नेपालका विभिन्न ठाउँमा खाली रहेका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाका लागि हुन लागेको उपनिर्वाचनको मौन अवधि शुरु भइसकेको छ । निर्वाचन आचार संहिता अनुसार यो समयमा दलहरूले आमसभा गर्न, मत माग्न वा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाउँदैनन् । तर, नेपालकै निर्वाचनको इतिहास केलाउने हो भने पहिले निर्वाचनकै दिन पनि आमसभा हुन्थे ।

अहिलेको निर्वाचनमा दलहरुले आमसभा, पोष्टर, पम्प्लेटदेखि सञ्चार माध्यम हुँदै सामाजिक सञ्जालसम्म प्रचार गरे । तर, पहिले न युट्युब, फेसबुक थिए, न रेडियो, टेलिभिजन नै । त्यसबेला मतदाता आकर्षित गर्न रमाइलो शैलीमा पम्प्लेट छापिन्थ्यो ।

नेपालमा राणाशासनकै समयमा २००४ सालमा पहिलो ‘म्यूनिसिपल चुनाव’ भएको थियो । त्यसबेला २१ वर्ष पुगेका पुरुषहरूले मात्र मत दिन पाउँथे । महिलाको मताधिकार थिएन । बालिग मताधिकारको आधारमा भने २०१५ सालमा पहिलो पटक आम निर्वाचन भएको थियो । त्यो चुनावमा ९५७९ मत प्राप्त गरी विश्वेश्वरप्रसाद कोइराला विजयी भएका थिए ।

२०१५ फागुन ७ गते भएको आम निर्वाचनका उम्मेदवार विश्वेश्वरको चुनावी पर्चाको बीचमा ठूला राता अक्षरमा ‘विश्वेश्वर प्रसाद कोइरालालाई भोट दिनु हाम्रो कर्तव्य हो ।’ लेखिएको थियो । त्यसको सिरानमा साना अक्षरमा ‘नेपाल राजनीतिको जन्मदाता, क्रान्तिका वीर सेनानी, नेपालका एकमात्र राष्टिूय नेता, त्याग र बलिदानका प्रतिमूर्ति’ भनेर लेखिएको थियो भने तलपटि लेखिएको थियो ‘मोरङको ३२ नम्बर क्षेत्रबाट खडा भयेर वहाँले हाम्रो जिल्लाको सम्मान बढाउनु भयो । वहाँलाई ठूलो बहुमतबाट विजयी बनायेर हामी राष्ट्रको इज्जत बढाऔं ।’

सोही चुनावमा गोर्खा परिषद्ले चाहिँ फरक तरिकाको पम्प्लेट छपाएको थियो । पहेँलो पृष्ठभूमिमा माझमा घरको चित्रसहित काला अक्षरमा छापिएको पम्प्लेटको सिरानमा लेखिएको थियो : ‘चुनाव जितेर गोर्खा परिषद्को सरकारले पाँचवर्ष भित्रमा के गर्छ ?’ अनि त्यसभन्दा तल बुँदागत रूपमा यस्तो लेखिएको थियो :
१.जनताको जीवनस्तर दोब्बर तुल्याउँछ ।
२.दुईसय अस्पताल खोल्छ ।
३.दुई हजार पुल बनाउनेछ ।
४.जतासुकै कुलो बाँध, पैन बनाउँछ ।
५. देशभरमा प्राथमिक शिक्षालाई अनिवार्य र निःशुल्क गराउने छ ।
१०९ चुनावी क्षेत्रमध्ये ८६ उम्मेदवार उठाएको गोर्खा परिषद्ले १९ क्षेत्रमा जितेको थियो ।
त्यहिबेला ‘के.आई. सिंहलाई चिन्नुहोस्’ लेखिएको काङ्ग्रेसको प्रचार सामग्री वितरण गरिएको थियो । नेपाली काङ्ग्रेसकै उम्मेदवार सुवर्ण शमसेर जबराको प्रचार सामग्री चाहिं तमसुक जस्तै लम्बेतान थियो । काठमाडौंको क्षेत्र नं.९१, ५३ र ५२बाट उम्मेदवारी दिएका उनले तीनै क्षेत्रबाट जिते ।

नेपाल राष्ट्रवादी गोर्खा परिषद् भने झ्याउरे भाकाको गीतको शैलीमा चुनावी पर्चा बाँडेको थियो । अहिले मतदानको ४८ घण्टा अगाडिदेखि चुनाव प्रचार गर्न पार्इंदैन तर त्यसबेला चुनावकै दिन फागुन ७ गते भरतपुरमा नेपाली काङ्ग्रेसको आमसभा थियो । आमसभाको पोष्टरमा ‘चुनावको पहिलो दिन फागुन ७ गते २०१५का दिन भरतपुरको चौरमा नेपाली काङ्ग्रेसको आमसभा हुँदै छ ।’ भनेर विस्तृतमा लेखिएको थियो । पोष्टरको तल्लो भागमा रुखको चित्रको छेउमा ‘यो हो हाम्रो चुनाव चिन्ह रुख ।’ भनेर लेखिएको थियो ।

२०१७ सालमा राजा महेन्द्रको ‘कु’ पछि पञ्चायती व्यवस्था लागू भयो । त्यसपछि २०१९ मा पहिलो पञ्चायती निर्वाचन भयो । त्यसबेला राष्ट्रिय पञ्चायतमा निर्वाचित र मनोनीत गरी जम्मा १२५ जना सदस्यहरू रहने व्यवस्था थियो । त्यसमा १४ अञ्चलबाट निर्वाचित ९० जना, राजाबाट मनोनीत हुने १६ जना र विभिन्न पाँच वर्गीय तथा व्यावसायिक सङ्गठनबाट निर्वाचित हुने १५ जना निर्वाचित हुन्थे । त्यसबाहेक ४ जना चाहिँ शिक्षितवर्गबाट निर्वाचित हुने संवैधानिक व्यवस्था थियो । त्यसलाई ‘स्नातकहरूको समूह’ भनिन्थ्यो । २०१९को चुनावमा स्नातक उम्मेदवार बनेका यज्ञप्रसाद आचार्यको चुनाव प्रचार सामग्रीमा उनको बारेमा विस्तृत विवरण लेखिएको थियो ।

२०३५ चैत २२ देखि २०३६ जेठ ९सम्म विद्यार्थी आन्दोलन चर्किएपछि २०३६ जेठ १० गते विहान ६ः४५ मा २०३७ वैशाख २० गते जनमत सङ्ग्रह गरिने घोषणा भयो । त्यसका लागि बहुदल पक्षको चुनाव चिन्ह नीलो आकाशे रङ्ग र सुधारिएको पञ्चायत पक्षको पहँेलो रङ्ग थियो । जनमत सङ्ग्रहमा चार÷चार इन्चको कागज विचमा दोबरेर एकभागमा नीलो आकाशे र अर्काेमा पहेँलो रङ्ग भएको मतपत्र थियो । बहुदल पक्षको चुनाव चिन्ह नीलो आकाशे रङ्गमा मतदान गर्न आह्वान गर्दै बहुदल पक्षीय नागरिक समाजले निकालेको प्रचार सामाग्रीमा ‘बहुदलको जित हुन्छ । नयाँ भविष्यको लागि नयाँ व्यवस्था बहुदल’ लेखिएको थियो । त्यस्तै ‘प्रजातन्त्र बिना देश रहँदैन’ भन्ने विश्वेश्वर प्रसाद कोइरालाको भनाइ र फोटो सहितको पर्चामा लेखिएको थियो :
‘(प्रजातन्त्र ल्याउनु छ
(देशलाई बचाउनु छ
(बहुदललाई जिताउनु छ
(आसमानी रङ्गमा छाप लगाउनु छ ।’

उता सुधारिएको पञ्चायत पक्षधरको ‘प्रजातान्त्रिक सुधारवादी पञ्च एकता मञ्च’ले ‘सुधारिएको पञ्चायतको चाहना, प्रजातान्त्रिक स्वतन्त्रताका लागि आवश्यक वातावरण सिर्जना’ लेखिएको पर्चा निकालेको थियो । त्यसको तल चाहिँ ‘राजभक्ति हाम्रो शक्ति, देशभक्ति सबैको उन्नती’ लेखिएको थियो ।

बहुदलिय व्यवस्था पक्षधर नेपाली काङ्ग्रेसका काशीप्रसाद श्रीवास्तवले हिन्दी भाषामा प्रचार सामाग्री प्रकाशन गरेका थिए । त्यसमा लेखिएको थियो ‘प्रिय साथी ओ, श्री ५ महाराजधिराज ने नेपालमै जनमत संग्रह कराने के लिए....’

जेठ १ गते जनमत सङ्ग्रहको नतिजा सार्वजनिक भयो । जसमा ४८ लाख १३ हजार ४ सय ८४ (६६.३२ प्रतिशत) मत खसेको थियो । भने ४४ लाख ४१ हजार ४ सय १७ मत (९२.२७ प्रतिशत) सदर र ३ लाख ६२ हजार ६९ मत (७.७३ प्रतिशत) बदर भएको थियो । त्यसमा पञ्चायत सुधारको पक्षमा २४ लाख ३३ हजार ४ सय ५२ (५४.७९प्रतिशत) र बहुदलको पक्षमा २० लाख ७ हजार ९ सय ६५ (४५.२१ प्रतिशत) आयो र पञ्चायत पक्ष विजयी भयो ।

जनमत सङ्ग्रहमा सुधारिएको पञ्चायतले जितेपछि २०३८ वैशाख २७ मा राष्ट्रिय पञ्चायत सदस्यको चुनाव घोषणा भयो । त्यसबेला विश्वेश्वर र गणेशमान सिंहले ‘नेपाली जनतामा मेरो निवेदन’ शीर्षकको लामो अपिल पर्चामा रूपमा सार्वजनिक गरेका थिए ।

२०४३ मा काठमाडौंबाट राष्ट्रिय पञ्चायत सदस्यमा उठेका गोविन्द वियोगीको चुनाव चिन्ह चश्मा थियो । उनको पर्चामा ‘मुलुकलाई भ्रष्टाचारमुक्त पार्ने तथा राष्ट्रवादी देशभक्त प्रगतिशील एवं प्रजातन्त्रवादीहरूले मुलुकको राजनीतिमा सक्रिय रूपमा सकारात्मक योगदान दिन पाउने र मिल्ने वातावरण सिर्जना गर्ने’ प्रतिबद्धता व्यक्त गरिएको थियो । त्यो चुनावमा उनले जम्मा ६ हजार ३ सय (३.९४प्रतिशत) मत पाएका थिए ।

२०४३ सालमा कास्कीबाट रापंसका उम्मेदवार थिए, हाल प्रदेश नं.१का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ । त्यसबेला चुनाव चिन्ह बाल्टी लिएर उठेका उनको पोष्टरको शुरुमै लेखिएको थियो ‘सोमनाथ के को निम्ति ?’ अनि त्यसभन्दा तल थिए उनका प्रतिबद्धताहरू । त्यो चुनावमा सोमनाथले ३४७८८ मत ल्याएर ेि।

२०४८को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं.१ का नेपाल सद्भावना पार्टीका उम्मेदवार विजयकुमार दासले हिन्दीमा पर्चा वितरण गरेका थिए । पर्चामा ‘श्री विजयकुमार दासको भारी बहुमत से विजयी बनाएँ...’ लेखिएको थियो तर उनले जम्मा ३ सय १९ (०.५२प्रतिशत) मत पाए ।

२०४८ कै चुनावको पृष्ठभूमिमा नेकपा एमालेले चाहिं चुनाव प्रचार सामग्रीका रूपमा ‘मनमोहन शुभकामना कार्ड’ बाँडेको थियो । त्यसमा २०४८ सालको शुभकामना दिंदै लेखिएको थियो ‘सूर्यको जित नै हाम्रो जित हो ।’

नेकपा (एकता केन्द्र)को पर्चा चाहिं सामान्य रुपमा ‘संयुक्त जनमोर्चाका सङ्घर्षशील उम्मेदवारलाई जिताऔं’ लेखिएका थिए ।
ललितपुर १ नम्बर क्षेत्रकी संयुक्त जनमोर्चाकी उम्मेदवार पद्मकुमारी राईको चुनावी पर्चामा चाहिँ उनको बायोडाटा छापिएको थियो । २०५१को चुनावमा एमालेले ‘नेकपा एमाले घोषणा गर्छ’ शीर्षकमा आकर्षक र छरितो घोषणापत्र सार्वजनिक गरेको थियो । त्यसपछिका निर्वाचनमा भने लगभग अहिलेकै जस्तो शैलीमा प्रचार गरिएको पाइन्छ ।

मदन पुरस्कार पुस्तकालयमा रहेका पुराना प्रचार सामग्रीहरूलाई अध्ययन गर्दा भेटिएका मतदाता आकर्षण गर्ने त्यसबेलाको फरक शैली मात्र यो लेखमा समेटिएका छन् । पहिले र अहिलेको निर्वाचन प्रचार शैलीको सामान्य तुलना गर्ने हो भने त्यसबेला दलहरू मतदातालाई आकर्षण गर्न सृजनशीलता अपनाउँथे अहिले भने आर्थिक प्रलोभनदेखि साम, दाम, दण्ड, भेदको नीति अपनाएको पाइन्छ । यो क्रम बढ्दै जाँदा अहिले एउटा उम्मेदवारले लाखौं खर्च गर्नुपर्ने अवस्था आइसकेको छ । चुनावका नाममा बढ्दो तडक भडक र खर्चलाई दलहरू स्वयम्ले नियन्त्रण गर्न नसक्ने हो भने राजनीतिक इमानदारीमा मात्र भएको नेताले चुनाव लड्न सक्दैन । र, चुनाव भनेकै पैसावालले लड्ने हो भन्ने स्थापित हुन सक्छ । त्यसैले विगतको शैलीबाट सिक्दै चुनावी प्रचारलाई सामान्य र सृजनशील बनाउन आवश्यक छ ।