भद्रपुर । पूर्वी नाका काँकडभिट्टाबाट भारत पुगेकी एक नेपाली युवतीलाई भारतीय एसएसबीले उद्धार गरेको छ । मानव तस्करीको फन्दामा फसेर गैरकानुनी रूपमा भारतको बाटो दिल्ली हुँदै कुवेत जान लागेकी पोखरा बस्ने २८ वर्षीय कविता उमरालाई भारतीय एसएसबीले उद्धार गरेको हो । काँकडभिट्टाबाट भारत प्रवेश गरेकी युवती उमरालाई एसएसबी ४१ बटालियन अन्तर्गतको पानीटङ्याकी बिओपीको टोलीले उद्धार गरेको हो ।

भारतीय सीमा प्रवेश गरेकी युवतीलाई रोकेर एसएसबीका जवानले शङ्का लागि सोधखोज गर्दा कामको सिलसिलामा भारतबाट कुवेत जान लागेकी बताइएकी थिइन् ।

एसएसबीका अनुसार नेपाली कागजात र राहदानी समेत फेला नपरेको युवती पानीट्ङयाकी बस पार्कतर्फ जान लागेकी थिइन् । बस पार्कमा उनलाई अज्ञात व्यक्ति लिन आउने र त्यही व्यक्तिले बाघडुग्रा विमानस्थलबाट दिल्ली लैजाने योजना बनाएको उनले बयानको क्रममा बताएकी छिन् । युवतीलाई लैजाने कुनै व्यक्ति एसएसबीको फन्दामा परेको छैन । यता एसएसबीले युवतीलाई नेपाल प्रहरीलाई जिम्मा लगाइएको जनाएको छ ।