भण्टाबारी/ भारतले नेपाली भू–भाग मिचेको भन्दै सुनसरी सदरमुकाम इनरुवास्थित सुनसरी बहुमुखी क्याम्पस इनरुवाका विद्यार्थी सडकमा उत्रिएका छन् । भारतले प्रकाशित गरेको आफ्नो नक्सामा नेपाली भू–भाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र हडपेको भन्दै बुधबार विद्यार्थीहरूले इनरुवामा प्रदर्शन गरेका हुन् ।

स्वतःस्फूर्त रूपमा सुनसरी क्याम्पसका विद्यार्थीहरूले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा स्थानीय युवाहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले भारतीय विस्तारवाद मूर्दावाद, गो ब्याक्क इण्डिया, भारतीय दादागिरी चल्दैन, नेपाली भू–भाग मिच्न पाइँदैन, एकतर्फी नक्सा खारेज गरसहितका नारा लगाएका थिए । सुनसरी क्याम्पसबाट निस्केको विद्यार्थीको विरोध प्रदर्शन इनरुवाका विभिन्न स्थानको परिक्रमा गर्दै बस चौकमा कोणसभामा परिणत भई सम्पन्न भएको थियो ।

कोणसभामा बोल्दै स्थानीय विद्यार्थी नेता सेराज हुसेनले भारतीय विस्तारवादको विरुद्ध विद्यार्थी सडक उत्रिएको बताए । भारतले एकतर्फी रूपमा प्रकाशित गरेको नक्सा मान्य नभएको बताउँदै भारतले यथाशीघ्र माफी माग्दै नक्सा सच्याउनुपर्ने उनले बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी मिकाइल आलमले कुनै देशको विरुद्ध सडकमा उत्रिनु रहर नभई बाध्यता भएको जनाउँदै भारत सरकारले नेपालसँगको सम्बन्ध बिग्रन नदिनेमा आफू आशावादी रहेको बताए । भारतको तुलनामा नेपाल कमजोर भए पनि राष्ट्रियताको सवालमा सबै नेपाली एकजुट भई सरकारको पक्षमा रहेकोले वर्तमान सरकारले कूटनैतिक पहलबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै इनरुवाका धीरज भट्टराईले राष्ट्रियताको विषयमा नेपाली जनतासरह नेपाली राजनीतिज्ञ पनि उत्तिकै संवेदनशील हुनुपर्ने बताए । कोणसभामा बोल्ने विद्यार्थी अल्बिना प्रवीण, विकास नेपाल, फारुक आलमलगायतले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भू–भाग भएकोले तत्काल फिर्ता गर्नुपर्ने बताए ।