धरान/ पूर्व गोर्खाहरूले पहिलो र दोस्रो विश्वयुद्धमा लडेर वीरगति पाएका युद्धवीरहरूको सम्झना गर्दै धरान–२० विष्णुपादुकास्थित माछामारा डाँडामा निर्माणाधीन ब्रिटिस गोर्खा स्मृति पार्कमा सोमबार पप्पी–डे अर्थात् पुर्खा दिवस मनाएका छन् ।

ब्रिटिस गोर्खा भूपू सैनिक एकता परिवारद्वारा पार्कमा निर्मित गोर्खा स्तम्भमा फूल चढाएर पुर्खा दिवस मनाएका थिए । पूर्व गोर्खा रमेश राईका अनुसार पहिलो र दोस्रो विश्वयुद्धताका हरेक वर्ष नोभेम्बर ११ तारिख ११ बजे ११ मिनेट ११ सेकेण्डमा पप्पी–डे अर्थात् पुर्खा दिवस मनाइने गरिन्छ । वीर गोर्खासँगै जोडिएको पप्पी–डे मनाउने चलन ब्रिटेनबाट सन् १९२१ नोभेम्बर ११ देखि शुरु भएको हो ।

पुर्खा दिवसमा पुष्पगुच्छा चढाइसकेपछि गोर्खा एकता परिवारका अध्यक्ष गजेन्द्र इस्वोले भने, ‘प्रथम विश्वयुद्धताका पश्चिम बेल्जियमको फलन्दर्समा भीषण युद्ध हुँदा सम्पूर्ण मानव बस्तीलगायत प्राणी र सम्पूर्ण रुख, बोट बिरुवा नरहने गरी तहस–नहस भएको थियो । फलन्दर्सको सुन्दर शहर युद्धले भग्नावशेष बनेपछि वीरगति प्राप्त सैनिकहरूको आसपास सैनिकले लगाउने छड्के टोप (टोपी) लगाएर लहरै उभिएका सिपाहीजस्तै राता पप्पी फूल मात्र फुलिरहेको देखिएकाले त्यस फूललाई एक प्रकारको जीवन, आशा, हौसलाको प्रतीक मानेर पप्पी–डे मनाउने गरिएको हो ।’

युद्धमा सहादत भएका वीर सिपाहीको सम्झनामा ‘फ्लावर अफ द फरेस्ट’ र ‘व्हेन द बेटल इज ओभर’ म्युजिकसमेत सिर्जना गरिएको छ । सोही गीतको धुन बजाएर शिर झुकाउँदै पुर्खालाई सम्झने गरिएको छ । सन् १९१९ नोभेम्बर ११ तारिख ११ बजे ११ सेकण्डमा लगभग चार वर्ष लामो प्रथम विश्वयुद्ध औपचारिक रूपमा रोकिएको घोषणा गरिएको थियो । सोही युद्धमा मारिएका वीर सिपाहीहरूको सम्झनामा युरोपमा पहिले ‘आर्मिस्टिक डे’ भनेर मनाउने गरिन्थ्यो । सन् १९३९ सेप्टेम्बर १ देखि सन् १९४५ सेप्टेम्बर २ सम्म चलेको दोस्रो विश्व युद्धपछि उक्त दिनलाई ‘रिमेम्बरेन्स डे’ अर्थात् स्मृति दिवस भनेर मनाउन थालियो । ती युद्धमा गोर्खाहरू पनि शहीद भएकाले हामीले पनि मनाउने चलन बसाएको हो ।

उनकाअनुसार युद्धपछि तत्कालीन क्यानेडियन सैनिक डा.जोनम्क ग्रेस क्यानिदयनले विश्वयुद्धको चोटबाट भावविह्वल हुँदै ‘ल्याइण्डर्स फिल्ड’ भन्ने कविता कोरे जुन अत्यन्त चर्चित बन्यो । सोही कविताले पप्पी फूल वीरगति प्राप्त सैनिकहरूको सम्झनामा लगाइने प्रतीकको रूपमा स्थापित बनेको हो । गोर्खा सैनिकसँगै पप्पी–डे जोडिएकाले आफूले बर्सेनी पुर्खा दिवस मनाउने गरेको गोर्खा स्मृति पार्कका परिकल्पनाकार ७९ वर्षीय पूर्व गोर्खा रमेश राईले बताए ।

राईका अनुसार विभिन्न युद्धमा वीरगति प्राप्त सैनिकहरूको सम्मानमा विश्वभर नोभेम्बर ११ मा पप्पी–डे मनाउने गरिन्छ । राईका अनुसार अमेरिकी नागरिक मोइरा माइकलले युद्धमा सहभागी वीर सिपाहीहरूको सम्मानमा ‘वी श्याल किप द फेथ’ कविता रचिन् । कवितामा प्रत्येक नोभेम्बर ११ तारिख ११ बजे पप्पी फूल पहिरिने वाचा गरिएको छ ।