देउराली । प्रत्येक पाँच वर्षमा लाग्ने मध्य तराईको महाकुम्भ गढीमाई मेलाको विशेषता हो बलि । बाराको महागढीमाई नगरपालिका–१ बरियापुरमा लाग्ने यो मेलाले एक महिनासम्म प्रदेश २ र मधेसका विभिन्न खाले सांस्कृतिक, पारम्परिक तथा थारु मौलिकपनको झल्को दिने गर्दछ । लाखौंको सङ्ख्यामा पहाडी समुदाय तथा भारतका विभिन्न जिल्लाहरूबाट आउने भक्तजनहरूले मेला अवधिभर त्यसक्षेत्रका आर्थिक र सामाजिक पक्षको उजागर गर्छन् । तर मेलाको अन्तमा हुने बलि सङ्ख्यात्मक हिसाबले ठूलो हुने हुनाले गढीमाई भन्नाले बलि भनेर बुझिन्छ ।

दुई दशकयता मधेसको संस्कृति परम्परा र परिकार पस्कने गढीमाई मेलाले सञ्चारमाध्यममा व्यापकता पाएसँगै लाखांैको सङ्ख्यामा हुने पशु बलिको विभत्स दृश्यले पशु अधिकारकर्मीहरूको ध्यान तानेसँगै मेला व्यवस्थापन समितिले यसपटकको गढीमाई मेलामा नयाँ अभ्यास शुरु गरेको छ ।

लाखाैं को सङ्ख्यामा हुने पशु बलि पशुमाथि गरिने अत्याचार भएको भन्दै गढीमाईमा हुने पशु बलिलाई अन्तर्राष्ट्रियकरण गरिएसँगै सर्वोच्च अदालतले बलि दुरुत्साहन गर्न निर्देशन दिएपछि यसपटक समितिले नयाँ अभ्यास शुरु गरेको हो । यसपटक समितिले बलि दुरुत्साहन स्वरूप परेवा संरक्षण अभियान थाल्नुका साथै अपरिपक्व बोका, राँगालगायतका जनावरहरूलाई पाल्न चाहने स्थानीयलाई उपलब्ध गराउने भएको छ । त्यस्तै बलि भाकल गर्नेहरूलाई बलिको सट्टा निश्चित शुल्क वा भेटी दान गरे बलिसरह मान्यता दिने गरेको छ । जसका लागि राँगा बलिको भाकल गर्नेले आठ हजार, बोका बलिको भाकल गर्नेले चार हजार र जोडी परेवाको भाकल गर्नेले तीन सय भेटी चढाएर भाकलमुक्त हुनसक्ने व्यवस्था मिलाइएको छ ।

यसका अलावा मेला स्थलमा बलि दुरुत्साहनका लागि पोष्टर तथा पर्चाहरू टाँस्न दिइएको छ । मेलामा बलिका लागि ल्याइएका राँगाहरूको स्वास्थ्य परीक्षण तथा आहार दिन पशुअधिकारकर्मीहरूलाई बलि दिइने क्षेत्रमा प्रवेश गर्न दिइएको छ । यस क्षेत्रमा मेला शुरु भएसँगैै पशु कल्याण सङ्घले बलि निरुत्साहन गर्नका लागि विभिन्नखाले जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ ।

विभिन्न ठाउँमा स्वयम्सेवक राखी बलिका लागि ल्याइएका पशुहरूलाई आहार वितरण गर्नुका साथै बलिको सट्टा नरिवल, फूल आदि चढाउन आग्रह गर्दै आएको पशु कल्याण सङ्घकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी गराइन् । उनले भनिन्, ‘पशु बलि दुरुत्साहन गर्न हामीले काम गरिरहेको भए पनि नाकामा हाम्रा स्वयम्सेवकहरूलाई काम गर्न असहज भइरहको छ । हामीलाई केही धम्की पनि आएका छन् । बलिका लागि पशुहरू आइरहेका छन् । अन्तिम अवस्थासम्म भए पनि यिनीहरूलाई भोकै तिर्खै राखिनु हुँदैन भनेर हामीले भुस्सा र पानी दिएका छौं ।’

मङ्सिर १ गतेबाट शुरु भएको मेलामा यतिबेला दिनहुँ सयौंको सङ्ख्यामा भक्तजनहरू आउने गरेको मेला व्यवस्थापन समितिले बताएको छ । मेलामा पिउने पानी, शौचालय, भक्तजनहरूलाई बस्नका लागि अस्थायी टेण्टलगायत मनोरञ्जनका विभिन्न साधनहरूको व्यवस्था गरेर अघिल्ला वर्षहरूभन्दा यसवर्ष अझ बढी व्यवस्थित गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।