दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. २ पिण्डालघुटु निवासी बुद्धिलाल हेमरमको घरको आँगनैमा दुई देश (नेपाल र भारत) को सीमास्तम्भ छ । यो सीमास्तम्भ २०५५ सालदेखि यहीँ रहेको हेमरमले बताए ।

‘यो स्तम्भ पहिल्यैदेखि यहीँ थियो । तर यो नै हाम्रो देशको सिमाना हो भनेर चाहिँ हामीलाई थाह थिएन’ उनले भने, ‘शुरुमा यो स्तम्भ सानो थियो पछि ०७४ सालमा बाढी आएपछि हामी राहत लिन बजार गएका थियौं, फर्कदा यो स्तम्भ ठूलो आकारमा देखेका हौं । हामीले सामान्य केही किला वा कुनै बलियो ढुङ्गामा रङ लगाएको वस्तु मात्र सम्झेका थियौं ।’

गौरीगञ्जको पिण्डालघुटुमा मात्र होइन, त्यहाँदेखि करिब १ किलोमिटर पूर्वमा पनि १९७९ सालमा निर्माण गरिएको जङ्गे पिल्लर नेपाली भूमिमा सारिएको छ । स्तम्भ नं. २६ लेखिएको सो स्तम्भ रहेको ठाउँ नेपाली भूमि भए पनि अहिले त्यहाँ भारतीय नागरिकले कब्जा गरेर खेती गर्दै आएको स्थानीयबासी तथा गौरीगञ्ज गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेका जेठा मुर्मुले बताए । ‘२०५५ साल अघिसम्म कमल खोलाको पूर्वी किनारबाट शुरु हुने नेपाल –भारतको सिमाना अहिले अतिक्रमण गरेर खोला पश्चिम पु¥याइएको छ’–मुर्मले भने ।

‘२०५५ साल अघिसम्म नेपाल–भारतको सीमा नजिकै रहेको बलुवाडाँगी गाउँमा साप्ताहिक हाट लाग्ने गथ्र्याे । पछि त्यही हाटको विषयमा नेपाल र भारतीय पक्षका स्थानीयबीच विवाद शुरु भएपछि भारतीयपक्षले सो सिमाना पश्चिममा सारेको हो’ –उनले स्मरण गरे ।

सोही विवादबारे स्थानीय ओमप्रकाश राजवंशी भन्छन्, ‘विवादपछि त्यही साल नेपाल र भारतीयपक्षले सीमा नापजोख गरेको तर पछि भारतीय पक्षले झुक्याएर सिमाना पश्चिम सार्यो ।’

नेपाली भू–भाग मिचेर सीमा पश्चिम सार्दासमेत चित्त नबुझेका भारतीयले अहिले उनीहरू आफैले कायम गरेका नयाँ सीमास्तम्भ वरिपरिको दशगजा क्षेत्र मिचेर आलुखेती गरिरहेका छन् । राजवंशीले भने, ‘साबिकको आमगाछी–४ को खेलमैदानपूर्व पनि भारतीय पक्षले दशगजा क्षेत्र मिचेर मकैखेती गरिरहेको छ ।’

भारतीय पक्षबाट सीमा पश्चिम सारिएपछि अहिले आमगाछीको पचासौं बिघा जमिन भारतीयको कब्जामा रहेको स्थानीयले बताएका छन् । स्थानीयबासी राजवंशीका अनुसार कृष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनावा राजवंशीलगायतको जग्गा भारतीयको कब्जामा छ । यी व्यक्तिहरूको जग्गा भारतीय भूमिमा परे पनि अझै उनीहरूसँग सो जग्गाको नेपाली धनीपुर्जा सुरक्षित छ । जग्गाको मालपोतसमेत बर्सेनी नेपाल सरकारलाई तिरि रहेको उनीहरूले बताए ।

गौरीगञ्ज–२ का वडाध्यक्ष अघनुप्रसाद राजवंशीका अनुसार कोरोबारीको पिण्डालघुटु र आमगाछी क्षेत्रका ४ देखि ५ सय बिघा जमिन भारतले अतिक्रमण गरेको छ । सम्बन्धित निकायमा यसबारे जानकारी गराउँदासमेत नेपाल सरकारले सो भूमि फिर्ता गराउन कुनै पहल नगरेको उनको गुनासो छ ।