डाँगीहाट, मोरङ आँखाले भ्याएसम्म देखिने धान खेती, धान पाकेर पहेँलपुर देखिन्छ । पाकेको धान काट्न खेतभरि कृषि यान्त्रिक उपकरणहरू लामबद्ध छन् । हार्भेस्टारले धान काटेपछि बाँकी रहेको नललाई ‘मलसर’ मेसिनले छोटो बनाएर मैदानको लेभलसम्म बनाइदिन्छ । त्यसलगतै सँगै रहेको अर्को ट्याक्टरमा प्रयोग गरिएको रोडाभेटरले बाँझो खेतलाई जोतेपछि छिनभरमै बाली लागाउन तयारी हुन्छ । आइतबार दिउँसो मोरङको बेलबारी नगरपालिका–९ पोखरीया पुग्दा देखिएको दृश्य हो यो ।

बेलबारी नगरपालिकाका कृषकहरूले आधुनिक कृषिको माध्यमबाट यान्त्रीकरणमा आधारित व्यावसायिक धान खेती शुरु गरेका छन् । कृषि यान्त्रीकरणबाट उत्पादन बढ्न थालेपछि यहाँका कृषकहरू यसकोे प्रयोगबाट व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । नेपाल कृषि कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले परम्परागत तरिकाले खेती गर्दै आएका किसानलाई व्यावसायिक खेतीमार्फत उद्यमी बनाउन शुरु गरेको बताए ।

बुद्ध एयर कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल कृषि कम्पनीमार्फत व्यावसायिक खेती शुरु गरिएको हो । परीक्षण स्वरूप यो वर्ष ३५ बिघा खेतमा लगाएको वर्षे धानको उत्पादन सन्तोषजनक देखिएपछि यसै वर्ष क्षेत्र विस्तार गरिने तयारी गरिएको उनले बताए । कम्पनीका निर्देशक बस्नेतका अनुसार यसै वर्ष २ सय बिघामा धान खेतीको तयारी शुरु गरिने जानकारी दिए । उत्पादन र बजारीकरणसमेत गर्ने उद्देश्यबाट दुई सय बिघा क्षेत्रफलमा चैते धान लगाउने तयारी गरेको कम्पनीले जनाएको छ ।

‘परम्परागत धान उत्पादन गर्ने प्रवृतिमा परिवर्तन ल्याउँदै आधुनिक प्रणाली विकास गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘विगत १२ वर्षदेखि प्रयासरत कम्पनी यस वर्षबाट भने औद्योगिकी करणसहितको योजनामा अघि बढेको हो ।’ बेलबारी नगरपालिका ९ डाँगीहाटका झण्डै दुई सय किसानहरूलाई कम्पनीमा आबद्ध गराउँदै २ सय बिघा जमिनमा खेती गर्ने तयारी भइरहेको उनले बताए । उच्च प्रविधिबाट धान रोप्ने, गोड्ने, हार्भेस्ट गर्ने, सुकाउने र चामल उत्पादन गरेर उपभोक्तालाई बिक्री गर्नेसम्मको काम कम्पनीले गर्नेछ ।

‘चामल उत्पादन हुन थालेपछि अनलाइनमार्फत होम डेलिभरि सिस्टममा मार्केटिङ्ग गर्ने हाम्रो योजना रहेको छ,’ उनले भने, ‘अन्नको भण्डारको रूपमा रहेको प्रदेश १ का झापा, मोरङ र सुनसरीका जिल्लाहरूमा व्यावसायिक रूपमा धान उत्पादन गरेर मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ ।’ यो वर्ष कम्पनीले ‘६४÷४४’ र ‘आइडिया’ जातको धान परीक्षणको रूपमा लगाएको थियो । अन्य जातको तुलनामा धानको उत्पादन राम्रो देखिएकोले आगामी दिनमा सोही जातको धान लगाउने बस्नेतले बताए । परीक्षण उत्पादनका क्रममा वर्षे धान प्रतिबिघा पाँच हजार किलोग्रामका दरले उत्पादन भएको उनले बताए । अन्य धान प्रतिकठ्ठा ४ मनका दरले फल्ने भए पनि यो धान प्रतिकठ्ठा ७ मन फलेको कम्पनीले जनाएको छ । ‘आइडिया’ उपभोक्ताले सर्वाधिक रुचाएको जिरामसिनो जातको धान हो ।

आगामी चैतमा पनि ‘आइडिया’ नामक जिरामसिनो जातको हाइब्रिड धान नै लगाउने कम्पनीको तयारी छ । चैते धानको उत्पादनमा अझ सुधार हुनसक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ । कम्पनीले यसै वर्ष एक हजार मेट्रिक टन चामल स्वाद परीक्षणका लागि उपभोक्तालाई बिक्री गर्ने निर्देशक बस्नेतले बताए । आगामी वर्ष २ सय बिघा खेतमा लगाएको धान कम्पनीले खरिद गर्ने र उपभोक्तालाई गुणस्तरीय चामल बिक्री गर्ने योजना रहेको छ ।

कम्पनीले चैते धानको गुणस्तर खस्किन नदिन चीनबाट दुई वटा ड्रायर ल्याउने तयारी गरिरहेको छ । चिसो धान तत्काल सुकाउनका लागि ड्रायर उपयोगी हुने र १५ हजार मेट्रिक टन क्षमताको गोदाम घर निर्माण गर्ने कम्पनीले जनाएको छ । दुई सय बिघाको उत्पादन अवस्था हेरेर त्यसलाई बिस्तार गरी ५ सय बिघामा औजारीकरणमा आधारित धान खेती गर्ने र आफ्नै राइस मिल स्थापना गर्ने योजना कम्पनीको छ । उसले केही वर्षभित्रै डाँगीहाटको २५ सय बिघा जमिनमा खेती गर्ने लक्ष्यसहित राइस मिल खरिदका लागि आवश्यक परामर्श शुरु गरेको छ ।

‘दुई सय बिघामा हामी परीक्षण उत्पादन गर्छौं सँगसँगै बजारीकरण गर्ने र किसानहरूलाई आधुनिक खेती प्रणालीमा आबद्ध गराउँदै अभियानलाई सार्थक बनाउँछौं,’ कम्पनीका निर्देशक बस्नेतले भने । त्यसबाहेक कम्पनीले विभिन्न ३१ जातको धानको परीक्षण गरिरहेको छ । किसानहरूको सहयोगका लागि कम्पनीकै पहलमा मेघा बैङ्कले कृषि कर्जा लगानी गरिरहेको छ । नेपाल कृषि कम्पनीले जर्मनको बायर कम्पनीले उत्पादन गरेको उन्नत जातको धानको बिउ प्रयोगमा ल्याएको छ । बुद्ध एयरको सामाजिक उत्तरदायित्व वापतको रकम सो कम्पनीमा लगानी भएकोले कम्पनी नाफामुखीभन्दा सेवामुखी हुने बताइएको छ ।

त्यस विषयमा जानकारी दिन आइतबार मुख्यमन्त्री शेरधन राईले हार्भेस्टरको प्रयोग अवलोकन पनि गरे । त्यस क्रममा उनले कम्पनीको माध्यमबाट कृषिको व्यावसायिकीकरण, औजारीकरण र औद्योगिकीकरण गर्ने योजना राम्रो रहेको बताए । उनले किसानहरूलाई बिना सङ्कोच कम्पनीमा आबद्ध भएर उत्पादन बढाउने र उद्यमी बन्ने तर्फ लाग्न आग्रह गर्दै प्रदेश सरकारले पनि कम्पनीसँग आवश्यक सहकार्य र साझेदारी गर्नसक्ने बताए ।

nal-kadhadai-