धरान/ चुनावी माहौल तातिएसँगै नेपाली काङ्ग्रेसका उम्मेदवार तिलक राईले धरानमा भ्रष्टाचार अन्त्य गरी कर घटाएर विकास गर्ने आफ्नो मूल एजेण्डा भएको बताएका छन् । कम्युनिष्टको गढ भनेर चिनिने धरानका वडाहरूमा उनले भोट माग्दै आफ्ना ती एजेण्डालाई मतदातासामु राख्ने गरेका छन् ।
स्थानीय खेमराज भण्डारीले यसपालि मत बदल्ने र आफू परिवर्तनको पक्षमा रहेको बताए । उनी जस्तै सोही वडाका लीला पौडेल, देवी भण्डारी, सुमित्रा राई, सम्सेर तामाङलगायतले पनि आफ्नो मत बदल्ने, आफूलाई परिवर्तनको पक्षमा उभ्याउने र तिलक राईको भ्रष्टाचारमुक्त अभियानमा साथ दिने बताए ।
चुनाव जित्नेमा विश्वस्त
नेपाली काङ्ग्रेसका उम्मेदवार तिलक राईले यसपालिको चुनावमा आफ्नो जित निश्चित रहेको दाबी गरेका छन् । चुनावी अभियानको क्रममा घरदैलो गर्दै राईले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘विगतका चुनावको आधारमा कम्युनिष्टले आफ्नो किल्ला भएको नारा दिने गरेका छन् । यसपालिको चुनावको परिणामबाट धरानमा कम्युनिष्टको त्यो दम्भको अन्त्य हुनेछ ।’
राईले निर्वाचनपश्चात् मतगणना घोषणा गर्दा धराने जनताको साथ र सहयोगले काङ्ग्रेसले जित्ने लगभग पक्का भइसकेको दाबी गरे । उनले भने, ‘जितका लागि काङ्ग्रेसबाहेक अरू दलका समर्थक मतदाताको सहयोग मलाई रहनेछ । कम्युनिष्टको शासनले वाक्क–दिक्क भइसकेका धराने जनताले यसपालि मलाई मत दिन्छन् ।’ उनले कम्युनिष्टका वरिष्ठ नेताहरूको मतले नै यसपालि आफूले चुनाव जित्ने दाबी पनि गरे ।
कम्युनिष्टले सुकुम्बासीलाई धोका दिएको आरोप
धरान (ब्लाष्ट) धरान–११ का सुकुम्बासीहरूले आफूहरूलाई पूर्व एमालेका नेताहरूले झुटा आश्वासन देखाएको आरोप लगाएका छन् । सर्दु खोला किनारस्थित सुनौलो बस्ती, बाहुन डाँडा, प्रगतिमार्ग, गौरी टोलका स्थानीयहरूले पूर्व एमालेले आफूहरूलाई भोटबैङ्कको रूपमा प्रयोग गरेको बताए ।
सुनौलो बस्तीका सुकुम्बासी नेता अरुण कट्वालले कम्युनिष्टले आफूलाई गरिब, सुकुम्बासीको पार्टी भनेर भोट लिने गरे पनि भोट लिएपछि बेवास्ता गर्ने गरेको आरोप लगाए । उनले ०४५ सालको भूकम्पपछि धरानमा कोठा भाडामा बस्ने परिवारहरूले विकल्पका लागि बसोबास गरेको सुनौलो बस्ती खाली गर्न तत्कालीन पूर्व एमालेका मेयरले प्रयास गरे पनि नेपाली काङ्ग्रेसकी नेतृ सुजता कोइरालाको योगदानबाट बस्ती बसेको दाबी गरे । १६ सय ९९ सुकुम्बासी परिवार रहेको सो क्षेत्रमा कम्युनिष्टले जहिले झुक्याउने गरेको बताए । चुनाव नजिकिएपछि काम गरेजस्तो गर्न यसपालि पनि कम्युनिष्ट सरकारले घरनम्बर वितरण गरिरहेको छ तर यो भोट लिने बहाना मात्र भएकाले यस्ता बहानाको पछि अब नलाग्न पनि राईले आग्रह गरे ।
Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved