धरान । इन्टर स्कुल टिचर फुटसल टुर्नामेण्टको उपाधि धरानको इम्मानुएल स्कुलले जितेको छ ।
शनिबार धरान–१८ को बूढासुब्बा फुटसलमा सम्पन्न खेलमा इम्मानुएलले तरहराको हिमशिखर बोर्डिङ स्कुलको टिमलाई ५–३ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै इम्मानुएलले नगद २० हजार रुपैयाँसहित ट्रफी पाएको छ । त्यस्तै उपविजेता बनेको हिमशिखरले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।

त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक हिमशिखरका ओम बस्नेत र सर्वोत्कृष्ट खेलाडी इम्मानुएलका प्रकाश राई घोषित हुँदै ट्रफी पाए । शिक्षा सन्देश माविको आयोजनामा भएको खेलमा शिक्षकहरूबीच मैत्रीभाव विकास गर्न प्रतियोगिता गरिएको प्रतियोगिता संयोजक रिकेश विकले जानकारी दिए ।

प्रतियोगितामा माउण्ट हर्मन एकेडेमी, युएन स्कुल, शिक्षा सन्देश, सुनाखरी एकेडेमी, डिपो स्कुल, लिगामेण्ट स्कुल, बूढासुब्बा स्कुल, विष्णु मेमोरियल स्कुल, एभरेष्ट स्कुल, नेपाल पुलिस स्कुल, हिमशिखर र इम्मानुएल स्कुलसहित १२ टिम सहभागी थिए ।