इटहरी/ पछिल्लो समय विदेश पलायन हुने युवाहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । कतिपय युवाहरू विदेशमा गएर कमाइ गर्न सकेका छन् भने कतिपय युवाहरू हण्डर खाई स्वदेश फर्किएका छन् । इटहरी ५ का नेपालकै अग्ला राजन अधिकारी पनि २०६९ सालदेखि कृषिमा भविष्य खोजिरहेका छन् । राजनसँगै ४ जनाको समूहले विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाए पैसा कमाउन सकिन्छ भन्ने उद्देश्यले सामूहिक कृषि व्यवसाय गर्न थालेका छन् । अधिकारीले व्यावसायिक रूपमा कृषि व्यवसाय गर्न थालेका हुन् ।

स्थानीय स्तरका जनतालाई सेवादिने, कृषिमा आत्मनिर्भर बन्ने चाहना रहेको उनीहरू बताउँछन् । इटहरी–५ मा चन्द्र सुर्य मल्टूी प्रपोज एग्रो कृषिफर्मको नामले व्यवसाय शुरु गरेको अधिकारी बताउँछन् । आफूहरूले शुरु गरेको व्यवसायबाट आम्दानी भएको सबै करम व्यवसायमै लागनी गरेको बताउँदै अधिकारीले भने घर खर्च चलाउँदै छु खान, लगाउनलाई कसैको आशा गर्नु पर्दैन उनी भन्छन् ।

दिनानुदिन विदेश पलायन हुने युवालाई विदेश गएर गर्ने दुख आफ्नै माटोमा गरे स्वदेशमा पनि राम्रो कमाइ गर्न सक्ने बताउँदै युवाहरूलाई स्वदेशमै व्यवसायी बन्न आग्रह गर्छन् अधिकारी । स्थानीय सरकारले युवाहरूलाई कृषिलगायतका विषयमा विभिन्न खालका तालिम सञ्चालन गर्ने, युवाहरूलाई व्यावसायिकतर्फ आकर्षण गर्न विभिन्न योजना बनाएर लागे यस क्षेत्रका युवाहरू स्वरोजगार बन्न सक्ने उनले औंल्याए ।

उनले इटहरी–५ स्थित काव्यवाटिका छेउमा डेढ बिघा जग्गा भाडामा लिएर अहिले, टर्की, लेयर्स, लोकल कुखुरा, बट्टाई पाल्दै आएका छन् । गाई र भैंसीबाट राम्रो आम्दानी नभएपछि अहिले फेरि कुखुरातिर लागेको अधिकारी बताउँछन् । बढी उचाइका कारणले बेला बेला बिरामी भइरहने राजनका एक छोरा, एक छोरी र श्रीमती छन् ।

खोटाङको मात्तिम गाविसमा २०३५ सालभाद्र १ मा जन्मिएका राजन अधिकारीको उचाइ ७ फिट ३ इञ्च छ । उनी २०५७ सालमा नेपालकै सबैभन्दाअग्लो व्यक्ति घोषित भएका थिए । राजनअधिकारी जन्मिँदै अन्य बालबालिकाभन्दा अग्लो कदका थिए । उमेर बढ्दै जाँदा उनी असामान्य रूपमा अग्लिँदै गए । परिवारमा चिन्ता थपियो । कतै कुनै रोगका कारण त होइन भन्ने । शङ्का मेट्न राजनका बुबाले उनलाई धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए । रिपोर्ट सामान्य आएपछि यो रोग रहेनछ भन्ने ढुक्क भयो ।

सरकारको बेवस्ता
नेपालकै अग्ला व्यक्ति भनेर नेपालभर चिनिए पनि उनलाई सरकारले अहिलेसम्म केही गरेन । सरकारी पक्षबाट कुनै पनि सहयोग नभएको उनी बताउँछन् । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा २०६८ मङ्सीमा उनका लागि विश्व भ्रमणको अवसर जुटेको थियो । तर, बिडम्बना भ्रमणमा निस्कनु अघि मोटरसाइकल दुर्घटनाले त्यो अवसर गुम्यो उनले भने । त्यस बाहेक अहिलेसम्म मलाई सरकारले कुनै सहयोग गरेको छैन उनी भन्छन् ।

मैले लामो समयदेखि कृषिफर्म गर्दै आए पनि सरकारको अहिले सम्मअनुदान रकम नपाएको उनको गुनासो छ । म अहिले वास्तविक किसान भएको छु तर अहिलेसम्म अनुदानको नाममा एकै रुपैयाँ पाएको छैन उनी भन्छन् । मैले सरकारले तोकेको कृषि ऋणभन्दा अनुदान अहिलेसम्म पाइँन उनी भन्छन् । यहाँ बिचौलीयाहरूकै दबदवा रहेछ अधिकारीले थपे ।

अग्लो हुनुको समस्या
हिँडडुल गर्दा, लत्ताकपडा, बेड(बिस्तारा, साधन–स्रोत आदिमा राजनलाई समस्या छ । ‘सर्ट, पाइन्ट, जुत्ता–चप्पल पनि मैले अर्डर गरेर बनाउनुपर्छ’ राजन भन्छन्, ‘उचाइका कारण हुने फाइदाभन्दा बेफाइदा धेरै छन् ।’ राजनको घरको मोडल सामान्य घरभन्दा फरक छ । ढोकाको उचाई नै ७.५ फिट छ । उनले प्रयोग गर्ने खाट ८ फिटको छ ।

४२ वर्षका राजनको हड्डी केही कमजोर रहेको डाक्टरले बताएका छन् । जसका कारण उनी आफूलाई एकदमै कमजोर महसुस गर्छन् । उनले अहिले डाक्टरको सल्लाहमा क्याल्सियम प्रयोग गरिरहेका छन् । खुट्टाहरू धेरै दुख्न थालेको उनी बताउँछन् । ‘जोर्नीहरू धेरै दुख्न थाले’ उनी भन्छन् । सरकारी मुख ताकेर बस्नुभन्दा आफैंले नै व्यवसाय गरेर जीवन गुजारा गर्न अधिकारीले कृषिफर्म शुरु गरेका हुन् ।