विराटनगर/ स्कुलले लिएको परीक्षामा फेल भएको भन्दै विराटनगर–४ राजवंशी चौकस्थित अर्पण बोर्डिङ स्कुलका शिक्षक तथा सञ्चालक निमेष बस्नेतले निर्घात कुटपिट गरेको एक छात्रालाई निःशुल्क पठन–पाठन र घरमा पुगेर सार्वजनिक रूपमा माफी मागेपछि दुवै पक्षबीच सहमति भएको छ ।

पीडित पक्षको घरमा पुगेर शिक्षक बस्नेतले माफी र पीडितलाई कक्षा १२ सम्म निःशुल्क रूपमा पठन–पाठन गरिदिने प्रतिबद्धता जनाएपछि बुधबार दुवै पक्षबीच सहमति भएको हो । नियमित स्कुल नआएको र स्कुलले लिएको परीक्षामा तीनवटा विषयमा फेल भएको भन्दै मोरङ बूढीगङ्गा गाउँपालिका–२ टङ्की सिनवारीकी रोशनी भण्डारीलाई शिक्षक बस्नेतले सोमबार पाइपले निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट भण्डारीको कम्मरदेखि मुनिको भागमा गहिरो चोट लागेको छ ।

कुटपिट गर्ने शिक्षक घरमा आएर माफी माग्दै आउँदो दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएपछि सहमति भएको रोशनीकी आमा पुष्पा भण्डारीले बताइन् । ‘आवेगमा आएर एक पटकलाई गल्ती भयो भन्दै कुटपिट गर्ने शिक्षकले माफी माग्दै घरमा आउनुभयो’ उनले भनिन्, ‘आउँदा दिनमा यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएपछि हामीले माफी दिएका छौं ।’ स्कुलमा लठ्ठी र पाइपले कुटपिटमा पूर्णरूपमा प्रतिबन्ध लगाएको पनि बताइएको छ ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा मङ्गलबार साँझ घाउजाँच फारम भरेर कुटपिट गर्ने शिक्षकविरुद्ध उजुरी दिएका थिए । पीडित र पीडकबीच सहमति भएपछि बुधबार जिप्रका मोरङमा उजुरी फिर्ता लिन पुगेका थिए । तर, प्रहरीले घाउ ठीक नभएसम्म सहमति नहुने भन्दै दुवै पक्षलाई बुधबार साँझ घर पठाइदिएको छ ।

school1