धरान/ सुनसरीमा गतवर्षको तुलनामा बलात्कारका घटना बढ्नुलाई मनोचिकित्सक र समाजविज्ञानीहरूले सामाजिक विचलनको सङ्केत भएको बताएका छन् । उनीहरूले समाज र परिवारमा जघन्य अपराध मानिने बलात्कार घटना बढ्नुलाई सामाजिक पारिवारिक सांस्कृतिक उद्दण्डता र उच्छृङ्खलता बढेको सङ्केत मानेका छन् ।

सुनसरी जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि दर्ता भएका उजुरीको आधारमा आर्थिक वर्ष ०७४/७५ को तुलनामा आ.व. ०७५/७६ मा ७० प्रतिशतले बलात्कारको घटना बढेको छ । जिप्रकाबाट प्राप्त तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७४/७५ मा सुनसरीमा ६३ बलात्कारका घटना भएका थिए भने ३६ बलात्कार प्रयास भएको उजुरी परेका थिए । तर आ.व. ०७५/७६ को साउनसम्ममा एकाएक बढेर १ सय ५ बलात्कारका घटनार २२ बलात्कार प्रयासका घटना दर्ता भएका छन् ।

जिल्लाका डिएसपी विनोद शर्माका अनुसार गत साउन यतामात्र सुनसरीमा २२ जना महिला तथा बालिका बलात्कृत भएको र ६ जनामाथि बलात्कार प्रयास भएको छ । डिएसपी शर्माका अनुसार साउनमा ८ जबर्जस्ती करणी र ३ करणी उद्योग, भदौमा ४ जबर्जस्ती करणी र ३ करणी उद्योग, असोजमा ७ जबर्जस्ती करणी र कात्तिक दोस्रो सातासम्ममा तीन जबर्जस्ती करणीका उजुरी रहेका छन् ।

समाजशास्त्री विज्ञान शर्माले समाजमा अचाक्ली बलात्कारका घटना बढ्नुमा पुरुषले महिला र बालिकाप्रति सोच्ने धारणा मुख्य कारण हुनसक्ने बताए । उनले समाजमा बलात्कार बढ्नुमा एउटैमात्र कारण जिम्मेवार नहुने बताए । उनले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म समाज र परिवारमा बलात्कारका घटनामा कमी नआउने बताए । उनले भने, ‘पछिल्लो समयमा समाज झन्–झन् जटिल बन्दै गएको छ । समाज जटिल भएको अवस्थामा समाजमा बढी बलात्कार, हत्या–हिंसाजन्य घटनामा वृद्धि हुने गर्छ । बलात्कार बढ्नुमा समाज नै मुख्य जिम्मेवार छ ।’

उनले बलात्कारका घटना वृद्धि हुनुमा बर्तमान समयमा समाज, विद्यालय, शिक्षक, अभिभावक, सामाजिक अभियन्ता, रोलमोडलहरूले आजको पुस्तालाई के सिकाउँदै छन् भन्ने देखाएको बताए । उनले भने, ‘बलात्कारी पुरुषले आफूभित्रको विकृत यौन विचलनको शिकार बनाउन आफूभन्दा कमजोर ठानेको महिला बालिकालाई लक्ष बनाउने र उसका लागि सबैभन्दा कमजोर शिकार आफ्नै घरको बालिका वा छोरी, नाति–नतिना वा भाञ्जी वा भतिजी हुनसक्छन् ।’

समाजशास्त्रले बलात्कारी अति संदिग्ध, एक नरपिसाच भएको, पीडितले सधैँ चिनेका, सुख–दुःखका कुरा गरिटोपल्ने, कलिला बालिकाहरूलाई माया देखाउने बहानामा अँगालो हाल्ने, संवेदनशील अङ्ग छुने चलाउने, क्याटवरी, चकलेट वा अन्य उपहार दिने कोही हुनसक्ने जनाएको छ । उनले सामाजिक र नैतिक मूल्य मान्यताको आधारमा आचरण कायम गरेर नयाँ पुस्तालाई सामाजिक र पारिवारिक मूल्य मान्यताको महत्व बुझाउँदै सामाजिकीकरणमा जोड दिनुको विकल्प नभएको बताए ।

समाजशास्त्री शर्माले भने, ‘बलात्कारका घटनापछि पनि कानूनबाट उम्कने अनेक प्वाल बनाइएका छन् । कतिपयले तर्क गर्ने ‘राम्रा’ कानून व्यवसायीको भरमा सामान्य धरौटीमा छुट्ने मौका पाउने गरेका छन् ।’ बलात्कृत भए पनि सामाजिक, पारिवारिक लाज, डर–त्रासका कारणले उजुरी नगर्ने अभिभावक, पीडित महिला बालिकाहरूको सङ्ख्या पनि उत्तिकै हुनसक्ने प्रहरीको भनाइ छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका मनोचिकित्सक प्रा.डा. निदेश सापकोटाले समाज सचेत हँुदै गएको अवस्थामा पनि समाज र परिवारमा बलात्कारका घटना बढ्नुमा छोरा र छोरीमा विभेदकारी मूल्य–मान्यता अभिभावकले दिमागमा राख्नु नै प्रमुख कारण रहेको बताए । उनले भने, ‘अभिभावकको विभेदकारी मनोविज्ञानले समाजमा छोरीलाई हेर्ने दृष्टिकोणमा खोट छाडेको छ ।’ उनले समाजमा ९० प्रतिशत मानिसहरू राम्रा मानसिकताको भए पनि १० प्रतिशत मानिसका स्वभाव र आचरणमा केही न केही खोट हुने भएकाले ‘एण्टी सोसल पर्सनालिटी’ गतिविधि अपनाउने बताए ।

समाज, घरपरिवारमा भोलि के हुन्छ भन्ने ख्याल नराख्ने पर्सनालिटी डिस्अर्डर भएका व्यक्तिहरूका कारणले समाजमा बलात्कारका घटनाले प्रश्रय पाइरहेको डा. सापकोटाले बताए ।