गायिका आस्था राउतको नयाँ एल्बम् ‘आधार २’ सार्वजनिक भएको छ ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सङ्गीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बुबा हरिबहादुर राउत र आमा सावित्री राउतले एल्बम् विमोचन गरे ।

‘आधार २’ मा ‘नाकैमा फूली’, ‘झल्झल गर्ने कम्पनी माला’, ‘राम साइली’, ‘सिमाना’, ‘को छ यहाँ’, ‘हवाईजहाजको टिकट’, ‘दशैं आयो तिहार आयो’ गरी ७ गीत समावेश छन् । गीतलाई डिजिटल प्लेटफर्म साउण्ड क्लाउड र युट्युबमा सुन्न सकिन्छ ।

एल्बम्मा पर्व, संस्कृति, देशप्रेम तथा प्रेम भावका गीतहरू समावेश गरिएको छ । बिहीबार आयोजित कार्यक्रममा ‘नाकैमा फूली’ गीतको भिडियोसमेत सार्वजनिक गरियो ।

उक्त गीतमा आँचल शर्मा र महेश खड्काको अभिनय देख्न सकिन्छ । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । यसअघि आस्थाले बजारमा ल्याएका गीत ‘झुम्के बुलाकी’, ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’ लगायत चर्चित छन् ।