धरान/ मुलुकभरिबाट प्रकाशित हुँदै आएका पत्रपत्रिकाको वर्गीकरणमा प्रेस काउन्सिल नेपालले पूर्व क्षिजित प्रकाशन प्रा.लि. धरानद्वारा प्रकाशित ब्लाष्ट टाइम्स दैनिक ‘क’ श्रेणीमा परेको छ ।

काउन्सिलद्वारा जारी सूचीमा ब्लाष्ट टाइम्स दैनिक आर्थिक वर्ष २०७४/७५ को वर्गीकरणमा प्रदेश १ बाट प्रकाशित हुने दैनिक पत्रिकाहरूमध्ये ‘क’ श्रेणीमा परेको जनाइएको छ । आफ्नो रजत वर्ष गत महिना मनाइसकेको मोफसलको पहिलो रङ्गीन दैनिक ब्लाष्ट टाइम्स निरन्तर ‘क’ श्रेणीमा पर्दै आएको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० अनुसार गठित वितरण सम्परीक्षण समितिले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड–२०६६ (परिमार्जन २०७५) को आधारमा वर्गीकरण प्रतिवेदन तयार गरी २०७६ असोज १४ गते पेश गरेको थियो । उक्त प्रक्रियामा सामेल मुलुकभरिका ९ सय १२ वटा पत्रपत्रिका वर्गीकरण गरी नतिजा सार्वजनिक गरिएको थियो ।

सूचीअनुसार ‘क’ वर्गमा १ सय ५७, ‘ख’ वर्गमा ३ सय २१, ‘ग’ वर्गमा २ सय ३९ र ‘घ’ वर्गमा ४९ गरी जम्मा ७ सय ६६ पत्रपत्रिका वर्गीकरणमा परेका छन् । अन्य ३१ पत्रपत्रिका हु–बहुमा परेको र १ को प्रकाशन अङ्क नपुगेकाले वर्गीकरणमा समावेश गरिएको छैन । आवश्यक कागजात पेश नगरेका ६३ र जवाफ पेश नगर्ने ५१ वटा गरी १ सय १४ पत्रपत्रिकाको नतिजा स्थगन गरिएको छ ।

वर्गीकरणमा समावेश ७ सय ६६ मध्ये राष्ट्रियस्तर १ सय ५६, प्रदेशस्तर १ सय ४२ र स्थानीयस्तरमा ४ सय ६८ वटा पत्रिका कायम भएका छन् । वर्गीकरणमा समावेश भएकामा दैनिक १ सय ४९, अर्धसाप्ताहिक ३, साप्ताहिक ४ सय ६५, पाक्षिक १२, मासिक ७०, द्वैमासिक÷त्रैमासिक ११ र साहित्यिक/भाषिक ५६ वटा रहेका छन् ।