यासोक/ धन कमाउने लोभमा छिमेकी देश भारतको मेघालय पुगेका पाँचथर कुम्मायक गाउँपालिका ५ का ईश्वर चेम्जोङ यतिबेला जीवन मरणको दोसाँधमा छन् ।

पारिवारिक आर्थिक अवस्था न्यून भएका उनी धन कमाउनैका लागि भनेर मेघालयस्थित कोइला खानीमा पुगे । तर, कोइला खानीमा भएको दुर्घटनाका कारण अहिले जीवनमरणको दोसाँधमा दिन काटिरहेका हुन् । उनी काम गर्दागर्दै खानी माथिको ढिस्को खसरे ढाडको मेरुदण्ड भाँच्चिएको थियो । जसले गर्दा उनको शरीरको आधा भाग नै नचल्ने भएपछि परिवार सहारामा बाँच्न बाध्य छन् । उनको कष्टकर जीवन देखेका केहीले गरेको सानो तिनो सहयोगको भरमा नै दैनिकी चलिरहेको छ । तर, त्यो उनको दैनिक जीवनको लागि पर्याप्त छैन । परिवारले अहिले सहयोगको याचना गरिरहेको छ ।

चेम्जोङ ७ वर्षअघि भारतको मेघालय पुगेका थिए । कोइला खानीमा ३ सय मिटर भित्रबाट कोइला काटेर ल्याउने काम गर्थे । दैनिकी नै त्यसैमा बित्थ्यो । आम्दानी राम्रो थियो । बेला–बेला घरमा खर्च पनि पठाउँथे । त्यही क्रममै उनको ढिस्कोले थिचेर मेरुदण्डको हड्डी भाँच्चियो । उनले शल्यक्रिया त गरे तर त्यो पर्याप्त भएन । अहिले उनी दाताहरूबाट प्राप्त सहयोगबाट उपचार गरिरहेका छन् । तर, पारिवारिक अवस्था दयनीय भएका कारण घर टाल्ने कि उपचार गर्ने भन्नेमा उनी दुुविधामा पर्ने गरेका छन् । शल्यक्रियाका क्रममा ढाडमा राखिएको स्टिलको रड बाहिर निस्किएपछि उनी उपचारका लागि छटपटाइ रहेका छन् । ‘ढाडमा रड निस्किएपछि सुत्न र राम्रोसँग ढल्कन समेत हुँदैन ।

छोराहरू सानै छन्’ गहभरि आँसु पार्दै उनले भने । ‘एक ठाउँदेखि अर्को ठाउँमा सार्नेदेखि दिसापिसाब समेत ओछ्यानमै गराउनुपर्छ’–श्रीमती राधिकाले सुनाइन् । चेम्जोङ परिवारले लामो समयदेखि पीडा भोग्दै आएको छ । श्रीमती राधिकाको नेपाली नागरिकता छैन । विवाह दर्ता र छोराहरूको जन्मदर्ता नहँुदा कानूनी समस्या पहाड बनेको छ । परिवारको त्यो अवस्था बारे स्थानीय तह पनि जानकार छ । तर, समस्या समाधानका लागि कुनै प्रक्रिया नचालेको राधिकाको गुनासो छ । पीडित परिवारलाई वडाले जस्ता पाता र स्थानीय युवाहरूले घर बनाइदिएका छन् । वडा सदस्यहरूले खाने अन्न, र दाताले पनि खाद्यान्न पनि उपलब्ध गराएका छन् । तर, अहिले पुनः देखिएको पीडामा मलमपटी लगाउन आर्थिक स्रोत जुटाउने कार्यमा पीडित परिवार नै समस्यामा परेपछि स्थानीय युवाहरू सहयोगका लागि जुटेका छन् ।

ईश्वरको उपचारका लागि ठूलो रकम लाग्ने भएकाले स्थानीय सरकार र दाताहरूको खोजी गरिरहेको स्थानीय विविकुमार चेम्जोङ बताउँछन् । पीडित परिवार त पीडामा छ नै । उसको लागि हामीले नै सहयोग जुटाउने हो, यसका लागि दाताहरूको खोजी गरिरहेका छौँ’– उनले भने । चेम्जोङ दम्पतीका २ वर्षीय र ४ वर्षीय दुई छोरा छन् ।

merudand DHADH