इनरुवा / इनरुवा ३ सोमबारेमा अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ । यादव बुधवार विहान घर छेउमा मृत अवस्थाामा फेला परेका हुन् ।
जिल्ला अदालत सुनसरी नजिकै रहेको सोमबारे हाट छेउ घर भएका यादवको धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरीका अनुसार यादवको शरीरमा चोट देखिएको छ । यादवको हत्या घरेलु हतियारको प्रहारबाट भएको हुन सक्ने अनुमान गरिएको छ ।
यादवको शव राती सुत्ने अवस्थामा लगाउने पहिरनमा रहेको थियो । घरको पछाडीको भागमा छिमेकीले शंकास्पद व्यक्ति देखेपछि होहल्ला गरेका थिए । प्रहरीलाई त्यस पश्चात खवर गरिएको स्थानीयको भनाई छ ।
मृतकका आफन्तले हत्या गरि मारेर घर छेउमा शव फालिएको हुन सक्ने अनुमान गरेका छन् । मृतक यादवका श्रीमती र दुई छोरा छन् । स्थानीयका अनुसार घटनाको दिन श्रीमती र छोराहरु घरमा थिएनन् । उनीहरुका अनुसार छोराहरु मावली गएकाले आमा समेत छोराहरु लिन माइती गएकी थिइन् ।
घरमा बुहारी र उनका छोराहरु अलग्गै कोठामा सुतेका थिए । यादवसँगै उनका भतिजा एउटै कोठामा थिए । १३–१४ वर्षका भतिजाले आफु विहान उठ्दा घरको ढोका खुल्लै देखेको बताए । मर्निङ वाक गएको हुन सक्ने अनुमान गरेको बताउने भतिजाले काकाको शव हत्या गरिएको अवस्थामा विहान फेला परेको बताए ।
यादवको मोबाइल समेत नभेटिएकाले फोनमा कसैले घरबाहिर बोलाएर सुनियोजित तवरले हत्या गरेको हुन सक्ने परिवारका सदस्यहरुको भनाई छ ।
घटनास्थलमा विहानैबाट सुनसरीका डीएसपी बिनोद शर्मा सहितको टोली अनुसन्धानमा जुटेको थियो । शर्माले घटनामा संलग्नताको आशंकामा तीनजना लाई नियन्त्रणमा लिइएको बताए । सुनसरी प्रहरीले घटना अनुसन्धानको क्रममा रहेको बताउँदै अनुसन्धान निचोडमा पुग्न लागेको जानकारी दिएको छ । प्रहरीले घटनामा संलग्न व्यक्ति केहिदिन भित्रै पक्राउ पर्ने दाबी समेत गरेको छ ।
हत्याको कारण नखुलेपनि जग्गाको कारोवार गर्दै आएका यादवको हत्या आर्थिक कारणले भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर समेत झिकाएर अनुसन्धान गरेको थियो ।