छिमेकी मुलुक भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटेपछि कलाकारले त्यसको विरोधमा धमाधम देशभक्तिका गीतहरू बाहिर ल्याइरहेका छन् ।

यस्तैमा युवा गायकहरूको एक समूहले कालापानीमा गरेको हस्तक्षेपलाई समेटर नयाँ गीत ‘छल गरेर धोका दिने नालापानीमा...आँखा लाउन छोड अब कालापानीमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा राष्ट्रियताप्रतिको माया, हाम्रा पुर्खाको वीरताको गाथासमेत सम्झिएको छ । युट्युबमार्फत् सार्वजनिक गीतमा शारदा रसाइली, मोहित श्रेष्ठ र बद्री चूडालको स्वर रहेको छ । धीरजनाथको शब्द तथा सङ्गीत रहेको गीतलाई नारायण दङ्गालले एरेञ्ज गरेका हुन् ।

छिमेकी मुलुकले गरेको सीमा अतिक्रमणविरुद्ध आवाज उठेका बेला यस्ता गीतबाट अपिल गर्दा थप बल पुग्ने अपेक्षा यो गीतका गायक गायिकाले गरेका छन् ।