हिमालपारिको जिल्ला मुस्ताङ यात्रा

alt
  • मंसिर १, २०७६
  • ४८९ पटक पढिएको
  • प्रमिशा लिम्बू

मुस्ताङ्को नाम धेरै सुनेको हो । हिमाल पारिको जिल्ला, मरुभूमिको जिल्ला पर्यटकीय ठाउँ भनेर पत्रपत्रिकामा पनि कत्ति पढेको हो । कहिले पुग्न पाइएला भन्ने लागिरहन्थ्यो । यसपटक भने त्यहाँ पुग्ने मौका जुरेको थियो । हाम्रो विद्यालयबाट शैक्षिक भ्रमण जाने निधो भयो । जाने भनेर मात्र नहुने पैसाको जोहो त गर्नै प¥यो । मैले घरमा अवश्यक खर्चको बन्दोवस्तको लागि बुबाआमालाई बल्लतल्ल मनाएँ । मन त्यसै फुरुङ्ग भइरहेको थियो । मुस्ताङ्को यात्राका लागि हिँड्ने दिन पनि आज भोलि गर्दै आइपुग्यो ।

हाम्रो विद्यालयको नाम सिंहदेवी उच्च मा.वि. हो । यो धनकुटा जिल्लाको चौबिसे गाउँ पालिका –८ मा पर्छ । कक्षा ९ र १० का विद्यार्थीहरू जाने तयारी भएपछि कक्षा ११ र १२ का दाइ दिदीहरू पनि जाने हुनुभयो । भ्रमण निक्कै रमाइलो होला जस्तो भयो । साथमा हामीलाई माया गर्नुहुने शिक्षक शिक्षिकाहरू पनि हुनुहुन्थ्यो । हामीसँग अर्को विद्यालय मुढेबास मा.वि. का विद्यार्थीहरू पनि जाने हुनुभयो । हामी दुईवटा बसमा बिहानको ४ बजेयात्रा शुरु गर्यौं ।

सरहरूले शुरुमा जनकपुर हुँदै जाने निर्णय गर्नुभएछ किनभने फर्किंदा त्यो बाटो हुँदै आउन नमिल्ने रहेछ । जनकपुर पनि धेरै सुनेको ठाउँ हो । त्यहाँको मन्दिर मलाई एकदमै मन प¥यो । त्यहाँको जानकी मन्दिर घुमेर हामी मनकामना मन्दिरको दर्शनका लागि बाटो लाग्यौं । मनकामनामा मैले पहिलोचोटी केवलकार चढ्दै थिएँ ।

निक्कै रोमाञ्चक यात्रा भयो केवलकारमा पनि । मनकामना मन्दिरमा दर्शन गरेर पोखरा लाग्यौं । पोखरा हाम्रो बास थियो । भोलिपल्ट बिहान तालबाराही घुम्न पाइयो । त्यति ठूलो ताल मैले पहिलो पल्ट देखेको थिएँ । त्यत्रो तालको बीचमा मन्दिर थियो । आश्चर्य लाग्दो नै थियो । बोटबाट जानुपर्ने भएको हुनाले मलाई अलिक डर पनि लाग्यो तर सबै साथीहरूको उत्साहले आफ्नो डर मैले भुँले ।

पोखराबाट बेनी हँुदै जोमसोम दुईवटा बसमा हामी उत्साहका साथ बाटो लाग्यौं । यतिन्जेल सम्ममा गाडीले मात्ने साथीहरू पनि बानी परेर होला बमिटिङ हुन छोडिसकेको थियो । सबै हाँसीखुशी देखिन थालेका थिए । मलाई भने खासै वमिटिङ भएन । काली गण्डकीको किनारै किनारको यात्रा एकदमै डरमर्दो थियो । त्यहाँको बाटो कहिल्यै भुल्दिन होला । कच्ची बाटो रहेछ । हाम्रो बस भने निक्कै लामो थियो । खासगरी मुस्ताङ साना गाडीहरू मात्र जाने रहेछन् । हाम्रो जोखिमपूर्ण यात्रा अब पो शुरु भएको रहेछ । बलैले बस मात्र अट्ने त्यो साँघुरो बाटोमा मैले धेरैचोटी ईश्वरलाई पुकारेको थिएँ ।

झ्यालबाट तल हेरिनसक्नु भीर अहिले पनि सम्झिँदा आङ सिरिङ्ग हुन्छ । बस घच्याक्क गर्दा पनि म डरले आँखा चिम्म गर्थें । एकमनले नआएको भए पनि हुन्थेछ जस्तो पटक पटक मनमा लागिरह्यो । बल्लतल्ल भीरको बाटो सकिएपछि बगरै बगर दिक्क लागुन्जेल बस कुदिरह्यो । भोकले मलाई गाह्रो पारिसकेको थियो । बल्लबल्ल जोमसोम बजार पुगियो । वारिपारि बोटबिरुवा केही देखिएको थिएन । मलाई अनौठो महसुस भइरह्यो यस्तो ठाउँ देखेर । माथि निलगिरी हिमाल सेतै कत्ति नजिक देखिएको थियो । आफ्नै शिरमाथि यति नजिक हिमाल देख्दा आनन्द पनि महसुस भयो । राति दुईवटा होटलमा बाँडिएर बास बस्यौं । निक्कै थाकेको हुनाले खाना खाएर म सुतिहालेँछु ।

बिहान अर्ध निद्रामै सरहरूले उठाउनु भयो । हिजोको थकाइले अझै सुत्न पाए पनि हुन्थ्यो भन्ने लागिरहेको थियो तर उठ्नै प¥यो । मुक्तिनाथ जानको लागि तयार हुनुपर्ने भयो । अँध्यारो मै मुक्तिनाथ बसमा बाटो लागियो । बिहानै एकदमै जाडो भइरहेको थियो । सरहरूले उच्च ठाउँमा लेक लाग्न सक्छ भन्नु भएको हुनाले हामीले मकै, भटमास र सातु बोकेका थियौं । लेक लाग्न सक्छ भनेर सबै साथीहरू मकै भट्मास खाइरहेका थिए । मैले पनि खाएँ । मुक्तिनाथ पुग्दा उज्यालो भयो ।

मन्दिरभन्दा केही तल बस रोकियो । त्यहाँबाट हिँड्नुपर्ने रहेछ । हिँड्न नसक्नेका लागि घोडाको व्यवस्था पनि थियो । हामी भने हिँडेरै उकालो गयौं । उकालोमा एकदमै सास बढेको जस्तो भइरहेको थियो । बाटोको एउटा धारामा पानी झर्दाझर्दै जमेको बरफ देखेर हामी सबैलाई अचम्म लागिरहेको थियो । मुक्तिनाथ मन्दिरभित्र भने पात बिनाका रुखहरू थिए । अरू वरिपरि उजाड ठाउँ देखिएको थियो भने त्यहाँ चाहिँ रुख देखेर म छक्क पनि भएँ । त्यो ठाउँमा जाडो पनि अति नै रहेछ । ढुङ्गाको सानो सानो थाक मलाई अनौठो लाग्यो । किन यसो गरेको होला भन्ने पनि लाग्यो । त्यो खासमा सम्झनाको लागि थाक लगाएको रहेछ ।

मुक्तिनाथ मन्दिरमा १०८ धाराहरू लहरै रहेछन् । त्यहाँ नुहाएमा पाप कट्ने विश्वास पनि रहेछ । त्यस्तो छिनभरमा पानी जम्ने धारामा पनि मानिसहरू नुहाइरहेका थिए । पानी जमेको ठाउँमा कत्ति मानिसहरू चिप्लिएर लडिरहेका थिए । साथीहरूसँग मैले पनि केही फोटो खिचाएँ । त्यसपछि हामी फेरि जोमसोम फर्कियौं । जोमसोममा स्याउका बोटहरू प्रसस्त देख्न पाइयो । स्याउ भने टिपेर घरमा राखिसकेका रहेछन् ।

त्यहाँको स्याउ स्वादिलो थियो । हामीले आफ्नो घरको लागि कोसेली भने त्यहाँको स्याउ किन्यौं । मैले अर्को रमाइलो पक्ष पनि थाहा पाएँ । त्यहाँ जसको घरको छतमा धेरै दाउराको हार मिलाएर राखेको छ त्यस घरको केटालाई जसले पनि विवाहका लागि छोरी दिने चलन रहेछ । दाउरा कम भएको घरमा छोरी दिँदा रहेनछन् वा गारो मान्दा रहेछन् । त्यहाँको दाउराको कथा सुनेर खुब आश्चर्य लाग्यो ।

श्री सिंहदेवी उच्च मा.वि., धनकुटा (कक्षा १०)

धनुषा बम विस्फोटः यस ...

धरान  / धनुषामा गएराती भएको शक्तिशाली बम बिस् ...

पूर्वमा चासोकको रौनक ...

पाँचथर / नेपालको पूर्वी क्षेत्र जहाँ जातीय बाहुल्यता छ, ...

‘प्रदेश १ को नाम पहि ...

पथरी / प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो ल ...

‘प्राविधिक धारको शिक ...

भद्रपुर / अर्थ मन्त्री डा.युवराज खतिवडाले अबको शिक्षा व ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved