धरान/ विगत ९ वर्षदेखि सञ्चालन भइरहेको पूर्वको पुरानो तथा सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित सौन्दर्य प्रतियोगिता ‘नेपाल आइस मिस पूर्वाञ्चल’ को दसौँ संस्करणको तयारी थालिएको छ । पहिलो अडिसन आगामी मङ्सिर ४ गते धरानको फ्रेण्ड्स गार्डेनमा हुने भएको छ । अडिसनअघि धरान, इटहरीलगायतका विभिन्न कलेजहरूमा समेत मिस पूर्वाञ्चलको कलेज एक्टिभेसन कार्यक्रम आयोजना गरिनेछ ।

सिल्भर इन्टरटेन्मेन्टको आयोजना तथा सिजी ब्रुअरीको मुख्य प्रायोजनमा हरेक वर्ष कम्तीमा १२ कक्षा पढ्दै गरेका पूर्वी नेपालका युवतीहरूलाई सहभागी गराइने कार्यक्रममा अनलाइन तथा एसएमएसबाट फर्म भरेका तथा अन्य इच्छुकहरूलाई निःशुल्क अडिसनमा सहभागी गराइने आयोजकले जनाएको छ ।

मिस पथरी २०१९ की विजेता रिजु भट्टराई र मिस इटहरी ब्युटी आइकन २०१९ की विजेता प्रेजिना नेपाल बिना अडिसन मिस पूर्वाञ्चल २०१९ मा सहभागी हुनेछन् ।

छानिएका प्रतियोगीहरूलाई एक महिना व्यक्तित्व विकास, फेसन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइनेछ ।

मिस पूर्वाञ्चलको कोरियोग्राफी प्रियारानी लामाले गर्ने छिन् । आगामी पुष ५ गते ग्राण्ड फिनाले गरी मिस पूर्वाञ्चल २०१९ सहित फस्ट रनर अप, सेकेण्ड रनर अपसँगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस ब्युटीफुल स्माइल, मिस पर्सनालिटी, मिस चार्मिङ, मिस फ्रेण्डसिप, मिस मल्टिमेडियालगायतका विभिन्न सव–टाइटलको घोषणा गरिनेछ ।

विजेताले दुई लाख रुपैयाँ वा स्कुटी, फस्ट रनर अपले एक लाख र सेकेण्ड रनर अपले पचास हजार राशिको पुरस्कार पाउनेछन् भने सव–टाइटल विजेताले १५ हजार रुपैयाँ पुरस्कार स्वरूप पाउनेछन् । पुरस्कारहरूमा केही थप पनि हुने र दशौं संस्करणलाई भव्यरूपमा आयोजना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।