धरान/ प्रदेश नं.१ सरकारले महत्वाकांक्षी कार्यक्रमका रूपमा धरानमा आयोजना गर्न लागेको धरान चलचित्र महोत्सव स्थगित भएको छ ।

कात्तिक २९ देखि मङ्सिर २ सम्म हुने तयारी गरिएको महोत्सव निर्वाचन आचार–संहिताका कारण अन्तिम अवस्थामा आएर नहुने भएको हो । निर्वाचन आयोगले कात्तिक ८ गतेबाट निर्वाचन आचार–संहिता लागू गरेको थियो । सो आचार–संहिताको पहिलो बुँदामै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले कात्तिक ८ देखि निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुनेसमेत व्यवस्था गरिएको छ । तर प्रदेश सरकार र स्थानीय तहले आचार–संहिता ख्याल नगरी कार्यक्रमको तयारी गर्दा अनावश्यक खर्च भएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र धरान उपमहानगरपालिकाको सह–आयोजनामा हुन लागेको महोत्सवको तयारीका लागि धरानमा मात्र करिब १५ लाख खर्च भइसकेको उपमहानगरपालिकाका सूचना अधिकारी खगेन्द्रप्रसाद खतिवडाले बताए । उनका अनुसार महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी गरिएको थियो । धरानमा उपनिर्वाचन हुने र निर्वाचन आचार–संहिता लागू भइसकेको अवस्थामा सह–आयोजकसमेत रहेको धरान उपमहानगरपालिकाले किन आचार–संहिता ख्याल गरेन ? भन्ने प्रश्नमा उपमहानगरपालिकाका सूचना अधिकारी खगेन्द्रप्रसाद खतिवडा भन्छन्, ‘मलाई त जे गर भन्यो त्यही गर्ने हो । यसको जवाफ मसँग छैन ।’

चारदिने महोत्सवका लागि धरान सभागृहको बाहिर भव्य मञ्च निर्माण गरिएको थियो भने स्वागतद्वार र अन्य आवश्यक संरचना बनाइएको थियो । त्यस्तै विराटनगर विमानस्थलदेखि धरानसम्म विभिन्न स्थानमा ठूला होर्डिङ बोर्ड राखिएका थिए भने बजारमा पोष्टर, पम्प्लेट टाँसिसकिएको थियो । आमन्त्रित अतिथिहरूका लागि टिकटसमेत काटिएको थियो । महोत्सवको व्यवस्थापन सहयोग समितिका सदस्य–सचिव अरुण प्रधानका अनुसार करिब ५० जना चलचित्रकर्मी धरान आउने तयारीमा थिए । अतिथि तथा सम्मानित कलाकारलाई निमन्त्रणा गर्न काठमाडौं पुगेका उनले फोनमा भने, ‘कार्यक्रमका लागि सबै तयारी पूरा भएको थियो । २० लाखभन्दा बढी खर्च भइसकेको थियो तर आचार–संहिताका कारण अन्तिम अवस्थामा स्थगित भयो ।’

स्वीस सहयोग नियोगको सहयोग र हिमाल एसोसिएसनको व्यवस्थापनमा हुन लागेको महोत्सवका लागि किम्फले २१ चलचित्र छनोट गरेको थियो भने स्थानीय ८ वटा चलचित्र पनि प्रदर्शन गर्ने तयारी गरिएको थियो । आयोजकले डेढ दर्जन चलचित्रकर्मीलाई सम्मान गर्ने कार्यक्रमसमेत राखेको थियो । आयोजकले केही दिनअघि सुनसरी उद्योग वाणिज्य सङ्घ धरानमा गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले धरानमा हुने चलचित्र महोत्सव अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका रूपमा आयोजना हुने र यसलाई भव्य बनाउने तयारी गरिएको बताएका थिए ।

प्रदेश सरकारका मुख्य सचिव सुरेश अधिकारीले पनि महोत्सवका लागि भव्य तयारी भइरहेको बताएका थिए । तर धरानमा पत्रकार सम्मेलन तथा अन्तरक्रिया भएको २ दिनपछि कात्तिक २६ मा मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘निर्वाचन आचार–संहिता धरान उपमहानगर क्षेत्रमा समेत लागू हुने भएका कारण हाललाई स्थगित गरिएको’ उल्लेख गरेको छ । मुख्य सचिव अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा महोत्सवको नयाँ मिति पछि अवगत गराइने जनाइएको छ ।