भूमिगत शब्द प्रायः राजनीतिमा प्रयोग हुन्छ । नेपालमा भूमिगत राजनीति गर्ने धेरै दलहरू अहिले स्थापित भएका छन् । राजनीतिमा मात्र होइन, नेपाली सङ्गीतका क्षेत्रमा पनि यस्ता भूमिगत समूहहरू सक्रिय छन् तर उनीहरूलाई धेरै नेपालीले देखेकै छैनन् र उनीहरूका सङ्गीत सुनेकै छैनन् । यिनीहरू सीमित दर्शक श्रोतामाझ परिचित छन् ।

नेपालमा एकदशकभन्दा बढी भूमिगत राजनीति गरेको माओवादी २०६२/०६३ पछि खुला राजनीतिमा आयो । माओवादी जङ्गलबाट भर्खर शहर फर्किएको बेला काठमाडौंमा भूमिगत साङ्गीतिक समूह ‘अण्डरसाइड’ को जन्म भयो । त्यसयता ब्याण्ड मेटल कन्सर्टहरूमा सहभागी भइरहेको छ, विभिन्न ठाउँमा कार्यक्रम गरिरहेको छ ।

सन् २०१० मा स्थापना भएको मेटल ब्याण्ड अण्डरसाइडले साङ्गीतिक कार्यक्रम मात्र होइन, देशमा समस्या पर्दा सहयोग पनि जुटाएको छ । २०७२ को भूकम्पमा नेपाल आक्रान्त भएको बेला ब्याण्डका सदस्यहरू लण्डनमा थिए । उनीहरूले नेपालको लागि लण्डनको सडकमा सहयोग सङ्कलन गरे । ब्याण्डका अनुसार त्यहाँ सङ्कलन भएको २ हजार ५ सय डलर नेपालमा भत्किएका विद्यालय निर्माणका लागि प्रदान गरे । तर धेरै नेपाली सङ्गीत पारखीहरू अण्डरसाइडलाई चिन्दैनन् । किनकी यो अण्डरग्राउण्ड ब्याण्ड हो । यसको आफ्नै गायनशैली छ र आफ्नै दर्शक श्रोता छन् ।

अण्डरग्राउण्ड भनिए पनि यस्ता साङ्गीतिक समूह राजनीतिक दल जस्तै पूर्णभूमिगत हुँदैनन् उनीहरूको सङ्गीत प्रस्तुतिको शैली मात्र भूमिगत हो । ‘उग्रकर्म’ सन् १९९९ मा स्थापना भएको त्यस्तै अण्डरग्राउण्ड मेटल ब्याण्ड हो । सन् २००० देखि ‘हिमालयन मेटल अफ डेथ’ भनेर गाउन थालेको यो ब्याण्डले त्यही साल ‘चण्डाल सैतान’ नामको एल्बम् निकाल्यो ।

सन् २००१ मा ब्लड मेटल इनिसिएसन एल्बम् निकाल्यो । केही समय सुस्ताएको उग्रकर्म सन् २०१३ मा रिफर्म भयो । त्यसपछि सन् २०१३ मा डिसअर्डर लस्ट एल्बम् निकाल्यो । अन्य व्यवसायिक साङ्गीतिक ब्याण्डहरूजस्तो जताततै नदेखिए पनि मेटल सङ्गीतमा झुम्नेहरूका लागि यो ब्याण्ड सक्रिय छ । ब्याण्डको प्रस्तुति हेर्न र सुन्न युवापुस्ताको बाक्लै उपस्थिति हुन्छ ।

काठमाडौंमा ‘विनाश’ नामको अण्डरग्राउण्ड ब्याण्ड पनि छ । सन् २००९ मा स्थापना हुँदा यसको नाम ‘काल’ ब्याण्ड थियो । सन् २०१० मा नाम परिवर्तन गरेर विनाश राखियो । त्यसपछि सन् २०१२ मा ‘विनाशकारी’ नामको एल्बम् निकालेको ब्याण्डले काठमाडौं, पोखरा र धरानमा कन्सर्ट गरेर एल्बम् विमोचन गरेको थियो । ‘रमाइलो डेथ मेटल’ लाई मुख्य जनारा बनाएको छ यो ब्याण्डले । अण्डरग्राउण्ड ब्याण्डहरूका प्रस्तुतिमा प्रायः आक्रोस, क्रोध, विद्रोह, बदलाका भावना सम्मिलन हुन्छन् तर यस्ता गीतलाई रमाइलो प्रस्तुतिका रूपमा पनि गर्न सकिने सोचेर विनाशले यसलाई रमाइलो डेथ मेटलको नाम दिएको छ ।

सन् २०११ मा स्थापना भएको लाखे ब्याण्डले नेवारी र नेपाली इथ्निकल मेटललाई मुख्य जनाराका रूपमा लिएको छ । आफूलाई पहिलो नेपाली इथ्निक मेटल ब्याण्ड भएको दाबी गर्ने लाखे इण्टुमेण्टल ब्याण्ड हो । लाखेले १५ भन्दा बढी नेवारी र नेपाली धुनहरू उत्पादन गरेको छ । ब्याण्डको पेजमा उल्लेख भएअनुसार अण्डरग्राउण्ड शैलीमा नेपालीपन दिएर ब्याण्ड स्थापना गरिएको हो ।

अण्डरग्राउण्ड ब्याण्डहरू सन् १९६०को दशकमा साङ्गीतिक आन्दोलनका रूपमा वैकल्पिक सङ्गीत बनेर शुरु भएको पाइन्छ । नेपालमा ९० को दशकपछि यस्ता ब्याण्डहरू सक्रिय भए । अण्डरग्राउण्ड ब्याण्डहरूले मेटल, रक, ज्याज, ब्लुज, पङ्क जनाराको सङ्गीत बजाउने र गाउने गर्छन् । नेपालमा भने अधिकांश अण्डरग्राउण्ड ब्याण्ड मेटलमा आधारित छन् ।

यस्ता ब्याण्डका एल्बम्मा १२ मिनेटभन्दा माथिका गीत हुन्छन् भने त्यसभन्दा कम समयका गीतलाई एपी भनिन्छ । उनीहरू प्रायः एल्बम्को प्रचार गर्दैनन्, कन्सर्टकै बेला फ्यानहरूले एल्बम् किन्छन् । नेपालका शहरी क्षेत्रमा केन्द्रित अण्डरग्राउण्ड ब्याण्डका फ्यानहरू प्लस टु पढ्ने विद्यार्थीहरू अधिक छन् । धेरै कलेजहरूमा यस्ता ब्याण्डको जन्म हुन्छ । प्लस टु पढ्ने विद्यार्थीहरूबीच मेटल मन पराउनेहरूको समूह ब्याण्डमा रूपान्तरण हुन्छ । उनीहरू प्राक्टिस गर्दै गाउँदै जाँदा कति यसरी नै निरन्तर ब्याण्डका रूपमा स्थापित हुन्छन् भने कति ब्याण्ड चाहिँ पढाइ सकिने बित्तिकै टुट्छन् ।

नेपालमा अहिले उग्रकर्म, अण्डरसाइड, विनाश, डिसअर्डरलगायतका ब्याण्ड सक्रिय छन् । पहिला अण्डरग्राउण्ड रहेको एक्समन्त्र ब्याण्ड अहिले व्यवसायिक रूपमा कन्सर्ट गरिरहेको छ । ब्याण्डहरूमा सक्रियहरूका अनुसार काठमाडौंमा मात्र नयाँ पुराना गरी अहिले ५० हाराहारीमा यस्ता ब्याण्ड छन् भने पोखरा, धरान, बुटवललगायतका शहरहरूमा पनि अण्डरग्राउण्ड ब्याण्डहरूको सक्रियता छ ।

विश्वमै अण्डरग्राउण्ड ब्याण्डहरूलाई व्यवसायिक हुन गाह्रो छ । नेपालमा झन् शुरुका दिनमा रक, मेटल गाउनेहरूलाई समाजले सङ्गीतमा भित्रिएको पाश्चात्य विकृतिका रूपमा लिन्थ्यो । तर अहिले समय बदलिएको छ । अहिले नेपाली समाजले पनि रक, मेटल सङ्गीत बुझ्न थालिसकेको छ ।

Band-(4)