विराटनगर / प्रहरीको आँखा छलेर अवैध रुपमा भारततर्फ लादै गरेको ठूलाे परिणामा मरिच मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बरामद गरेको छ । मोरङको जहदा गाउँपालिका स्थित तरिगमाबाट प्रहरीले बिहीबार १६ बोरा मरिच नेपालबाट भारततिर तस्करी गरि लैजाने क्रममा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए । ३० केजी तौल भएको मरिचको बोरा प्रहरीले बरामद गरेको हो । ‘तीन वटा भारतीय नम्बर प्लेट भएको मोटसाइकलमा अवैध तस्करी गरि लैजाने क्रममा मरिच प्रहरीले बरामद गरेको हो,’ मोरङ प्रहरीका डिएसपी खिउँजुले भने, ‘प्रहरीलाई देख्ने साथ तस्करीमा संलग्न व्यक्ती फरार भए ।’ प्रहरीले उनीहरूको पनि खोजी कार्य गर्दै आएको डिएसपी खिउँजुले बताए । प्रहरीको स्रोतको अनुसार विराटनगरमा मरिचको कारोबारी गर्ने व्यापारी उमेश साहको भएको बताइएको छ । उनले अवैध रुपमा भारत तिर मरिच तस्करी गर्ने क्रममा प्रहरीले मरिच बरामद गरेको हो ।
अढाई लाख मूल्य बराबरको चार सय २५ किलोग्राम मरिच बरामद भएको हो । उक्त मरिच डीएल ३ एसएभी २१५०, बीआर ५० बी २६०४, बीआर ३८ के ५१३२ नम्बरको मोटरसाइकलमा राखेर भारततर्फ तस्करी गर्ने काम भइरहेको थियो । भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर लैजाँदै गरेको अवस्थामा मरिच बरामद भएको बताए । बरामद भएको मरिच र नियन्त्रणमा लिइएका मोटरसाइकल आवश्यक कारबाहीका लागि बिहीबार नै विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ । तेस्रो मुलुकबाट ल्याएर मरिच तस्करी हुने क्रम बढेर नियन्त्रण गर्न चुनौती पूर्ण हुन थालेपछि सीमावर्ती सबै नाकामा विशेष टोली खटाएर निगरानी बढाइएको उनको भनाइ छ ।
सीमा क्षेत्रका बासिन्दाकाअनुसार मरिच तस्करीमा संलग्नले नेपाल–भारत सीमा क्षेत्रमा गोदाम नै बनाएका छन् । तेस्रो मुलुकबाट आयात गरिएको मरिच प्रक्रिया पु¥याएर सीमामा रहेको आफ्नो गोदाममा लैजाने र त्यहाँबाट भारत कटाउने गरिएको स्थानीयले बताए ।