एक पहाडीफूल ‘हङकङभित्र’

alt
  • मंसिर १४, २०७६
  • ४४४ पटक पढिएको
  • सन्तोष थेवे

क्रान्ति सुब्बाको नियात्रा सङ्ग्रह ‘हङकङभित्र’ हालसालै बजारमा आएको छ । यो सङ्ग्रह हाटबजार भर्नेहरुको आँखामा कति लोभिएर रहन सकेको छ ? या छैन ? अहिले नै हतारिएर मुख खोल्नु गाह्रो छ । हाटबजारको आफ्नै खाले विशेषता हुन्छ र हाट भर्नेहरुको मनोस्थिति कस्तो छ भन्ने कुराले पनि बजारको सौन्दर्य चेत प्रस्ट्याउँछ ।

लेखकले किन लेख्छ ? कसका लागि लेख्छ ? अथवा लेखक र पाठकबीचको सञ्चार कस्तो हुनुपर्छ आदि इत्यादि भन्ने कुरा जहिल्यै सोचनीय बिषय हुन्छ, हर कसैको लागि ।

नियात्रा लेखनका सम्बन्धमा भीष्म उप्रेती भन्नुहुन्छ– “नियात्राकारको पहिलो काम यात्रा गर्नु हो । त्यसपछि यात्रामा भेटिएका र देखिएका मानिसका संवेदना, प्रकृति, भूगोल, इतिहास, सभ्यतालाई सजीवसँग उतार्न सक्ने आकर्षक कला नियात्राकारमा हुनपर्छ ।”

जीवन एक यात्रा । हामी यात्री । यो रहस्य र उत्सुकताले भरिएको जीवनको भोगाइ र दृष्टिकोण मान्छे पिच्छे फरक छ । महान् कवि गुल्जार भन्छन्, “सिक्नलाई किन यति धेरै कुरा दिएको होला, जब कि जीवन चाहिँ यति छोटो छ ।” आम मान्छेको जिन्दगी त ठेलमठेल, भागदौडमै सकिन्छ, तिनीहरु बेनाम बनफूल भैm बेनाम बाँच्छन्, बेनाम मर्छन् ।

फर्किएर इतिहासतिर जाऔँ । नेपालीहरुको नियतिको आदिम पीडा कानमा गुन्जन्छ । मुगलानको कथा । उहिले हिँडेर मुग्लान, अहिले उडेर मुगलान । कताकता अगमसिंह गिरीले रचना गरेको र अम्बर गुरुङले गाएको “नौलाखतारा” बोलको गीतका केही लाइनहरु सम्झनु पर्ने अवस्था आउँछः

“नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको
काँढाकै माझ पहाडी फुल छैन र कहाँ हाँसेको ।”

क्रान्ति सुब्बा मुगलानका आधुनिक एवं परिष्कृत रुप हुन् र उनी नियतिको त्यही ह्ृदयविदारक गीत गाइरहेछन्, बोकेर हातमा एक पहाडीफूल “हङकङभित्र” ।

सुब्बाको किताब पढ्दै जाँदा कताकता लागिरहन्छ, आख्यान र गैर आख्यानको एउटा कित्ता समाउनु नै थियो भने उनले यस किताबलाई नियात्रा नामाकरण नगरेको भए के हुन्थ्यो ? किनकी उनले नियात्राको विधालाई समातेर जीवन र जगतका यति गहनतम मुद्दाहरु उठाइदिएका छन्, जसले उपभोक्तावादी संस्कृतिले थिलथिलो पारेको मान्छेको जीवनमाथि नै प्रश्न गर्छ । यो कृतिको सबैभन्दा स्वागत योग्य पक्ष भनेकै लेखकले गरेको अद्भुत चिन्तनयात्रा हो । किताबको पूर्ण सार नै संसाररिकताबाट माथि निकै नै माथि उठेर जीवनदर्शन गर्न सक्नु हो, तल हरियो पृथ्वीतिर फर्किएर । लाग्छ, विचार र दर्शनको यति गह्रौं भारी बोकेर यात्रामा निस्कनु नियात्राकारले ठूलो जोखिम मोलेकै हुन् । यस विषयमा पाठकहरु विशेष गरि विद्वत् वर्गहरुले विमर्श, चिन्तन र समिक्षाहरु प्रकाश गरेनन् यो नियात्राकारको मृत्यु हुनेछ । रोलाँबाथको ‘डेथ अफ अथर‘ को नियति भोग्नेछ, क्रान्ति सुब्बा ।

शुरुमै हाटबजारको कुरा उठाइ सकिएको छ यहाँ । अब त्यसको प्रत्रृmतिको पनि कुरा गरौँ । हाटमा कति मान्छेहरु त किनमेल गर्न पनि आएका हुँदैनन् । या भनौँ उनीहरुको इच्छा अरु नै कुरामा जान पनि सक्छ । क्रयविक्रयको खेल मात्र होइन हाटबजार । यसले त्यहाँको मान्छेको सांस्कृतिक, सामाजिक, आर्थिक ऐना पनि बोकेको हुन्छ, जसले बजारको सीमिततालाई एउटा असीमिततामा लगेर अभिव्यक्त गरिदिन्छ ।

हङकङ एक प्राचीन सभ्यता, इतिहास र आधुनिक संसारको सङ्गम भूमि हो, जहाँ संसारका मान्छेहरु आउन लालायित हुन्छन् । पूँजीवाद, मानवअधिकारजस्ता पाश्चात्य दर्शनहरुले उर्वर देखिने हङकङभित्रका अनेक पाटाहरु छन् । जीवनका रहस्यहरु छन् । अहिले पनि खुट्याउन नसकिएको हङकङभित्रको राज के हो भने त्यो कलिलो, सेतो, नरम, हसिला देखिने मानवआकृतिहरु के साँच्चै त्यस्तै छन् ? या कस्मोटिक्सले पोतिएर छोपिएका छन् ? यस कृतिमा लेखकले यात्रा मात्रै गरेका छन्, यी यावत कुराहरुको बारेमा निकै मेहेनतका साथ काम पनि गरेका छन् ।

‘हङकङभित्र’ मा धेरै पाटाहरु छन् । पाठकहरुले संयमताका साथमा पढेर निचोड निकाल्न सकेको खण्डमा नियात्राकारलाई न्याय मिल्नेछ । यो सङ्ग्रहलाई तीन खण्डमा बाँडेर हेर्न सकिन्छः
१) हङकङको भुगोल र इतिहास
२) नेपालीहरुको जीवन सङ्घर्ष
३) जीवन र जगत्लाई हेर्ने दार्शनिक दृष्टि ।

नियात्राकार सुब्बाले आफूलाई हङकङमा चौकीदार भनेर सम्बोधन गरेका छन् । यसले महत्वपूर्ण अर्थ राख्छ । यो नेपालीहरुको हङकङमा जीवन भोगाइको विम्ब हो । एउटा चौकीदारले सिर्जनाको यो उचाइबाट एउटा अनुपम कृति प्रकाशनमा ल्याउनुलाई दुर्लभ भन्नै पर्ने हुन्छ ।

“हङकङभित्र” को नियात्रामा यात्रा गरिरहँदा जीवन, जगत्, ज्ञान, विज्ञान, दर्शन, ब्रम्हाण्ड, खगोलका कुराहरु बहुत चाखलाग्दो तरिकाले दर्शन गर्न सकिन्छ, जसलाई नियात्राकारले यसरी गुञ्जायमान गरिदिएका छन् -

“हुन त आत्महत्या गर्नेलाई कायरताको संज्ञा दिने गरिन्छ तर यसको शुरु काल कायरता होइन । कारणवश मस्तिष्कमा देखा पर्ने खासगरी सेरोटोनिम र नरएड्रिनालिन जस्ता जैविक रसायनको सख्त अभावले जो कोहीलाई सो अवस्थामा पु¥याउँछ ।”
“सुन्दरता सबै वस्तुमा हुन्छ, तर सबैले त्यसलाई देख्दैनन् ।”

“आज कसैले नास्तिक हुने क्षमता राख्दछ भने त्यो ईश्वरकै कारण सम्भव भएको हो । ईश्वरबिना न त आस्तिक बन्न सकिन्छ, न त नास्तिक नै । यस कारण आस्तिक हुनु ईश्वरको आस्तित्वलाई स्वीकार्नु हो ।”

नियात्राकारले यत्रो समय र उर्जा खपत गरेर यो कृति पाठक समक्ष ल्याउन गरेको साहसलाई हामीले सकारात्मक एवं हौसलाको हातेमालो गर्नु जरुरी छ । जसले गर्दा लेखकलाई अझै अगाडि बढेर सिर्जनशील काम गर्न थप मद्दत मिल्नेछ । साथै, यो कृति नेपालीभाषाको अतिरिक्त अङ्ग्रेजी, क्यान्टोनिज, मेन्डारिनमा आउनु पनि जरुरी छ । किनभने, एकजना मान्छेको प्रवास पलायनको महारोदनमा झोलिएर खोपिएका यथार्थहरु संवेदनशील भएर मनन गर्न सकिएन भने फेरि पनि एउटा लेखक र पाठकबीचको सम्वादविहीनताको नीरस कथा दोहोरिन्छ ।

अभिव्यक्तिका धेरै माध्यमहरु छन् । तिनका आफ्नै सीमा र विशेषताहरु हुन्छन् । क्रान्तिका हङकङभित्रलाई नियात्रा नभनेर अरु नै विधामा लेखिएको कृति भनिए पनि यसले खास असर पार्दैन । यो कृतिको विशेषता एउटा यो पनि हो । किनभने, नियात्राको क्रममा जब नियात्राकारले चिन्तन मननको माथिल्लो तहबाट आफ्नो विचार सम्प्रेषण गर्न थाल्छन, पाठकले आपूmलाई दोसाँधमा देख्दछन् । साँच्चै भन्ने नै हो भने कृति विचार र दर्शनको तहबाट निकै गाह्रो छ । त्यसैले पनि ठोकुवा गर्न सकिन्छ कि यो पुस्तक यति गहन भइकन पनि सबैले रुचाउन नसक्ला भनेर भन्न सकिने, शङ्का गर्न सकिने अवस्था छ ।
धेरै प्रसङ्गमा लेखकले उठाएका कतिपय मुद्दाहरु आम मानिसलाई ‘कागको लागि बेल पाक्यो’ झै साबित हुन पनि सक्छ । यसमा दोषी कोही पनि छैन ।

संज्ञान, बोध र पदार्थलाई चिन्ने र खुट्याउने आआफ्नै आँखाहरु हुन्छन्, जसमा समानता खोज्नु दिग्भ्रम सिवाय केही होइन । साथै यो नियात्रा सङ्ग्रहलाई कुनै पारखी सम्पादकद्वारा सम्पादन गरी यसको भोल्युम घटाएको भए छरितो बनाउन सकिन्थ्यो भन्ने पनि लाग्न सक्छ । कति प्रसङ्गहरुमा तालमेलको अभाव देखिन्छ । कति कुरामा कलापक्ष फितलो भएको हो कि भन्ने भान पनि हुन्छ । कहीँ घटनालाई जबरजस्ती यात्रामा उनेर लगे जस्तो लाग्छ, जसले पढ्दै गर्दा कतिपय ठाउँमा दिक्दारी पनि दिन्छ । यति हुँदाहुदै नियात्राकार सुब्बाले जुन हिम्मत गरेका छन्, त्यो सराहनीय छ । एक प्रसङ्गमा नियात्राकार यस समीक्षाको लेखकलाई यसरी चित्रण गर्छन् “सन्तोष थेवे जस्ता मान्छेहरु हङकङभित्र मर्सिडिजमा चढेर यात्रा शुरु गर्छन् र खरानी घसेर बाहिर निस्कन्छन् ।”
...... अनि कानमा उही अम्बर गुरुङका नौलाख तारा गुन्जिन्छ............. अर्थपूर्ण र दुःखपूर्ण ज्यादा सायद ।

नौं दिनदेखि युवती ब ...

 ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँप ...

धरानबाट खैरो हिरोइनस ...

धरान / इलाका प्रहरी कार्यालय धरानले खैरो हिरोइनसहि ...

भोजपुरका दुईवटा वडा ...

भाेजपुर / अज्ञात समुहले जिल्लाको दुईवटा वडा कार्यालयमा ...

मारुती सिमेन्टको काम ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं.९ मा रहेको मार ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved