विराटनगर /  विराटनगर – ४ राजवंशी चौकस्थित अपर्ण स्कूलका शिक्षकले नियमित स्कूल नआएको र फेल भएको भन्दै एक जना विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।
अपर्ण स्कूलका संचालक पनि रहेका शिक्षक निमेष बस्नेतले पानीको पाइपले कक्षा ८ मा अध्ययरत मोरङ बुढीगंगा गाउँपालिका– २ टंकीसिनवारीका १४ वर्षीय रोश्नी भण्डारीलाई निर्घात कुटपिट गरेका हुन् । शिक्षक बस्नेतको कुटाइबाट विद्यार्थी घाइते भएकी छिन् ।
स्कूलले लिएको दोस्रो सेमिस्टरको परीक्षामा फेल भएको र नियमित स्कूल नआएको भन्दै सोमबार दिउँसो शिक्षक बस्नेतले विद्यार्थीलाई पानी पाइपले कुटपिट गरेको पीडित विद्यार्थीको भनाई छ । शिक्षकले पाइपले कुटपिटबाट विद्यार्थी भण्डारीको चाकमा गहिरो चोट लागेको रोश्नीकी आमा पुष्पा भण्डारीले बताइन् । शिक्षकको कुटाइबाट छोरीलाई रातभरी ज्वरो आएको बताइन् । ‘बस्नसम्म हुन नसक्ने गरि छोरीमाथि शिक्षकले कुटपिट गरेको रहेछ । स्कूलबाट घर आउँदा छोरीले रुन्चे अनुहार लाइन् । के भयो ? भन्दा पनि छोरी बोलिनन् । राती सुत्ने बेलामा अफ्टयारो गरि सुत्दा पो घाउँ भयो भन्दै रून थालिन्,’ रोश्नीकी आमा पुष्पाले भनिन्, ‘शिक्षकको कुटाइबाट भएको घाउँले गर्दा रातभरी छोरी सुत्न सकिन् ।

औषधी गरेपछि अहिले अलिक विशेक भएको छ ।’ स्कूलले लिएको परीक्षामा रोश्नीले विज्ञान, स्वास्थ्य र भोकेसनल विषयमा फेल भएको भन्दै शिक्षक बस्नेतलले कक्षा कोठादेखि बाहिर निकालेर पाइपले कुटपिट गरेका थिए । ‘एउटा विषयमा फेल हुँदा सरले २ पटक कक्षा कोठादेखि बाहिर निकालेर पाइपले कुटपिट गर्नुभयो,’ रोश्नीले गहभरी आँसु पार्दै ब्लाष्टखवर भनिन्, ‘तीन वटा विषयमा फेला हुँदा कालो पाइपले ६ पटक चाकमा जोडले पिटनुभयो । कुटाइको दुखाइले कक्षा कोठाको बेन्चमा पनि बस्न सकिन । अहिले पनि मजाले बस्दा दुख्छ ।’ यस अघि पनि शिक्षक बस्नेतले पटक पटक विद्यार्थीमाथि कुटपिट गर्ने गरेको विद्यार्थीहरूको आरोप छ ।
अपर्ण स्कूलका प्रिन्सिपल सुवास विष्टले विद्यार्थीमाथि कुटपीट भएको स्वीकारेका छन् । ‘नियमित स्कुल नआएपछि तर्साउन शिक्षकले कुटपिट गरेको भनेका छन्,’ प्रिन्सिपल विष्टले भने, ‘विद्यार्थीलाई नपिटी पढाउनुहोस भन्दै आएका थियौं । रिसको झोकमा शिक्षकले विद्यार्थीलाई कुटेको थाहा पाएँ ।’ स्कूलका पुरानो अभिभावक भएकोले छलफल गरेर विवाद मिलाउने उनले बताए । पीडितका आफन्त मंगलबार निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्याल मोरङमा उजुरी दिन गएका छन् । उनीहरूले घाउँजाच फारम विराटनगरस्थित कोशी अस्पतालमा भरेर मोरङ प्रहरीमा जाहेरी पनि दिने तयारी गरेका छन् ।