिनालाई सामाजिक विकास मन्त्रालयले आइतबार उद्धार गरेर उपचार शुरु गर्ने जनाएको छ । मानव सेवा आश्रमको सहयोगमा उनको उद्धार गरिएको र उपचारपछि उनलाई पुनः घरमै फर्काउने मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा वरालले जानकारी दिए । राम्रो र नियमित औषधि उपचार अभावका कारण आफ्नै घरमा बन्दी जीवन बिताइरहेको अवस्थामा मन्त्रालयले उनको उद्धार गरी उपचार प्रक्रिया अगाडि बढाउन लागेको हो । २०३० सालमा जन्मिएका तिम्सिना शुरुका दिनमा पढाइमा निक्कै अब्बल भएपनि एसएलसीमा फेल भएपछि टोलाउने र बर्बराउने हुँदै पूरै अचेत जस्तै बनेको स्थानीयले बताएका छन्् ।