धरान/ धरानकी सिम्रन श्रेष्ठ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस लुमियर इन्टरनेसनल’ मा सहभागी हुँदैछिन् ।
विभिन्न ३० देशका प्रतिस्पर्धी रहेको प्रतियोगितामा भाग लिन सिम्रन नोभेम्बर ३० मा सिङ्गापुर जाँदैछिन् । सिङ्गापुरमा एक साताको तालिमपछि डिसेम्बर ७ मा मलेसियामा फाइनल प्रतिस्पर्धा हुने बताइएको छ ।
मिस पूर्वाञ्चलमा २०१७ फस्ट रनर अप, मिस एसएलसी २०१६ मा टपटेन भएर ब्युटी प्याजेन्टको अनुभव बटुलिसकेकी सिम्रनले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छन् भने मिस्टर एण्ड मिस फ्रेसरमा कोरियोग्राफी पनि गरेको अनुभव छ ।
त्यस्तै विभिन्न फेशन शोमा र्याम्पवाक गरिसकेकी सिम्रन आफू धेरै तयारीपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेकाले आत्मविश्वास बढेको बताउँछिन् ।
महेन्द्र बहुमुखी क्याम्पस धरानमा बिबिए तेस्रो वर्षमा अध्ययनरत उनी ब्युटी प्याजेन्टलाई हार्ने जित्नेभन्दा पनि सिक्ने प्लेटफर्मका रूपमा लिन्छिन् । उनी भन्छिन्, ‘सानैदेखि मिस नेपाल हेर्थें । यस्ता कार्यक्रम हेर्दा मनभित्रैबाट यो चाहिँ मेरो फिल्डजस्तो लाग्थ्यो । अहिले त्यही क्षेत्रमा सङ्घर्ष गरिरहेकी छु ।’
प्रतियोगितामा जानका लागि उनले नृत्य, वाचनशैलीदेखि पहिरनसम्मको तयारी गरिरहेकी छन् । उनी नेपाललाई प्रतिनिधित्व गर्ने सांस्कृतिक नृत्य लिएर जान लागेको बताउँछिन् ।
सानैदेखि ब्युटी प्याजेन्टमा रुचि राख्ने सिम्रनलाई उनकी आमा सरला श्रेष्ठले साथ दिइरहेकी छन् । ‘यो फिल्ड नराम्रो होइन । छोरीलाई कुनै पनि फिल्ड बिग्रने र नराम्रो हुँदैन । नराम्रो काम नगर भन्छु’ सरला भन्छिन्, ‘उसमा क्षमता देखेकी छु । यो क्षेत्रमा केही गर्न सक्ने विश्वास छ ।’
Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved