विराटनगर ।  निलम्बन प्रहरी जवानलाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण विशेष ब्यूरो टोलीले धरान उपमहानगरपालिका – ६ का २८ बर्षीय सन्तोष तामाङलाई मंगलबार दिउँसो अवैध लागूऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङ्ग निलम्बन प्रहरी जवान हुन् । उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय धनकुटा रहेको प्रहरीले जनाएको छ । लागूऔषध ब्यूरो टोलीले विशेष सुराकीको आधारमा भारतको जोगवनीमा लागूऔषध सेवन गरि १५ ट्याब्लेट नाईट्रोसन लागूऔषध ल्याउने क्रममा पक्राउ गरिएको हो ।

लागुऔषधसहित तामाङ्गलाई विराटनगर भन्सार कार्यालयको १ नम्बर डाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी राजकुमार खिउँजुले जानकारी दिए । को १३ प ५०६४ नम्बरको मोटरसाईकलमा तामाङ्गले लगाएको हेलमेट भित्र लुकाएर लागूऔषध ल्याउँदा प्रहरीले पक्राउ गरेको थियो ।

लागूऔषध सेवन गरेर डियुटिमा खटिएको चाल पाएपछि तामाङ्ग निलम्बनमा परेका थिए । कुलतमा फसेका तामाङ्ग निलम्बनमा परेपछि अवैध लागूऔषधको ओसारपसारमा लागेका हुन् । पक्राउ परेका तामाङ्गलाई जिल्ला अदालत मोरङमा म्यात थप गरि इलका प्रहरी कार्यालय रानी विराटनगरमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी खिउँजुले जानकारी दिए ।

लागूऔषध ब्यूरो टोलीले यस अघि पनि डिभिजन वन कार्यालय उदयपुरको मोटरसाइकल प्रयोग गरेर भारतको जोगवनीबाट लागुऔषधको ओसारपसार हुने गरेको पाइएको थियो । लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका १५ रानीबाट सप्तरी राजविराज नगरपालिका २ राजदेव टोल घर भएका २६ वर्षीय कपिल यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।