धरान / गत भदौं २० गते राती धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम बिष्फोट गराउने कार्यमा संलग्न तीन जना विप्लपका जिल्ला स्तरीय कार्यकर्ता पक्राउ परेका छन् ।

सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमती आदेश प्राप्त गरि १ नं. प्रदेशकाे  प्रदेश प्रहरी कार्यालय, क्षेत्रिय अनुसन्धान समुह बिराटनगर र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले हिजो पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । 

पक्राउ पर्नेहरुमा ने.क.पा.माओबादी (बिप्लब समुह)सुनसरी जिल्ला सेक्रेटरी, सुनसरीको दुहवी–८ का  ३१ बर्षीय मोहन बस्नेत, ने.क.पा.माओबादी (बिप्लब समुह) युवा संगठन सुनसरी जिल्ला सम्योजक, भोजपुर ट्याम्के मैयुङ–२ का ३५ बर्षीय सागर राई र ने.क.पा.माओबादी (बिप्लब समुह)  सुनसरी जिल्ला सदस्य, धरान–११ का ३९ बर्षीय सुरेशकुमार राईरहेका छन् । बस्नेतलाई इटहरी र अन्यलाई रामधुनी–६ बाट पक्राउ गरिएको हाे । उनिहरूकाे साथबाट ६ थान माेबाइल, ४ पाना सहयाेग रसिद र काे ४ प ६५९ नम्बरकाे माेटरसाइकल बरामद गरेकाे कार्यालयले जनाएकाे छ । 

उनीहरुलाई जिल्ला अदालतबाट आजै म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।