विराटनगर/ बिरामीलाई ठगी गर्ने विराटनगर–९ जहदा रोडस्थित ‘साक्षी मेडिकल हल’ का सञ्चालकहरूलाई जिल्ला अदालत मोरङले ३५ दिने म्याद पुर्जी जारी गरेको छ ।

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा ‘ठगी’ मा फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेपछि अदालतले साक्षी मेडिकल हलका सञ्चालकद्वय सप्तरी बोदेबरसाइन नगरपालिका–६ घर भई विराटनगर बस्दै आएका २५ वर्षीय चन्द्रशेखर यादव र सिरहा सुखीपुर नगरपालिका–९ का ३० वर्षीय निरञ्जन शाक्यलाई अदालतले म्याद पुर्जी जारी गरेको हो ।

३५ दिनभित्र उनीहरू अदालत उपस्थित नभए अदालतले मुद्दाको प्रक्रिया अगाडि बढ्ने सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । औषधि बिक्री गर्ने कामदारलाई मात्र पक्राउ गरेको मोरङ प्रहरीले बिरामीले लगेको औषधिको परिमाण धेरै देखाएर ठगी गर्न निर्देशन दिने सञ्चालकलाई पक्राउ गर्न नसक्दा सरकारी वकिलको कार्यालयमार्फत् फरार प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा ठगीमा मुद्दा दर्ता गरेको थियो ।

अदालतमा भएको थुनछेक बहसले साक्षी मेडिकल हलमा काम गर्ने सुनसरीको इनरुवा नगरपालिकाका १९ वर्षीय सन्तोष मेहतालाई ५० हजार धरौटीमा छोड्न अदालत दिएको छ । शिशिरराज ढकालको इजलासले मेहतालाई धरौटीमा छोड्न गत बुधबार आदेश दिएका हुन् ।

फार्मेसीमा औषधि खरिद गर्न आएका बिरामीले लगेको परिमाणभन्दा बढी देखाएर औषधिको बिक्रीवितरण गर्ने आरोप लागेको सञ्चालक शाक्यको सिरहाको गोलबजारस्थित १२ शøयाको भूमिजा हस्पिटल रहेको छ । शाक्य र यादवको पार्टनरसिपमा विराटनगरमा पनि औषधि पसल खोलेका थिए । उनीहरूकै निर्देशनमा पसलमा आएका बिरामीले खरिद गरेको औषधिको परिमाण बढाएर बिक्री गर्दै आएको अभियोगमा उल्लेख छ ।

सवारी दुर्घटनामा परी न्यूरो हस्पिटलमा भर्ना भएका उदयपुरको त्रियुगा नगरपालिकाका नवराज राईका आफन्तले २ लाखको औषधि खरिद गर्दा करिब २१ हजार ६ सय १४ रुपैयाँ ठगी गरेको खुलेको छ । ती बिरामीले साक्षी मेडिकलबाट ७१ प्रकारका औषधि खरिद गरेका थिए । बिरामीले खरिद गरेको औषधिभन्दा बढी परिमाण देखाएर ठगी गरेको आरोपमा प्रहरीले गत २६ असोजमा मेडिकल हलमा काम गर्ने मेहतालाई पक्राउ गरेको थियो ।