धरान । धरान उपमहानगरमा रिक्त रहेको नगरप्रमुख र एक वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको तयारी पूरा भएको छ ।
२० वटा वडा रहेको धरानमा ९२ हजार ८ सय ५३ मतदाता छन् । वडागत रूपमा धरानमा २८ मतदानस्थलमा ९९ वटा मतदान केन्द्र राखिएका छन् । जसमध्ये ४, ५ र २० नम्बर वडाका मतदानस्थल र केन्द्रलाई सुरक्षा निकायले अति संवेदनशील क्षेत्रको रूपमा तोकेको छ । ४, ५ र २० नम्बर वडामा ५ वटा मतदानस्थलका १७ वटा केन्द्र अति संवेदनशील क्षेत्र मानिएका छन् ।

तीनवटा घेरमा सुरक्षाकर्मीका बीच चुनाव सम्पन्न हुँदैछ । पहिलो घेरामा नेपाल प्रहरी रहनेछ भने दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना रहने व्यवस्था गरिएको छ ।
धरानको उपनिर्वाचनको लागि धरानमा ७ सय ७० जना नेपाल प्रहरी, २ सय ६० जना सशस्त्र प्रहरी र ४ सयभन्दा माथि नेपाली सेना खटिएका छन् । शुक्रबारमध्ये रातदेखि शनिबार साँझको ७ बजेसम्म धरान प्रवेश गर्ने नाकाबाट अत्यावश्यकीय सवारी साधनबाहेकका सवारीहरू पूर्णतः रोक लगाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

उनका अनुसार धरान प्रवेश गर्ने पूर्व–पश्चिम, उत्तर–दक्षिणतर्फको सबै नाका ठप्प पारिएको छ । अत्यावश्यकीय सेवा अन्तर्गत एम्बुलेन्स, विवाह, कूटनीतिक नियोगका गाडीलाई छुट गरिएको छ भने दूध, तरकारीजन्य सवारीलाई ‘पास’ को आधारमा छाडिने व्यवस्था गरिएको उनले बताए ।

सबै मतदानस्थल तथा केन्द्रमा कर्मचारी खटिइसकेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ९ सय कर्मचारी परिचालन भएका छन् । करिब १६ महिनाअघि नगरप्रमुख तारा सुब्बा र एक वर्ष पहिले वडाध्यक्ष भूवनराज मोक्तानको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।