सरकारले विद्यालयहरूलाई बालमैत्री बनाउने नीति ल्याएको निक्कै समय भयो । तर, विद्यालयमै विद्यार्थीहरू निर्घात कुटिएका, शिक्षकको पिटाइबाट विद्यार्थी घाइते भएका घटना रोकिएका छैनन् । विद्यालयहरूलाई छडीरहित बनाउने, बालबालिकालाई त्रासरहित वातावरणमा पढ्न पाउने व्यवस्था गरिने भनेर सरकारका अधिकारीहरूले पटक पटक बोल्ने गरे पनि विद्यालयहरूमा यातना दिने क्रम नरोकिनु दुखद् कुरा हो । हालै मात्र विराटनगर ४ राजवंशी चोकमा रहेको अर्पण स्कुलका शिक्षक निमेष बस्नेतले कक्षा ८की १४ वर्षीया विद्यार्थी रोशनी भण्डारीलाई फेल भएको भन्दै पाइपले पिट्दा उनी घाइते भएको सार्वजनिक भएको छ । पाईपले पिट्दा गहिरो चोट लागेकी विद्यार्थीलाई पिटाइकै कारण ज्वरो आएको र बस्नसम्म नसक्ने अवस्था रहेको परिवारले बताएको छ । विद्यालय पक्षले कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुको साटो शिक्षकको बचाउ गर्दै नियमित विद्यालय नआएका कारण तर्साउन पिटिएको जनाएको छ ।

विश्वमै भयरहित शिक्षाको अवधारणा आइरहेका बेला हाम्रा विद्यालय र शिक्षकहरू भने अझै पनि विद्यार्थीलाई डर देखाएर, तर्साएर पढाउनुलाई राम्रो मान्छन् । यो उनीहरूको अज्ञातना बाहेक केही होइन । विश्वमा भएका विभिन्न अनुसन्धानहरूले बालबालिकालाई पिटेर, तर्साएर होइन माया गरेर, नबुझेको कुरा बुझाउन सकिने देखाएका छन् । विद्यार्थीहरूलाई पिट्नुको साटो फकाएर, माया देखाएर सही बाटोमा हिंडाउन सकिन्छ भन्ने मान्यता नबुझ्दा पटक पटक यस्ता समस्या आउने गरेका छन् ।

बालमैत्री शिक्षा लागु गर्ने सरकारी नीति भए पनि लगातार शिक्षकहरूबाट बालबालिका माथि कुटपिट, दुव्र्यवहार भइरहेका घटनाले नेपालको शिक्षा नीतिको पालना गर्ने र गराउनेहरू माथि नै प्रश्न उठ्छ । नीति जति राम्रो भए पनि त्यसको सही कार्यान्वयन हुन नसके त्यसले फाइदा गर्दैन भन्ने कुरा यस्ता घटनाले पुष्टि गर्छन् । बाना बालबालिकालाई तर्साएर ज्ञान बढाउन सकिन्छ भन्नु शिक्षकको मुर्खता बाहेक केही होइन । त्यसैले विद्यार्थीमाथि कुटपिट गर्ने त्यस्ता शिक्षकहरू माथि कडा कारबाही गरिनुपर्छ । बालबालिकाले निर्भयतापूर्वक पढ्न, लेख्न पाउन आवश्यक छ । राम्रो शिक्षा दिन सकेमात्र विद्यार्थीले भोलिका दिनमा शिक्षकलाई गुरु, अभिभावकका रूपमा आदर गर्छन् । नत्र शिक्षकलाई डर, त्रासका रूपमा बुझेसम्म न उनीहरूले शिक्षकप्रति सद्भाव राख्न सक्छन्, न त पढाइमा लगनशीलता बढ्छ । अतः शिक्षकले विद्यार्थीलाई कुट्ने, तर्साउने होइन माया गरेर पढाउने वातावरण बन्नु आवश्यक छ । त्यसका लागि शिक्षकहरूलाई प्रशिक्षण दिनेदेखि अटेर गर्नेलाई कडा कारबाही गर्न सरकार पछि हट्नु हुँदैन ।