‘खै हो, मधुमेह लागेको आठ महिना भयो, औषधि पनि खाँदै थिएँ, चिनी त निकै बढेछ, खानपिन राम्ररी बारिएन। एक पटक यहाँ पनि जाँचौं भनेर आएको । साठी पैसठ्ठी वर्ष पनि नाघिँदैन जस्तो छ, गारो छ हौ मलाई ।’ रगत जाँचका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उभिएका बिर्तामोडबासी एकचालीस वर्षीय युवाको भनाइ हो यो । त्यस्तै गरी लाममा उभिएका दमक निवासी पचास वर्षीय अर्का एक व्यक्तिको भनाइ यस्तो थियो ‘पहिले काम साम थिएन, मन परेको खानेकुरा खाने चाहना हुन्थ्यो, पैसा नभएकोले किनेर खान सकिएन, कस्तो नराम्रो लाग्थ्यो ।

अहिले आफूलाई मन परेको खानेकुरा किनेर खान सक्ने भएको छु, राम्रो कमाइ छ, तर खाने चाहना हुँदाहँुदै म खान सक्दिनँ किनकि मलाई मधुमेह भएको छ ।उफ † यो मेरो कस्तो विडम्बना, कस्तो विवशता ।’ ‘म भर्खर अट्ठाइस वर्षको भएँ । घरमा ससाना दुई सन्तान छन् । मोटो मान्छेलाई मात्र मधुमेय लाग्छ भनेको सुनेको थिएँ, म पातलो मान्छेलाई पनि लाग्यो । मधुमेह लागेको थाहा पाएपछि म अलग्गै सुत्न थालेको छु किनकि मेरो यो रोग मेरी प्रिय पत्नीलाई नसरोस् भन्ने चाहन्छु । कस्तो जिन्दगी यो, शत्रुलाई पनि नलागोस् यस्तो रोग ।’ लाममा उभिएका अर्का एक व्यक्तिले निकै निरास हुँदै अँध्यारो अनुहार पार्दै भने ।

दक्षिणपूर्वी एशियामा उग्र रूपमा फैलदै गएको रोग हो मधुमेह, अर्थात् चिनीरोग । मधुमेहलाई पहिले पहिले मोटा मानिस, धनी व्यक्ति र पाको उमेरका व्यक्तिलाई मात्र लाग्ने रोग भनिन्थ्यो । तर, अहिले अवस्था अर्कै भइसकेको छ । युवाहरूलाई समेत यो रोगले गाँज्न थालेको छ । बीस वर्षको उमेरमा जे जति खाइन्थ्यो, त्यति नै मात्रामा चालिस पचास वर्षको उमेरमा समेत अनियन्त्रित रूपमा खाँदा, शारीरिक श्रम नहुँदा, जुनसुकै उमेरका व्यक्तिले विलासी जीवन जिउन खोज्दा, बढी तनाव लिने गर्दा, पिता पुर्खामा यो रोग भएमा यो रोग लाग्ने गर्दछ । तर, यो रोग एचआइभी जस्तो गरी पति वा पत्नीमा भने पटक्कै सर्दैन ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार दक्षिण पूर्वी एशियामा करिब ९१ मिलियन मानिसहरू मधुमेहबाट पीडित छन् भने करीब ४९मिलियन मानिसहरू आफ्नो अवस्थाबारे अनभिज्ञ छन् ।अन्तर्राष्ट्रिय मधुमेह महासङ्घका अनुसार सन् २०१७मा नेपालमा ११,६९३ व्यक्तिको मधुमेयबाट निधन भयो । सन् २०१७ सम्ममा नेपालमा ६,५७,२०० मानिसहरू मधुमेहबाट पीडित भएका थिए भने तीमध्ये धेरैजसो टाइप २ मधुमेहबाट ग्रसित थिए ।

के हो मधुमेह ?
अत्यधिक व्यक्तिहरूलाई चिनी रोगले गाँजिसकेको छ । यही चिनी रोगलाई मधुमेह (म्ष्बदभतभक) भनिन्छ । चिनी रोगको परिचय प्रायः सबैले पाइसकेका छन् । चिनी रोग नभएका व्यक्तिहरू थोरै मात्रामा भेटिने अवस्था सिर्जना हुँदैछ । चिनी रोगी भएर यस रोगलाई प्रत्यक्ष अनुभव गर्नेहरूलाई यसको विषयमा लामो परिचय दिनु आवश्यक छैन । सञ्चारमाध्यमद्वारा पनि बेलाबखत चिनी रोगका विषयमा पनि विभिन्न लेखहरू प्रकाशन भइरहेका छन् जसले गर्दा चिनी रोगका विषयमा धेरै परिचय दिनु त्यति आवश्यक नपर्ने भएता पनि थाहा नपाउनेहरूका लागि सङ्क्षिप्त परिचय दिनु यहाँ सान्दर्भिक ठहरिन सक्छ ।

यो रोग लागेपछि बिस्तारै बिस्तारै शरीरका अङ्गहरू, शारीरिक प्रक्रियाहरू थाहै नपाइ बिग्रँदै जाने हुनाले नै यसलाई मधुमेह भन्ने गरेको हुनुपर्दछ । यो रोग लागेपछि अन्य रोगहरू प्नि लाग्ने हुन्छ । कतिपय व्यक्तिहरूलाई चाँडै भोक लाग्नु, अनायासै तौल घट्नु, थकान महसुस हुनु, हातखुट्टा झमझमाउनु,पोल्नु, तीर्खा लाग्नु, क्षणक्षणमा पिसाब लाग्नु, पिसाबमा कमिला घेरिनु, चाँडै घाउ खटिरा निको नहुनु , यौनाङ्ग चिलाउनु, मुख सुक्नु, रगत या पिसाबमा चिनी देखा पर्नु आदि जस्ता यसका सामान्य लक्षणहरू देखा पर्न सक्छन् भने कतिपय व्यक्तिहरूमा कुनै लक्षण देखा नपर्न पनि सक्छ ।

यो रोग लागिसकेपछि उच्चरक्तचाप पनि हुने सम्भावना धेरै बढ्छ । चिनीलाई बेलामैं नियन्त्रण गर्न नसकिएमा मधुमेहका रोगीहरूमा जोखिमपूर्ण समस्याहरू उत्पन्न हुन सक्छन् । ती हुन्– आँखामा क्षति पुग्ने(दृष्टि पनि कमजोर हुने), मिर्गौला फेल हुने, मुटु सम्बन्धी समस्या , हृदयघात, पक्षाघात, रक्तनली खुम्चँदै जाने, हातखुट्टा कुहिने, नशा सम्बन्धी समस्या हुने आदि जस्ता विकराल अवस्था उत्पन्न हुन सक्दछन् । यदि रगतमा अत्यधिक मात्रामा चिनी बढेको छ र समुचित उपचार पद्धति अपनाइएको छैन वा औषधि उपचार गरिएको छैन भने त्यस्ता व्यक्तिहरू अकाल मैं मृत्यु शैøयामा पनि पुग्न बेर लाग्दैन । त्यसैले यस रोगप्रति लापरवाही पटक्कै गर्न मिल्दैन । कतिपय व्यक्तिहरूले मधुमेहलाई सामान्य रूपमा लिन्छन् र उपचार गराउनतिर लाग्दैनन् । यस सन्दर्भमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीको भनाइ उद्धृत गर्नु उपयुक्त हुन्छ –‘रक्तचाप अलिकति बढ्दा दौडिएर डाक्टरकहाँ जँचाउन आउने व्यक्तिहरूमध्ये धेरै जसोले मधुमेह भएको थाहा पाएर पनि उपचार गराउनेतर्फ सचेत भएको पाइँदैन।” (ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिक २०६९।०१।०१)

साधारणतया सामान्य स्वस्थ अवस्थामा हामीले खाने विभिन्न खानेकुराहरू पाचनको प्रक्रियापछि ग्लुकोजमा परिवर्तन भई रगतको माध्यमबाट सम्पूर्ण शरीरका कोषहरूमा प्रवेश गर्दछ । हाम्रो शरीरभित्र रहेको प्यान्क्रियाज (एबलअचभबक) भन्ने एक प्रकारको ग्रन्थीबाट निस्कने ‘इन्सुलिन’ भन्ने हर्मोनको सहायताले ग्लुकोज शक्तिमा परिवर्तन हुन्छ । आवश्यक शक्तिहरू तुरुन्त कोशिकाहरूले प्रयोग गर्छन्, अनावश्यक ग्लुकोज (शक्ति ) पछिको लागि कलेजोमा सञ्चित रहन्छ (साधना, २०५८) । तर प्यान्क्रियाजबाट निस्कने इन्सुलिनको पूर्णतया अभाव वा इन्सुलिनको प्रभावकारिता नभएको अवस्थामा रगतमा भएको ग्लुकोज (चिनी) लाई कोशिकाहरूले शक्तिका लागि प्रयोग गर्न सक्दैनन् र रगतमा चिनी (ग्लुकोज) जम्मा हुन थाल्दछ । चिनी बढी भएको अवस्थामा रगत र पिसाबमा चिनी देखा पर्न थाल्छन् र विभिन्न लक्षणहरू पनि व्यक्तिहरूमा पनि देखा पर्न थाल्दछन् । तर, कतिपय व्यक्तिहरूले ती लक्षणहरूप्रति ध्यान नदिँदा मधुमेह भएको चाल पाउँदैनन् र समस्यामा क्रमशः पर्दै जान्छन् । कतिपय अवस्थामा लक्षणहरू नदेखिन पनि सक्दछन्। यसैले रोग लागे पनि नलागे पनि सम्भव भए छ÷छ महिनामा नभए वर्षमा एक पल्ट अनिवार्य रूपले स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।

किन हुन्छ मधुमेह ?
हालसम्म यही कारणले मधुमेह हुन्छ भन्ने ठोस कारणहरू पत्ता नलागे पनि प्रायःजसो उचित आहार विहार, समुचित व्यायामको अभाव, शारीरिक अवयवहरूको असक्षमता आदिले गर्दा मधुमेह रोग लाग्ने गर्दछ । स्वादे जिब्रो,अल्छे तिघ्रो भन्ने उखान यहाँ उपयुक्त हुन्छ । अत्यधिक मात्रामा जे मन प¥यो त्यो खाने, खान नहुने पनि खाने, व्यायाम नगर्ने, आफ्नो शरीरले पचाउन सक्छ कि सक्दैन भनेर ख्याल नगर्ने, कार्वोहाइड्रेट युक्त खानेकुरा बढी लिने, गुलिया पदार्थको बढी उपभोग गर्ने, चिप्लो चाप्लो, रातो मासुको सेवन ज्यादा गर्ने, जङ्क फुड धेरै खाने आदि जस्ता बानीले मधुमेह मात्र होइन, अन्य रोगहरू प्नि निम्त्याउन भूमिका खेल्दछ । आफ्ना आमाबुवालाई मधुमेह छ भने सन्तानमा सर्ने सम्भावना पचास प्रतिशत हुन्छ तर वंशजमा यो समस्या नभए पनि शुद्घ खानेकुराको अभाव, खानेकुरामा विभिन्न हानिकारक रसायनहरूको बिगबिगी,उचित आहारविहार र व्यायामको अभावले गर्दा पनि यो अन्यमा समेत देखा पर्न थालिसकेको छ र यो बढ्ने क्रममा छ । गलत जीवनशैलीले गर्दा अहिले यो जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई लाग्न थालेको पाइन्छ ।

मधुमेहका किसिमः
सामान्यतया मधुमेह तीन किसिमको हुन्छः टाइप वन, टाइप टु र सुत्केरीमा हुने मधुमेह ।
टाइप वन : यसमा इन्सुलिन उत्पादनको अभाव हुन्छ । जीवन यापनका लागि इन्सुलिनको सुइ लिनुपर्ने हुन्छ । विशेष गरी बच्चाहरूमा टाइप वन मधुमेह देखिन्छ । डा.सूर्य पराजुलीका अनुसार एक स्वस्थ व्यक्तिको शरीरमा दैनिक ४०–५० इन्टरनेशनल युनिट इन्सुलिन उत्पादन हुने गर्दछ (ब्लाष्ट टाइम्स,०६९।०९।२८) यस प्रकारको रोग करिब पाँच प्रतिशतमा देखिन्छ ।
टाइप टु : यसमा इन्सुलिन उत्पादन हुन्छ तर शरीरले उपयोग गर्न सक्षम हुँदैन । विशेष गरी मोटा व्यक्तिहरूलाई यो रोग लाग्दछ । यो अचेल बच्चाहरूमा पनि देखिन थालेको छ । म्धुमेय रोगीहरूमध्ये करिब ९५ प्रतिशतमा टाइप टु मधुमेय देखा पर्दछ ।
सुत्केरीमा हुने मधुमेह : सुत्केरी अवस्थामा पनि कुनै कुनै महिलालाई मधुमेह हुन सक्दछ । त, यो टाइप १ र टाइप २ जस्तो प्रायः जटिल हुँदैन ।

डा.अंशुमाली जोशीका अनुसार खाली पेटमा १०० mg देखि १२५ mg, dl सम्म र खाना पछिको १२६ mg dl देखि १९९ mg dl सम्मको अवस्थालाई मधुमेह हुन लागेको अवस्था भनेर बुझिनुपर्छ र खाली पेटमा १२६ mg dl  भन्दा माथि र खाना पछि २०० mg dl  भन्दा माथि सुगर लेभल भएमा मधुमेहको रोगी मानिनेछ । जसले जे जस्तो भने पनि मधुमेह लागेको थाहा पाएपछि सम्बन्धित चिकित्सकको राय सुझाव,औषधि उपचार अनिवार्य रूपमा लिनु नै पर्दछ, लापरवाहीले ज्यान जान पनि सक्दछ । मधुमेह रोगीले आफ्नो रक्तचाप, मृगौलाको कार्य प्रणली, कोलेस्टेरोल र एचबिएवनसी पनि समय समयमा जँचाइरहनु पर्दछ । प्र.डा.सञ्जीव शर्माका अनुसार एचबिवनसी जाँच्दा खानासँग सम्बन्धित भएको फास्टिङ्गर पीपीको जस्तो हुँदैन । यसमा विगत ३ वा ४ महिनामा चिनीको मात्रा कति थियो भन्ने हेरिन्छ र यसलाई ७ प्रतिशत भन्दा कम राख्नुपर्छ (ब्लाष्ट टाइम्स,०६९।०७।२८)

दृढ निश्चयका साथ नियमित व्यायाम(नभए कम्तीमा दिनहुँ ६० मिनेटको छिटो हिँडाइ), उचित खानपान, स्वस्थ जीवन शैली, नियमित स्वास्थ्य परीक्षणले यसलाई केही मात्रामा नियन्त्रण गर्न सकिन्छ । मधुमेह लागेपछि उचित औषधि उपचारको आवश्यकता पर्दछ । अन्तमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीको भनाइ राख्नु उपयुक्त । उहाँ भन्नुहुन्छ, ‘करेला, निमको पात, लौकाको रस खाएर अनि योग र प्राणायाम गरेर मात्र मधुमेह ठीक नहुन सक्छ । यसैले विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार उपचार गराउनुपर्दछ ।’