धरान /  दलका उम्मेदवारहरु घरदैलोमा व्यस्त भइरहेको भए पनि नेपाल पत्रकार महांसघले धरानका प्रमुख चार दलका उम्मेदवारलाई एउटै मंचमा उभ्याएर आफ्नो एजेण्डा राख्ने अवसर दिएको छ । मंसिर १४ गते धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि ११ स्वतन्त्रसहित २३ जना चुनावी मैदानमा होमिएका छन् ।
११ स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दिएपनि संवाद कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) उम्मेद्वार प्रकाश राई, नेपाली कांग्रेसका उम्मेदवार तिलक राई, समाजबादी पार्टीका उम्मेदवार गजेन्द्र इस्वो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका उम्मेदवार अमर इजम लिम्बु आफ्नो एजेण्डा सार्वजनिक गर्न एउटै मन्चमा सहभागी सहभागी भएका थिए । नेकपा र कांग्रेसका उम्मेदवारबाहेक समाजवादीका इस्वो पुर्व व्रिटिस गोर्खा हुन् भने मंचका अमर भारतीय गोर्खा सैनिकका अवकास प्राप्त अनरेरी सुवेदार हुन् ।
पत्रकार दिलभुषण पाठकले सहजीकरण गरेको संवाद कार्यक्रममा नेकपा उम्मेदवार प्रकाश राईले दिवंमगत नगर प्रमुख तारा सुव्वाले धरानलाई सुखी र समृद्ध बनाउन सुरु गरेका अधुरा योजनाहरुलाई पुरा गर्न नेकपाले आफुलाई धरानको प्रमुख पदमा उम्मेदवार बनाएको बताए ।
उनले स्थानीय समुदायले आय आर्जनमा वृद्धि गरी आत्मनिर्भर बनाउन हरेक विकास निर्माणका योजनालाई आर्थिक क्रान्तिसंग जोडेको बताए । उनले भने, ‘धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद क्षेत्रको विकास र विस्तारकालागि कुनै पनि कसर बांकी नराख्ने मेरो ध्येय छ । धरानमा औद्योगिक ग्राम, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग जोडेर स्वास्थ्य शिक्षा र उपचार, पुर्वको पर्यटनको हव, खेलकुद ग्राम, सर्व सुलभ शिक्षामा जोड दिएको छु ।’ उनले महिला, बालबालिका, पिछडिएका वर्ग, सुकुम्बसी समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक विकाससंगै रोजगारीको अवसर दिलाउनका लागि विषेश प्राथमिकता राखेको बताए ।
संवाद कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले धरान उपमहानगरमा चरम वेथिति, आर्थिक अपारदर्शिता, भ्रष्टाचार बढेकोले त्यसलाई रोक्न आफ्नो उम्मेदवारी आवश्यक रहेको बताए । उनले भने, ‘धरानमा लामो समय देखि बसपार्क, एयर पोर्ट, खानेपानी आयोजना अलपत्र अवस्थामा रहेकाले तीसंगै यहांको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न म नेतृत्व सक्षम छ ।’ उनले धरानको अधुरा योजनाहरुलाई पुरा गर्न जनप्रतिनिधिहरुले नेतृत्वदायि भुमिका खेल्न नसकेको बताए । धरानका सुकुम्बासीलाई रोजगारीको अवसर सृजना गर्ने दावी गरे ।
समाजवादी पार्टीका उम्मेदवार गजेन्द्र इस्वोले बारम्बार सुसासन र विकास निर्माणको कुरा उठाएपनि दुइतिहाइ बहुमतको दम्भले केही नभएपछि शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुद जस्ता विषयमा स्थानीय युवाहरुलाई समावेश गरेर आर्थिक विकासमा परिवर्तन गर्न आफु लागि परेको बताए ।
उनले भने, ‘धरानको विकास निर्माणकालागि विभिन्न विषयगत विज्ञहरुले दिएको सल्लाह र सझाव अनुसार काम गर्नु जरुरी रहेको छ । ’
संघीय लोकतान्त्रिक मंच सम्बद्ध संघीय लिम्बुवान मंचका उम्मेदवार अमर इजमले उम्मेदवारहरुले आफ्नो घोषणपत्रमा विकास निर्माणका एजेण्डा राखेर यो गर्छुृ त्यो गर्छु भन्दैमा विकास नहुने बताए । उनले भने, ‘विकास निर्माण भन्ने कुरो राज्यको सिस्टममा भर पर्ने भएकाले सवैभन्दा पहिले धरानलाई प्रदेश १ को राजधानी बनाउनु नै मेरो मुख्य एजेण्डा रहेको छ ।
उनले प्रदेशको राजधानी धरानलाई बनाउनासाथ विकास निर्माणका सिस्टम आफै धरानसम्म आइपुग्ने बताए । उनले दलहरुले धरानका १२ हजार २ सय घरधुरीका २४ हजार सुकुम्बासीलाई प्रत्येक चुनावमा भोट बैंकको रुपमा प्रयोग गर्दैै आएको बताए । उनले भने, ‘सुकुम्बासीलाई घर नम्बर दिने होइन उनीहरुले प्रयोग गरेको जग्गाको स्वामित्वको नक्सा वितरण गर्ने हो ।’
गैर सरकारी संस्था सेयरकास्टले गरेको एक सर्भेक्षण अनुसार धरानमा बेरोजगारी समस्या ३९ प्रतिशत, सडक मर्मत नहुँदाको समस्या २२ प्रतिशत, गरीबीको समस्या १६ प्रतिशत, खानेपानीको अभाव १५ प्रतिशत र खानेपानीको पहुचमै नपुगेको ८ प्रतिशत रहेको बताइएको छ ।